
गोरखा प्रशासनमा सहायता कक्ष स्थापना, निशुल्क फोटोकपी र परामर्श सेवा
जिल्ला प्रशासन कार्यालय गोरखाले सेवाग्राहीहरुलाई प्रभावकारी सेवा दिने उद्देश्यका साथ कार्यालयमा सहायता कक्ष स्थापना गरेको छ । विभिन्न सरकारी कामकाज लिएर प्रशासन कार्यालय पुगेका सेवाग्राहीहरुको प्रशासनिक प्रक्रिया सहज बनाउन कार्यालयले सहायता कक्षा स्थापना गरेको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए ।
‘प्रशासन कार्यालयमा जिल्लाभरका बालबालिका, बृद्धबृद्धा, अपाङ्गता र सामान्य लेखपढ गर्न नसक्ने जस्ता सबै खाले सेवाग्राहीहरु आउनुहुन्छ’, उनले भने, ‘सामान्य प्रशासनिक प्रक्रिया नबुझ्दा, कुन कामका लागि कहाँ जाने र के कागजात चाहिन्छ भन्ने ज्ञान नहुँदा सेवाग्राहीहरुले धेरै दुख पाउनुहुन्छ । अबदेखि त्यसो नहोस् भनेर प्रशासन कार्यालयले सहायता कक्ष स्थापना गरेको हो ।’
सहायक प्रजिअ शर्माका अनुसार प्रशासन कार्यालयको सहायता कक्षमार्फत सोधपुछ सेवा र निशुल्क फोटोकपी तथा स्क्यानिङ्ग सेवा दिइन्छ । यस्तै, सहायता कक्षमार्फत टिकट बिक्री सेवा र प्रशासनिक प्रक्रिया बारे जानकारी समेत दिइने गरिएको छ । जिल्ला प्रशासन कार्यालयले राहदानी र राष्टिूय परिचय पत्रको अनलाइन फारम सम्बन्धित फाँटहरुबाटै भरिदिने सेवा समेत सुरु गरेको शर्माले बताएका छन् । कार्यालयले एकद्वार प्रणाली लागु गरेर सेवा दिइरहेको उनको भनाइ छ ।
अनलाइन फारम भर्ने तथा फोटोकपी लगायत सामान्य काममा पनि सेवाग्राहीहरुले पसलहरुमा चर्को मूल्य तिर्नुपर्ने बाध्यता भएपछि प्रशासन कार्यालयले नै उक्त सेवा निशुल्क रुपमा सुरु गरेको हो ।
‘कार्यालयमा चाहिने फोटोकपी, स्क्यानिङ लगायत सबै कामहरु यहीँ निशुल्क रुपमा हुन्छ ।
व्यापारी व्यवसायीहरुले जथाभावी शुल्क लिएर सेवाग्राहीहरुलाई दुख दिने समस्या अन्त्य गर्न हामीले यो कदम चालेका हौँ’, सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले भने ।
जिल्ला प्रशासन कार्यालयले कार्यालयको एकजना कर्मचारी व्यवस्थापन गरेर सहायता कक्ष संचालन गर्दै आएको छ ।




