
बेनिघाट आरुघाट लार्के सडक दोभानसम्म सुचारु गर्ने तयारीमा
बूढीगण्डकीको बाढीले क्षतिग्रस्त बेनिघाट, आरुघाट, लार्के सडक दोभानसम्म सुचारु हुने अवस्थामा पुगेको छ । गोरखा सडक योजना कार्यालयले लगातार १५ दिन काम गरेर दोभानसम्म सुचारु गर्न लागेको कार्यालयका सूचना अधिकारी आशिक रिजालले जानकारी दिए ।आर्खेतबाट दोभानसम्मको खण्ड सडक योजना कार्यालयले र दोभानबाट सल्लेरीसम्मको खण्ड नेपाली सेनाले खुलाउनका लागि काम गरिरहेका छन् ।
दोभानसम्मको खण्डमा कतै लेदो पन्छ्याएर र कतै नदीको धार परिवर्तन गरी बगरबाट सवारी साधन चलाउन सक्ने बाटो बनाइएको कार्यालयले जनाएको छ ।दोभानसम्म सवारी साधन चल्न सके धार्चेका केही वडा र चुमनुब्री गाउँपालिकामा खाद्यान्न अभाव नहुने विश्वास लिइएको छ ।‘दशैंको चाडपर्व नभनी काम भइरहेको छ’, रिजालले भने, ‘सबैभन्दा समस्याग्रस्त रहेको तातोपानीबाट दोभानसम्मको खण्डमा २५० मिटर नदीलाई डाइभर्सन गरी बगरबाट वैकल्पिक मार्ग बनाइसकिएको छ । अहिले तातोपानी आसपास थुपारिएको लेदो पन्छ्याउने काम भइरहेको छ । यति काम सकेपछि दोभानसम्म गाडी चल्छ ।’
कार्यालयले बाढी आएको भोलिपल्टदेखि नै काम गर्न थालेको उनले बताए । ‘तीनवटा एक्साभेटर, दुईवटा लोडर र एउटा ट्रिपरले लगातार १५ दिन काम गरेर दोभानसम्म बाटो खुलाएको हो’, उनले भने, ‘तर यो वैकल्पिक सडक हिउँदभरिका लागि अस्थायी मात्र हो ।’नेपाली सेनाले सल्लेरीबाट जगत बगरसम्म सडक खुलाउने प्रयास गरिरहेको छ । सो खण्डमा सडक मर्मतको काम जटिल रहेको सडक निर्माण कार्यदलले जनाएको छ ।
डेढ किलोमिटर खण्डमा बाढीले थुपारेको पाँच फिटभन्दा गहिरो लेदो पन्छ्याउन अझै केही दिन लाग्ने कार्यदलका प्रमुख कर्णेल राम सागर यादवले जानकारी दिए । ‘अहिले सल्लेरीबाट तलको डेढ किलोमिटर खण्डमा पाँच फिटभन्दा गहिरो लेदो फाल्ने काम गरिरहेका छौँ’, कर्णेल यादवले भने, ‘अझै जगतदेखि यारुसम्मको खण्डमा थुप्रिएको डेब्रिज पन्छ्याउनुछ । यारुदेखि कालोभीरको अवस्था पनि उस्तै छ । अस्थायी रुपमा वैकल्पिक बाटो बनाउने ठाउँ पनि छैन । त्यसैले बाक्लो लेदो तथा डेब्रिज पन्छ्याउन अझै एक हप्ताभन्दा धेरै लाग्नसक्ने देखिन्छ ।’
मान्छे, खच्चड र मोटरसाइकल भने केही दिनभित्र पाङसिङसम्म पुग्न सक्ने उनले बताए । लेदो र डेब्रिज पन्छ्याउनका लागि सो खण्डमा एउटा मात्र एक्साभेटर भएकाले समय धेरै लागेको हो । सडक योजना कार्यालयले दोभानसम्म सडक खुलाएपछि सोही मेसिन प्रयोग गर्न सकिएमा काम छिटो हुनसक्ने नेपाली सेनाको सडक निर्माण कार्यदलले जनाएको छ ।
चुमनुब्री र धार्चे गाउँपालिकासंग समन्वय र सहकार्य गरी काम गरिएको सडक योजना कार्यालय र नेपाली सेनाले जनाएको छ ।यसअघि धार्चे र चुमनुब्री गाउँपालिकाले स्थानीयवासीलाई खटाएर मान्छे हिड्न सक्ने पैदलबाटो खुलाइसकेको छ ।




