| आइतवार, कार्तिक २९, २०८३

‘कसैको दबाब र प्रभावमा नपरी काम गर्छौं’

अनुपमा खनाल : गोरखाका प्रशासन प्रमुख र प्रहरी प्रमुखले कसैको दबाब र प्रभावमा नपरी सेवा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गत शुक्रबारदेखि जिल्लामा कार्यभार सम्हालेका प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठ र आइतबारदेखि कार्यभार सम्हालेका प्रहरी उपरीक्षक भोला रावलले सोमबार जिल्लाका पत्रकारहरुसंगको भेटमा कसैको प्रभावमा नपरी कानुन बमोजिम कार्यसम्पादन गर्ने प्रतिबद्धता जनाएका हुन् ।
आ(आफ्नै कार्यालयमा पत्रकार भेटघाट गर्दै उनीहरुले जिल्लाको शान्तिसुरक्षा मजबुद बनाउन सक्दो पहल गर्ने बताए । जिल्लाको शान्ति सुरक्षा अमनचैनलाई प्राथमिकतामा राखेर काम गर्ने प्रमुख जिल्ला अधिकारी श्रेष्ठको भनाई छ । ‘यहाँका समस्या समाधान गर्न मेरो तर्फबाट गर्नुपर्ने सबै पहल रहन्छ’ उनले भने ‘जिल्लाको विकास निर्माणलाई गति दिने, भ्रष्टाचार तथा अपराध नियन्त्रण, बुढीगण्डकी जलविद्युत आयोजनाको मुआब्जा वितरण गर्ने, भूकम्प पछिको पुनर्निर्माण लगायतका बिषय सहज बनाउन मैले समन्वय गर्नेछु ।’

यस्तै, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक रावलले अबैध रुपमा भइरहेको नदीजन्य पदार्थको ओसारपोसार, टूाफिक ब्यबस्थापन, सीमा सुरक्षामा हुन सक्ने अबैध गतिविधि लगायतका विषयमा थप अध्ययन गरी कानुन अनुसार सुधारका प्रयास गर्ने बताए । गृह मन्त्रालयले यसअघिका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलाई जिल्ला प्रशासन कार्यालय पर्सा र प्रहरी उपरिक्षक विमल बस्नेतलाई प्रहरी प्रधान कार्यालयमा सरुवा गरेर उनीहरुलाई गोरखामा पठाएको हो । प्रमुख जिल्ला अधिकारी श्रेष्ठ दाङबाट र प्रहरी उपरीक्षक रावल महेन्द्रनगरबाट सरुवा भई गोरखा आएका हुन् ।

प्रतिक्रिया दिनुहोस्