
आउँदो मंसीर १९ गते खोर्लावेशी ‘सेटर्डे फन नाइट’ हुने
उत्तरी गोरखाको खोर्लावेशीमा आउँदो मंसीर १९ गते ‘सेटर्डे फन नाइट’ हुने भएको छ । त्यस क्षेत्रमा धेरैभन्दा धेरै आगन्तुक भित्र्याई पर्यटन विकास गर्ने उद्देश्यले खोर्लावेशीस्थित साङ्ग्रिला होटलले पहिलो पटक ‘सेटर्डे फन नाइट’ आयोजना गर्न लागेको हो ।
फन नाइटमा धार्चेको अर्गानिक स्वाद झल्कने स्थानीय उत्पादनको परिकार बनाएर खुवाइने होटलले जनाएको छ । ‘स्थानीय मार्सी धानको खानाको स्वाद चखाइनेछ । स्थानीय मकै, रातो, कालो भटमास, ढिँडो, सिस्नु, लगायतको अर्गानिक स्वाद उपलब्ध हुनेछ’, होटलका सञ्चालक इन्द्र गुरुङले भने, ‘धार्चेमा प्रचलित लोकदोहोरी, मौलिक सांस्कृतिक नृत्य प्रदर्शन र क्याम्प फायरसमेत गरिनेछ ।’ मंसीर १९ गते फन नाइटअन्तर्गत मनोरञ्जनात्मक कार्यक्रमका साथ डिनर र राती बस्न लजको व्यवस्था गरिएको उनले बताए ।
भोलिपल्ट आइतबार बिहानको ब्रेकफास्ट र दिवा खानाको समेत व्यवस्था गरिएको उनले बताए । ‘साङ्ग्रिला होटलले सेटर्डे फन नाइटका लागि प्याकेजमा सेवा दिने व्यवस्था गरेको छ’, उनले भने, ‘जनही दुईहजार रुपैयाँमा सांस्कृतिक कार्यक्रमको मनोरञ्जनका साथ क्याम्प फायर, डिनर, लज सेवा, ब्रेकफास्ट र लन्चसम्मको सुविधा उपलब्ध गराइएको छ ।’
यो सेटर्डे फन नाइट पहिलो पटक आयोजना गरिएको र यसको प्रभावकारिताका आधारमा हरेक महिना फन नाइट आयोजना गर्ने उनले बताए ।




