
अनाथ चेपाङलाई कक्षा १० सम्म पढाइदिने
सहिद लखन गाउँपालिका ४ ढाँडेगाउँका तीन अनाथ बालबालिकालाई सरिता गुरुङ फाउण्डेशनले कक्षा १० सम्म पढाइदिने भएको छ ।
सवारी दुर्घटनामा परी बुबाको मृत्यू भएको र आमाले अन्यत्रै बिबाह गरेपछि अनाथ बनेका मंगल चेपाङ, उनका सात बर्षे बहिनी र छ बर्षका भाइलाई पठनपाठनको प्रवन्ध गरिदिने फाउण्डेशनकी प्रमुख कार्यकारी अधिकृत सरिता गुरुङले जानकारी गराइन् ।
हाल अमेरिकामा रहेर सामाजिक सञ्जालमार्फत सहयोग अभियान सञ्चालन गरिरहेकी गुरुङले अनाथ बालबालिका कक्षा १० पढ्ने बेलासम्म मासिक पाँच हजार रुपैंयाका दरले आर्थिक सहायता गर्ने जानकारी दिइन् ।
उनले उपलब्ध गराएको चार महिनाको एकमुष्ठ २० हजार रुपियाँ शुक्रबार हस्तान्तरण गरिएको छ । सो रकम स्थानीय रागिनाश आधारभूत विद्यालयकी प्रधानाध्यापक सरला चेपाङले मंगल चेपाङलाई हस्तान्तरण गरेकी हुन् । सो रकमले कापी, कलम लगायतका स्टेशनरी सामान किन्ने तथा साँझ बिहान खानाका लागि उपयोग गर्ने चेपाङले बताएका छन् । भाईबहिनीलाई पढाउनकै लागि आफुले गरेको दुख बुझेर आफू र भाइबहिनीको पठनपाठनमा सहयोग गर्ने दुवै संस्थालाई उनले धन्यवाद दिएका छन् । यो सहयोगले लगनशिल भएर पढने प्रेरणा मिलेको उनको भनाई छ ।
असहाय तथा अनाथ बालबालिको समस्याको बारेमा केही समयअघि दरौंदी र अन्नपूर्णपोष्ट पत्रिकामा समाचार प्रकाशन भएको थियो । आफूहरुको सानो सहयोगले तीन जना बालबालिकाको भविष्य निर्माणमा सहयोग पुग्ने गुरुङले विश्वास व्यक्त गरेकी छन् ।




