
हरेक वडामा मेलमिलापकर्ता तयार पार्दै गोरखा नगरपालिका
गोरखा नगरपालिकाले सबै वडामा सामुदायिक मेलमिलापकर्ता तयार पार्ने भएको छ । मेलमिलापकर्ताका लागि हरेक वडाबाट तीनजना छनौट भएका छन् । विवाद मिलाउन सक्ने क्षमता भएका कम्तिमा पनि एसएलसी उत्र्तिण ब्यक्तिलाई वडा कार्यालयले छनौट गरि मेलमिलापकर्ताका रुपमा तालिममा पठाएको छ ।
गोरखा नगरपालिकाको आयोजना मा सदरमुकाममा शुक्रबारबाट आयोजित आठदिने तालिम लिएपछि उनीहरु नगरपालिकाको मेलमिलापकर्तामा सुचिकृत हुनेछन् । विवादका पक्षहरुले आफ्नो विवाद समाधानको लागि सुचिकृत मेल मिलापकर्ता मध्येबाट एकजना रोज्न पाउँछन् । उनीहरुकै रोहबरमा विवाद मिलाउन सकिनेछ ।
होटल गोरखा प्यालेसमा आयोजित तालिमको जिल्ला न्यायाधिस बसन्तराज पौडेलले उद्घाटन गरे । सो अबसरमा उनले गम्भीर प्रकृतिका फौजदारी बाहेक देवानी प्रकृतिका कुटपिट, लुटपाट, जग्गा सम्बन्धी विवाद लगायतका प्रकृतिका मुद्धा मेलमिलाप गर्न मेलमिलापकर्ताको भुमिका महत्वपुर्ण हुने बताए । स्थानियस्तरमा छिटो छरितो र कम खर्चमा पक्षहरु आफैले आफ्नो विवादको समाधान खोज्न सक्ने वातावरण बनाउन तालिमको आयोजना गरिएको नगरपालिकाकी उपमेयर विनाकुमारी श्रेष्ठले बताईन् । स्थानिय तहका न्यायिक समितिको सहयोगीका रुपमा मेलमिलाप कर्ताले काम गर्ने उनको भनाई छ । सुसासन तथा विकास प्रतिष्ठानका विद्या खनाल र शुशीला सेरचनले सहजिकरण गर्ने तालिममा नगरपालिकाको १४ वटै वडाका ४२ जनाको सहभागिता छ । तालिम उद्घाटन कार्यक्रममा नेपाल बार एसोसिएसनका स्थानेश्वर दुवाडी, नेपाल पत्रकार महासंघ गोरखाका अध्यक्ष किशोरजंग थापा,नेपाल बार एसोसिएसनका स्थानेश्वर दुवाडी, वडा अध्यक्ष राम बोगटी, वडा सदस्य मित्रा परियार लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । तालिम २७ गतेसम्म चल्नेछ ।




