| आइतवार, कार्तिक २९, २०८३

पुनर्निर्माणको काम व्यबस्थित गर्न गोरखा नगरपालिका प्रतिवद्ध : प्राधिकरणको ढिलासुस्तीको मार स्थानीय तहले खेप्नु परेको गुनासो

निर्बाचित भएको लामो समयसम्म भूकम्प पीडितकै समस्यामा अल्झिरहनु परेकाले चाहेजस्तो विकास र संवृद्धिको दिशामा अघि बढ्न नसकेको गोरखा नगरपालिकाका प्रमुख राजन पन्तले बताएका छन् । भूकम्पपछिको पुनर्निमाण र पुनस्र्थापनाका साथै विपद् ब्यबस्थापनसम्बन्धी कार्यमा जवाफदेहिता पारदर्शिता र सदाचार अभिवृद्धि गर्ने प्रतिबद्धता व्यक्त गर्ने कार्यक्रममा बोल्दै पन्तले पुनर्निर्माण प्राधिकरणले जनचाहना अनुसार काम नगर्दा त्यसको दोष स्थानीय तहले खेप्नु परेको तर्क गरे ।
‘स्थानीय तहमा जनप्रतिनिधि आउनु अघि नै सामाजिक परिचालक र प्राविधिकले गरेको लाभग्राही घर सर्भेक्षणको त्रुटीको सजायँ अहिले हामीले भोग्नु परेको छ’, उनले भने, ‘कोही नाम छुट्यो भनेर गुनासो गर्छन्, कोही गुनासोमा पनि नाम आएन भनेर कराउँछन्, कोही पैसा पाएर पनि घर बनाउँदैनन्, कोही नाम आएर पनि सम्झौता गर्न आएका छैनन्, कोही सम्झौता गरेर पनि घर बनाउने जग्गा भएन भन्छन् ।’ यस्ता कुरामा अल्झनु परेका कारण चाहेर पनि विकास र संवृद्धिकालागि काम गर्न नसकेको उनी बताउँछन् । प्राधिकरण भने दातृ निकाय फकाउने, सिइओ को बन्ने ? सदस्य को बन्ने भन्नेमै अल्झिरहेको उनले टिप्पणी गरे । प्राधिकरणले भूकम्प पीडितका समस्या यथासमयमा समाधान गर्न नसक्दा त्यसको मार स्थानीय तहले खेप्नु परेको उनको भनाइ छ ।
टूान्सपरेन्सी इन्टरनेशनल नेपालको अगुवाईमा भएको कार्यक्रममा नगरपालिकाका मेयर पन्तले पुनर्निमाणका विभिन्न काम ब्यबस्थित गर्ने लिखित प्रतिबद्धता गरेका हुन् । प्रतिबद्धता पत्रमा पुनर्निमाणका काममा जवाफदेहिता पारदर्शिता र सदाचार अभिवृद्धि गर्ने, नागरिक सहभागिता बढाउने, पुननिर्माण र पुनस्थापना सम्बन्धी निर्माणकार्य नियम बमोजिम खरिद बिक्री, निर्धारित दररेटमा भए नभएको अनुगमन गर्ने, गुनासो ब्यबस्थापन गर्ने उल्लेख गरिएको छ ।
प्रतिवद्धतापत्रमा नगरपालिकाले पुनर्निर्माण र पुनस्र्थापना कार्यमा केन्द्रित नागरिक वडापत्र राख्ने, पुनर्निमाण सम्बन्धि काममा ढिलासुस्ती, भ्रष्टाचार, अनियमितता हुन नदिने, सम्झौता अबधिभित्रै पुनर्निर्माणका काम सम्पन्न गर्न सम्बन्धित पक्षलाई सजग गराउने उल्लेख छ ।
यस्तै, भूकम्पपिडीतका गुनासालाई सूचना अधिकृतद्धारा नगरप्रमुखको जानकारीमा समाधान गर्ने, विद्युतीय सञ्चार माध्यममार्फत गुनासा सकंलन गरी गुनासोको सम्बोधन गर्ने लगायतका विषय पनि प्रतिबद्धता पत्रमा समेटिएको छ ।
नगरपालिकाले प्रतिबद्धता गरेका विषयको कार्यान्वयन गर्न र नियमित रुपमा समीक्षा गर्न नगरप्रमुखको नेतृत्वमा प्रतिबद्धता कार्यान्वयन तथा अनुगमन समिति पनि गठन गरिने भएको छ । समितिमा टूान्सपरेन्सी इन्टरनेशनल नेपाल सहित सरोकारवालाको सहभागिता रहने टूान्सपरेन्सी इन्टरनेशजल गोरखाकी कार्यक्रम अधिकृत कमला रानाले बताईन् ।
गोरखा नगरपालिकाका मेयर पन्तको अध्यक्षतामा भएको कार्यक्रममा टूान्सपरेन्सी इन्टरनेशनल नेपालकी उपाध्यक्ष सबिता भण्डारी बराल, कार्यसमिति सदस्य आर्या श्रेष्ठ, बरिष्ठ अधिकृत बिनोद भट्टराई, जनप्रतिनिधि, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्