
बूढीगण्डकी जलविद्युत आयोजनाको मुआब्जा थप गर्न निवेदन संकलन
अनुपमा खनाल : बूढीगण्डकी आयोजनाको डुवान क्षेत्रमा १० रोपनीसम्म मात्रै जग्गा भएकाहरुको निवेदन संकलन सकिएको छ ।
प्रभावितमध्ये थोरै जग्गा हुनेलाई थप रकम उपलब्ध गराउने उदेश्यले गत असोज १५ गतेबाट वडा वडामा निवेदन संकलन थालिएको थियो । १० रोपनीसम्म जग्गा हुनेलाई निर्धारित मुआब्जा रकम बाहेक अतिरिक्त पैसा दिन जिल्ला मुआब्जा निर्धारण समितिले सिफारिस गरेको थियो । सोही सिफारिस कार्यान्वयनका लागि प्रभावित क्षेत्रका सबै वडा कार्यालयमा निवेदन संकलन गरिएको आयोजना अन्तर्गतको वातावरण, मुआब्जा वितरण, पुनर्वास तथा पुनस्र्थापना इकाईले जनाएको छ ।
डुवानक्षेत्रभित्रका वडा कार्यालयमा संकलित निवेदन सिउरेनीटारस्थित कार्यालयमा जम्मा पार्ने क्रम चलिरहेको इकाई प्रमुख कृष्णबहादुर कार्कीले जानकारी दिए । ‘हामीले वडा कार्यालयमा निवेदन दिन प्रभावितलाई सुचना जारी गरेका थियौ’ उनले भने ‘संकलित निवेदन कार्यालयमा जुटाएर थप अध्ययन गर्नेर्छौ ।’ पाँच रोपनीसम्म जग्गा हुनेलाई मुआब्जा रकममा १५ प्रतिशत र १० रोपनीसम्म जग्गा हुनेलाई १० प्रतिशत थप रकम दिन लागीएको इकाई प्रमुख कार्कीले बताए । डुवान क्षेत्रको मुआब्जा निर्धारण गर्ने क्रममै १० रोपनीसम्म जग्गा हुनेलाई अतिरिक्त रकम दिनु पर्ने सिफारिस जिल्ला मुआब्जा निर्धारण समितिले गरेको थियो । मन्त्रीपरिषदले उक्त सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेपछि थप रकम दिने गृहकार्य थालिएको हो ।
वडाबाट संकलित निवेदन जाँचबुझ गरी निवेदकको डुवानक्षेत्रमा १० रोपनीसम्म जग्गा भएको पुष्टि भएपछि थप रकम दिने प्रक्रिया सुरु गरिने इकाईले जनाएको छ ।
देशका अन्य भागमा एउटै घरका अरु कसैको नाममा घरजग्गा भएकाहरुले भने डुवान क्षेत्रमा १० रोपनीसम्म मात्रै जग्गा भएपनि थप रकम पाउँदैनन् । यस विषयमा मालपोत कार्यालय मार्फत निवेदकको अन्य भागमा जग्गा भए नभएको पनि जाँचबुझ गरिने इकाई प्रमुख कार्कीले बताए ।




