| आइतवार, कार्तिक १५, २०८३

उत्तरी गोरखाको स्याउ ढुवानी प्रवन्ध गर

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा दुईवटा ठूला स्याउ फर्महरु छन् । मनास्लु ब्राण्डको स्याउ उत्पादन गर्ने चुमनुब्री गाउँपालिका २ ल्होको विशाल एग्रो फर्म तथा अनुसन्धान केन्द्र र चुमनुब्री ब्राण्डको स्याउ उत्पादन गर्ने वडा नं. ४ नाम्रुङस्थित इन गोरखा प्रोडक्ट फर्महरुबाट सिजनमा लाखौँ किलोग्राम स्याउ उत्पादन गर्छन् ।

तर सडक सञ्जालले नजोडेको हुनाले स्याउ ढुवानीमा समस्या छ । विगत बर्षहरुमा पनि केही स्याउ मनास्लु क्षेत्र जाने विदेशी पर्यटकले खपत गर्दथे । केही स्याउको सुकुटी बनाएर राखिन्थ्यो । केही स्याउको रक्सी तथा एप्पल साइडर बनाएर बाहिर लगिन्थ्यो ।

सडक पुग्ला र काठमाडौँ र अरु ठूला सहरी क्षेत्रमा विक्री गर्ने लक्ष्य हो । तर त्यहाँसम्म सडक सञ्जाल पुग्ने कहिले कहिले । हेलिकोप्टरबाट ढुवानी गर्दा लागत बढ्ने र बजारका सस्ता स्याउसंग प्रतिस्पर्धा गर्न चुनौतिपूर्ण हुन्छ । खच्चडबाट ढुवानी गर्दा थिचिने, बिग्रिने चुनौति हुन्छ ।

समय वित्दै जाँदा परिस्थिति सहज हुँदै जाला भन्दा झन् झन् जटिल बन्दै गएको छ । यो बर्ष झन् बाढीले बाटोघाटो क्षतिग्रस्त बनाएपछि खच्चड पनि हिडाउन सकिएन । त्यतिमात्र होइन, थेराङखोला बाढीले नाम्रुङमा विद्युत सेवा बन्द छ । त्यसले गर्दा सुकुटी बनाउन पनि नसकिने भयो ।

यहाँको स्याउको गुणस्तर नेपालकै पनि अरु जिल्लाका स्याउको भन्दा उत्कृष्ट छ । भर्खरको नयाँ वगैँचाको भएकाले धेरै रसिलो, साइजमा पनि धेरै ठूलो र त्योभन्दा पनि अर्गानिक स्याउ छन् । यी स्याउ बजारमा पुगे भने सबैको रोजाइमा पर्ने सम्भावना छ । तर बजारसम्म पु¥याउनै नसकिने अवस्था छ ।

यसलाई बजारसम्म पु¥याउन नेपालमा प्रचलित ड्रोनबाट पनि सम्भव छैन । त्यसैले सरकारले यहाँको किसानको लगानी खेर जान नदिन र उद्यमी बन्न चाहनेहरुलाई प्रोत्साहित गर्न ढुवानीको प्रवन्ध गरिदिनु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्