
फेरि हुने बर्षा र पहिरोको जोखिमप्रति सचेत रहौं
जल तथा मौसम पूर्वानुमान महाशाखाले मंगलबारदेखि शनिबारसम्म देशका विभिन्न भूभागमा वर्षा हुने पूर्वानुमान गरेको छ । यस पटकको वर्षाबाट विशेषगरी गण्डकी प्रदेश केन्द्रित रहने देखिएको छ । यद्यपि अति भीषण वर्षाको सम्भावना नरहे पनि लगातारको झरीले यसअघिका बाढी तथा पहिरोका कारण अतिसंवेदनशील बनेका भूभागहरूमा थप खतरा निम्त्याउने सम्भावना छ । यसले विशेषगरी बूढीगण्डकी उपत्यका र यस आसपासका क्षेत्रलाई फेरि एकपटक उच्च जोखिममा उभ्याएको छ ।
गत वर्षहरूमा आएको बाढी र पहिरोका कारण प्रताडित यस क्षेत्रमा यसपटकको लगातारको वर्षाले भूक्षय गराउने, नयाँ तथा पुराना पहिरोहरू सक्रिय पार्ने र जीर्ण बनेका बाटोघाटो तथा पैदलमार्गहरू पुनः अवरुद्ध पार्ने प्रबल सम्भावना छ । ग्रामीण सडकदेखि मुख्य राजमार्गहरूसम्म नै पहिरोको उच्च जोखिम रहेकाले यस अवधिमा यात्रा गर्ने यात्रुहरूले विशेष सावधानी अपनाउनु अनिवार्य देखिन्छ । सम्बन्धित निकायले पनि जोखिमपूर्ण खण्डहरूमा यातायात आवागमनलाई नियमित अनुगमन गर्ने र आकस्मिक उद्धारका लागि जनशक्ति तथा उपकरणहरू तयारी अवस्थामा राख्न जरुरी छ ।
अर्कोतर्फ, यो समय कृषिकर्मका लागि अत्यन्तै संवेदनशील छ । तल्लो भेगका धेरै ठाउँमा किसानहरूले धान काट्ने बेला भएको वा काटिसकेको अवस्था छ । यो लगातारको वर्षाले पाकेको धान भिजाउने र भित्र्याउन नपाउँदा नष्ट हुने वा गुणस्तर बिग्रिने खतरा उत्तिकै छ । तसर्थ, कृषक दाजुभाइ तथा दिदीबहिनीहरूले सकेसम्म काटिसकेको धानलाई सुरक्षित स्थान वा ओत लाग्ने ठाउँमा तत्काल व्यवस्थापन गर्न विशेष ध्यान दिनुपर्ने देखिन्छ ।
विपद्ले पूर्वसूचना दिएर मात्रै आउँदैन, तर पूर्वसूचना पाएपछि अपनाइने सतर्कताले भने ठूलो क्षति रोक्न सक्छ । मौसम विज्ञानको यो चेतावनीलाई सामान्य रूपमा नलिई नागरिकस्तरबाट व्यक्तिगत सुरक्षामा ध्यान दिने र राज्यका तीनै तहका सरकार तथा स्थानीय प्रशासनले आपत्कालीन पूर्वतयारीलाई कसिलो बनाउने बेला यही हो। बाढी, पहिरो र कृषि उपजको सम्भावित क्षतिबाट बच्न आजैदेखि सबै क्षेत्रबाट उच्च सतर्कता अपनाउनै पर्छ ।




