| आइतवार, कार्तिक २९, २०८३

जहाँ जग्गा बाँझो राख्नुलाई बद्नाम मानिन्छ

शिव उप्रेती : ग्रामीण क्षेत्रका प्राय युवाहरु रोजगारीका लागि विदेशिने वा सहर पस्ने क्रम बढिरहेको छ । अलिअलि पैसा कमाइ भएपछि उनका परिवार पनि छोराछोरी पढाउने बहानामा गाउँ नै सुनसान हुने गरी बसाइँ सर्ने समस्या बढिरहेको छ । युवा जनशक्तिको अभावको प्रभावले अहिले प्राय सबै गाउँका धेरै खेतबारी बाँझा छन् । तर गोरखामा एउटा यस्तो गाउँ छ, जहाँ जग्गा बाँझो राखे बद्नाम हुने डरले सबैले खेती गर्ने गर्छन् । चुमनुब्री गाउँपालिका ७ छेकम्पारका सबै खेतीयोग्य जग्गामा खेती गर्ने चलन रहेको स्थानीय ङवाङ सोनाम लामाको भनाइ छ । ‘यहाँ कुनै जग्गा बाँझो हुदैन’, उनी भन्छन्, ‘जग्गा बाँझो छोड्यो भने उसको बद्नाम हुन्छ । उनको खलकको पनि नाम जान्छ । त्यसैले खेतीयोग्य जग्गा बाँझो देख्न पाइँदैन ।’ बसाइँसराई गरेर सहर वा विदेश गएकाहरुको जग्गा पनि आफन्तले आवाद गर्ने चलन रहेको उनको भनाइ । छेकम्पारबाट पनि सहरमा बसाइ सर्ने गरेका छन्, उनीहरुको जग्गा कसैले कमाइदिन्छन् । ‘यहाँबाट पनि विदेश जाने, सहरमा गएर बस्नेहरु त छन् । उनीहरु नभएपछि गरेर खाने त कोही हुदैनन्’, उनी भन्छन्, ‘तर उनको जग्गा कसैले अधियाँ गर्छन् । बारी बाँझो भयो भने आफन्तको समेत नाम जान्छ भनेर आफन्तले खेती गरेर खान्छन् ।’ जग्गा बाँझो रहेमा उसको आफन्त, इष्टमित्रले समेत रेखदेख नगर्ने गरेको भन्ने ठानिने उनले बताए । चिसो हावापानीका कारण छेकम्पारमा एक खेती मात्र गर्ने गरिन्छ । यहाँ जौ, करु, उवा लगायतका खेती गर्ने गरिन्छ । चुम उपत्यका को समथर भूभाग र उर्वर माटो भएका कारण छेकम्पारमा खेतीपाती फस्टाउने स्थानीय शिक्षक कर्मा लामा बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्