
९५ बर्षका बहालवाला कर्मचारी !
सरकारी सेवामा अक्सर कतिबर्ष सम्म बहाल रहन पाइन्छ ? बढिमा ५८ वा ६० बर्ष । तर गोरखाको एक सरकारी कार्यालयमा ९५ बर्षका कर्मचारी बहाल छन् ।
धार्चे गाउँपालिका ७ अन्तर्गत लापु अतिरिक्त हुलाक कार्यालयमा कार्यरत कमानसिङ गुरुङ गत साउन १६ गतेदेखि ९४ बर्ष पूरा भई ९५ बर्षमा टेकेका छन् । उनको नाउँमा जिल्ला हुलाक कार्यालयले मासिक छ हजार नौसय २५ रुपियाँ तलब निकासा गरिरहेको छ ।
गुरुङले २०४५ साल असार पाँच गते अतिरिक्त हुलाक कार्यालयको एजेन्ट पदमा नियुक्ति लिएका जिल्ला हुलाक कार्यालयका प्रमुख लेखबहादुर श्रेष्ठले जानकारी दिए । उनलाई सरकारी सेवा अनुसारको तलब भत्ता, दशैं खर्च, विदा तथा उपचारखर्च वापतको सेवा सुविधा प्रदान गरिरहेको कार्यालय प्रमुख श्रेष्ठले जानकारी दिए । ‘अतिरिक्त हुलाकका कर्मचारीलाई एक पटक नियुक्त गरेपछि अवकास गर्ने प्राबधान छैन’, श्रेष्ठले भने, ‘उमेर हदबन्दी पनि छैन । त्यसैले उहाँ हालसम्म हाम्रो कर्मचारी नै हो ।’ उनले रजिष्टूी तथा अन्य चिठी दर्ता गर्ने, टिकट बेच्ने, कार्यालय खोल्ने जस्ता कामहरु गर्ने गरेका छन् ।
सो अतिरिक्त हुलाक कार्यालयमा उनीसहित दुईजना मात्र कर्मचारी छन् । एजेन्ट पदमा कमानसिङ गुरुङ र वितरकमा मेषबहादुर गुरुङ कार्यरत छन् । यसअघि हुलाकका कर्मचारी बर्षमा दुईचारफेर जिल्ला हुलाक कार्यालयमा बिभिन्न कामले आउनु पर्ने व्यबस्था भए पनि अहिले सो ब्यबस्था नरहेकाले कुन कर्मचारी को अबस्था कस्तो छ भन्ने जानकारीसम्म पनि नहुने कार्यालयले जनाएको छ । ‘तलब पनि कर्मचारीको खातामा जाने ब्यबस्था भएपछि त कुन कर्मचारी कुन अबस्थाको छ, कुन उमेरको छ भन्ने केही पत्तो हुदैन’, कार्यालय प्रमुख श्रेष्ठले भने ।
असक्त भएका कर्मचारीलाई अवकास गर्न जिल्ला हुलाक कार्यालयलाई व्यबहारिक कठिनाइ हुने गरेको छ । बिभिन्न कारणले पद रिक्त भएमा नयाँ नियुक्ति गर्न हुलाक बिभागबाट अनुमति नपाइने र बिभागले पनि कर्मचारी नपठाउने गरेकाले कर्मचारी अभावको समस्या पर्ने गरेको कार्यालय प्रमुख श्रेष्ठको भनाइ छ । ‘पहिले ८२ जना कर्मचारी भएको ठाउँमा अहिले जिल्लाभर जम्मा ४१ जना मात्र कर्मचारी छन्’, श्रेष्ठ भन्छन्, ‘हुलाकी आठ जना, हल्करा सात जनाको पद खालि छ । नयाँ नियुक्ति गर्न पनि अनुमति पाएको छैन । माथिबाट सरुवा गरेर पनि पठाउँदैनन् ।’ समस्याको बारेमा जति लेखेर पठाए पनि बिभागले वास्ता नगर्ने गरेको उनले बताए ।




