
फोहोर ब्यबस्थापनमा गोरखा अस्पतालको लापर्बाही
अनुपमा खनाल
गोरखा अस्पतालको फोहोरमैला ब्यबस्थापनमा लापर्बाही हुने गरेको पाईएको छ । सेवाग्राही, स्वास्थ्यकर्मी, कर्मचारी तथा अस्पताल ब्यबस्थापन समितिको लापरबाहीकै कारण फोहोरमैला ब्यबस्थापनमा समस्या भएको एक अध्ययनले देखाएको हो ।
हेल्थ केयर फाउण्डेसनको हेल्थ केयर वेस्ट मेनेजमेन्ट कार्यक्रमले तयार पारेको प्रतिवेदनमा गोरखा अस्पतालमा हालसम्म फोहोर एकैठाउँमा संकलन गरी जलाएर ब्यबस्थापन गर्ने गरेको उल्लेख छ । हेल्थ केयर फाउण्डेसनले ६ महिनासम्म यस विषयमा स्थलगत अध्ययन गरी तयार पारेको प्रतिवेदन गोरखा नगरपालिकाले बिहिबार सार्वजनिक गरेको छ ।
प्रतिबेदन अनुसार अस्पतालमा दैनिक औसतमा ३६ किलो फोहोर उत्पादन हुन्छ । जसमध्ये १६ किलो फोहोर जोखिमयुक्त अर्थात् संक्रमण हुन सक्ने खालका छन् । तर अस्पतालका स्वास्थ्यकर्मी, कर्मचारी र सेवाग्राहीले जथाभावी फोहोर फाल्ने गरेका छन् । फोहोर ब्यबस्थापन प्रणाली विकास गर्नुपर्ने अध्ययनको निष्कर्ष छ । विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार जिल्ला अस्पतालको फोहोर ब्यबस्थापन हुन नसकेको सँस्थाका कार्यकारी निर्देशक महेश नकर्मीले बताए । ‘अस्पतालमा सामान्य कुरामा पनि ध्यान नदिएको पाईन्छ’ उनले भने ‘फोहोर राख्ने बाल्टिनमा स्पष्टसँग कस्ता प्रकृतिको फोहोर राख्ने भन्ने लेख्नुपर्छ, चित्र टास्नुपर्छ । गोरखा अस्पतालमा जम्मा तीन प्रतिशत बाल्टिनमा मात्रै लेबल राखिएको छ ।’ फोहोर राख्ने बाल्टिन नियमित सफा राख्नुपर्ने भएपनि २३ प्रतिशत मात्रै सफा भेटिएको उनले बताए ।
फोहोरमैला वर्गीकरण नगरी सबै एकैठाउँमा फाल्ने गरिएको पाईएको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
अस्पतालका ९५ प्रतिशत फोहोर नछुट्टाईकन एकै ठाउँमा फाल्ने गरिएको कार्यकारी निर्देशक नकर्मीले जानकारी दिए । ‘जोखिमयुक्त फोहोर छुट्टै ब्यबस्थापन गर्नुपर्छ’ उनले भने ‘उपचारका क्रममा प्रयोग भएका सुई, उपचारका क्रममा बिरामीका शरीरबाट निस्किएका रगत, पीप लागेका सामाग्री लगायतका बस्तुबाट अरुलाई पनि संक्रमण हुन सक्छ । तर यस्ता जोखिमयुक्त फोहोर र अन्य फोहोर एकै ठाउँमा फाल्ने गरेको पाईयो । यो गलत हो ।’ सफाई कर्मचारीका यस्ता क्रियाकलापले अन्यलाई पनि संक्रमण फैलन सक्ने भएकाले सचेत रहनुपर्ने उनको सुझाव छ । ‘सफाई गर्ने कर्मचारीले सामान्य एप्रोन लगाएर अस्पताल सफाई गरेका छन्’ उनले भने ‘अस्पताल सफाई कर्मचारीका लागि विशेष खालको एप्रोन अनिबार्य हुन्छ । उनीहरु छिटो संक्रमित हुनसक्छन् । ख्याल गर्नुपर्छ ।’ अस्पतालबाट निस्किएका करीब ९० प्रतिशत फोहोर निर्मलीकरण गरी पुन प्रयोग गर्न सकिने भएकाले अस्पतालमा त्यस्तो ब्यबस्था गर्नुपर्ने अध्ययनको सुझाव छ । ‘धुलो र पानी नमिसिएका सबै फोहोर पुन प्रयोग गर्न सकिन्छ’ कार्यकारी निर्देशक नकर्मीले भने ‘फोहोर कहाँ फाल्ने भन्ने निश्चित ठाउँ हुनुप¥यो । अस्पतालले फोहोर निर्मलीकरण केन्द्र सञ्चालन गर्नुपर्छ । ’ स्वास्थ्यकर्मी, सेवाग्राही, सफाई कर्मचारी र अस्पताल ब्यबस्थापन समिति जिम्मेवार बन्नुपर्ने अध्ययनको सुझाव छ ।
फोहोरमैला ब्यबस्थापन समिति गठन गरी सफाई कर्मचारीलाई उचित तालिमका साथ थप काम गर्नुपर्ने उनको भनाई छ ।
सबैको सहकार्य र अनुगमनमा अस्पतालको फोहोर ब्यबस्थापन गर्न आफूहरु तयार रहेको अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष पुरुषोत्तम अर्यालले
जानकारी दिए ।
कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेण्डेन श्रीराम तिवारीले फोहोर ब्यबस्थापनका योजना सहित थप सुधार गर्नु जरुरी रहेको बताए ।
फोहोर ब्यबस्थापन गर्न निर्मलीकरण केन्द्र स्थापनाका लागि जग्गा ब्यबस्थापन गर्न गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले अस्पताललाई आग्रह गरेका छन् । ‘सुधार गर्नुपर्ने अबस्थाको पहिचान भएको छ’ उनले भने ‘अस्पतालले जग्गा ब्यबस्थापन गरेपछि हामी थप काम अघि बढाउनेछाँै ।’




