| शुक्रबार, मंसिर ४, २०८३

देउवा नेतृत्वको नेपाली कांग्रेसको १५ औँ जिल्ला अधिवेशन, केन्द्रीय नेताहरु गोरखामा खचाखच

शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसको गोरखा जिल्ला अधिवेशन शुक्रबार गोरखा सदरमुकाममा आयोजना हुँदैछ । होटल गोरखा प्यालेसमा विहान ११ः३० हुने १५ औँ अधिवेशनको उद्घाटनका लागि केन्द्रीय नेताहरु जिल्लामा खचाखच भरिएका छन् ।
जिल्ला सभापति भूगोल थापाको सभापतित्वमा अधिवेशन गरिने सो पार्टीका जिल्ला सचिव विश्व भट्टले जानकारी दिए ।

अधिवेशनको उद्घाटन गर्न केन्द्रीय नेता शशांक कोइराला विहिबार नै गोरखा आइसकेका छन् । शुक्रबार बिहानसम्म प्रकाशमान श्रेष्ठ पनि आउने सचिव भट्टले जानकारी दिए । उनका अनुसार मोहनबहादुर बस्नेत र शंकर भण्डारी पनि गोरखामा आइसकेका छन् । भर्खरै पार्टी प्रवेश गरेका राजिव गुरुङ(दीपक मनाङे) र जितजंग बस्नेत पनि गोरखामा आइसकेका छन् ।

१५ औं अधिवेशनलाई सम्बोधन गर्न गुरु बराल, एनपी साउद, कुन्दन काफ्ले र किरण पौडेल पनि गोरखा आइसकेका सचिव भट्टले जानकारी दिए । शेरबहादुर देउवा निकटका नेताहरुको नेतृत्वमा गठित सो पार्टीले केही महिना अघि भूगोल थापाको संयोजकत्वमा नेपाली कांग्रेसको गोरखा जिल्ला तदर्थ समिति गठन गरेको थियो ।

त्यस्तै गोरखा क्षेत्र नं. १ को संयोजकमा लक्ष्मण नराल र क्षेत्र नं. २ को संयोजकमा मित्र दवाडी चयन भएका छन् । क्षेत्र नं. १ को प्रदेश क संयोजकमा राजेन्द्र गुरुङ, प्रदेश ख को संयोजकमा टेकराज पाण्डे चयन भएका छन् । त्यस्तै प्रदेश २ को प्रदेश क को संयोजकमा उचित खनाल र प्रदेश ख को संयोजकमा नेत्रलाल विक चयन भएका सचिव विश्व भट्टले जानकारी दिए ।

१५ औं अधिवेशनका लागि सो पार्टीले सबै पालिका स्तरीय कार्य समिति पनि गठन गरिसकेको जनाएको छ । जिल्ला अधिवेशनमा चारसयदेखि पाँचसय जनासम्म प्रतिनिधि सहभागी हुने अनुमान गरिएको भट्टले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्