| बुधबार, कार्तिक १८, २०८३

थाकेनन् चुमबासी, सर्दीमा फेरि काठेपुल निर्माण गर्दै

गत असोज २५ गते हिमपहिरोपछि आएको चुमनुब्री ६ स्थित स्यारखोलाको बाढीले सर्दीभिरको क्याण्टिलिभर पुल बगायो । सो पुल बगाएपछि चुमनुब्री गाउँपालिका वडा नं. ६ र ७ का दर्जनौ घरधुरी नाकाबन्दीको अवस्थामा पुगे ।स्थानीयबासीले लगातार १५ दिन काम गरेर चारवटा काठेपुल बनाएका थिए । तर ती पुलहरु पनि गत गत बिहिबार, शुक्रबार आएको बर्षापछिको बाढीले बगाएपछि स्थानीयबासी निराश भएका थिए ।

उनीहरु फेरि एकजुट भई काठेपुल बनाउन सुरु गरेका स्थानीय सेराप गुरुङले जानकारी दिए । ‘१५ दिन लगाएर बनाएको पुल एकसाता पनि नबित्दै फेरि बगायो । मुस्किलले बनाएको पुलमा वारपार गर्न पाउँदा खुशी भएका गाउँलेहरु फेरि निराश भए’, सेरापले भने, ‘अब निराश भएर त पुग्दैन । फेरि जुटौँ र पहिलेझैँ काठे पुल बनाऔँ भनेर तीन दिनअघिदेखि पुल बनाउन थालेका छौँ ।’ अहिलेसम्म पोक्यूखोलामा एउटा पुल बनाइसकेको उनले बताए ।

‘पोक्यू खोलाको एउटा पुल त बनायौँ । अब सर्दीको पुलको वारिपट्टिको जीप पनि तयार गरेका छौँ’, सेरापले भने, ‘सर्दी पारि जाने नजिक बाटो छैन । बिही पुगेर धोर्जुङ हुँदै पारिको किनार जानुपर्छ । एकदिन भन्दा धेरै समय लाग्छ । आज टोली पारि पुगेका छन् ।’ अब पारिको जीप बनाउने उनले बताए ।

अस्थायी आवतजावतका लागि गाउँपालिकाको विपद् कोषबाट काठेपुल बनाउने गाउँपालिकाका अध्यक्ष निमा लामाले बताए । ‘गाउँलेले बिहान सात बजेदेखि बेलुका पाँच बजेसम्म खटेर काम गरेका छन् । उनीहरुको पारिश्रमिक गाउँपालिकाले व्यहोर्छ’, अध्यक्ष लामाले भने, ‘उनीहरुको खाना, खाजाको खर्च चुमनुब्री वडा नं. ६ र ७ का मनकारी, समाजसेवीहरुले दिनुभएको छ ।’ सबैको साथ र सहयोगले पुल बनाउने काम फेरि सुरु भएको उनले बताए ।

यो पुल पनि अत्यन्त अस्थायी छ । सानोतिनो बर्षा र बाढीबाट खोलाको सतह बढ्ने वित्तिकै पुलहरु बगाउने गर्दछ । अबका दिनमा पानीको सतह बढेन भने बढिमा वैशाखसम्म काठेपुल टिक्छ । बैशाखमा हिउँ पग्लेर पानीको सतह बढ्न थालेपछि फेरि बगाउने स्थानीयको भनाइ छ ।

यहाँको समस्या स्थायी रुपमा समाधान गर्न सर्दीभीरमा बिस्फोट गराई बाटो खोल्नु पर्ने स्थानीय गोपाल लामाको भनाइ छ । ‘बिस्फोट गरेर सर्दीमा बाटो नखुलाई हुँदै हुदैन’, उनले भने, ‘त्यसका लागि कि प्रदेश सरकारले बजेट छुट्याउनु पर्छ, कि केन्द्र सरकारले । त्यसका लागि सबैले सबै ठाउँमा पहल गर्नुपर्छ ।’ अहिले विस्फोट गरेर बाटो खुलाउन सके पछि सडक निर्माण गर्न पनि त्यही ट्रयाक काम लाग्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्