| बुधबार, मंसिर २, २०८३

बूढीगण्डकी बाढी प्रभावित छ सय घरधुरीमा डेढ महिनापछि विद्युत र सञ्चार सेवा सुचारु

बूढीगण्डकीमा आएको विनाशकारी बाढीका कारण विद्युत र सञ्चार सेवा अबरुद्ध भएका धार्चेका छ सय घरधुरीमा झण्डै डेढ महिनापछि सेवा सुचारु भएको छ । धार्चे गाउँपालिका वडा नं १ र ३ करिब छसय घरधुरीमा सोमबारदेखि विद्युत सेवा सुचारु भएको हो ।
नेपाल टेलिकमको टावरमा विद्य्ुत सेवा जडान भएपछि सञ्चार सेवा पनि सुचारु भएको त्यहाँका वडाअध्यक्ष सरोज गुरुङले जान कारी दिए ।
बाढीले चुमनुब्री गाउँपालिका(३ स्थित सिर्दिबास उहिया लघुजल विद्युत आयोजनामा क्षति पु¥याएपछि चुमनुब्री गाउँपालिका वडा नं ३ र धार्चेको उहिया क्षेत्र विगत डेढ महिनादेखि विद्युत विहिन बनेको थियो भने उहियास्थित नेपाल टेलिकमको टावरमा विद्युत विच्छेद हुँदा सेवा अवरुद्ध भएको थियो । डेढ महिनापछि विद्युत जडान भएसँगै वरपरका गाउँबस्तीमा सञ्चार सम्पर्क सेवा सुचारु भएपछि स्थानीयबासी खुशी भएका गुरुङको भनाइ छ ।

सोमबार मात्र उहियामा विद्युत सेवा संचालनमा आएको धार्चे गाउँपालिका वडा नं २ का वडाअध्यक्ष सरोज गुरुङले बताए । उत्तरी गोरखाको गाउँबस्तीहरुमा विद्युत सेवा दिँदै आएको कादुरी नामक संस्थाको पहलमा उहियामा विजुली बलेको गुरुङले जानकारी दिए । विद्युत सेवा सुचारु भएपछि सञ्चार सेवा पनि सुचारु भएको वडाअध्यक्ष गुरुङले जानकारी दिए । ‘उहियाको टावरबाट उहिया, माछाखोला, खोर्ला, खोर्लावेशी, दुङ्ला, रुन्चेत, उम्चेत र हुल्चुकका गाउँबस्तीमा सञ्चार सेवा सुचारु भएको छ’, गुरुङले भने, ‘त्यहाँ डेढ, डेढ महिनासम्म विजुली नबल्दा टावर चलेन । वरपरका सबै गाउँबस्तीहरु मा विजुली त जसोतसो बल्यो तर फोन सम्पर्क हुन सकेन ।’ धार्चे गाउँपालिकाको वडा नं १, २ र ३ मा गत असोज २५ गते बाढी गएदेखि सञ्चार सेवा ठप्प बनेकोमा सोमबारदेखि मात्र संचालनमा आएको वडा नं २ का अध्यक्ष सरोज गुरुङले बताएका छन् । गाउँमा सञ्चार सेवा ठप्प बन्दा वडाका कामकारबाही र स्थानीयहरुको जनजीवन समेत प्रभावित बनेको उनको भनाई छ । उनी भन्छन्, ‘आजभोलि सञ्चार र प्रविधिको जमाना छ । यो डेढ महिना गाउँमा फोन टावर नचल्दा हामी पुरानै जमानामा पुगेको जस्तो भएका थियौँ ।’

धार्चेको वडा नं १, २ र ३ का गाउँबस्तीलाई बाढीले आवतजावत सँगै सञ्चारबाट पनि बञ्चित गराएको थियो । वडा नं १ हुल्चुकको करिब २५० घरधुरी र वडा नं ३ उहियाको ३३२ घर धुरी बाढी आएको दिनदेखि अन्धकारमा जीवन गुजारा गरिरहेका थिए । स्थानीयहरुले डेढ महिनासम्म विभिन्न संघसंस्थाहरुले वितरण गरेको सोलार बत्तिबाट गुजारा गरेका हुल्चुकका वडाअध्यक्ष रामसिंह गुरुङको भनाइ छ । स्थानीयहरुले विद्यालय तथा स्वास्थ्य चौकीको सोलारबाट जसोतसो फोन चार्ज गरेपनि फोनसम्पर्क भने सुचारु हुन सकेको थिएन । फोन टावर नहुँदा गाउँलेहरु फोन सम्पर्कका लागि माथि माथि डाँडामा धाउनुपर्ने बाध्यता थियो । उहियाको टावरमा विद्युत नहुँदा त्यसको प्रत्यक्ष असर वरपरका माछाखोला, खोर्ला, खोर्लावेशी, उहिया, दुङ्ला, रुन्चेत, उम्चेत र हुल्चुकको गाउँबस्तीमा परेको थियो ।

प्रतिक्रिया दिनुहोस्