
उङ्गिलुङ बाढी, पहिरो पिडितले पाए राहत
उङ्गिलुङ खोलामा आएको पहिरो तथा बाढीका पीडित परिवारले राहत सामग्री पाएका छन् । चुमनुब्री ६ चुम्चेतका बेपत्ता भएका पाँच जनाको परिवार र धउलेमा घरबास गुमाएका चुम्लिङका तीनजनाको परिवारलाई सोमबार राहत प्रदान गरिएको हो ।
बाढीले बाटो र पुल बगाएका कारण राहत सामग्री हेलिकोप्टर र खच्चडबाट ढुवानी गरी उनीहरुको घरमा पुर्याइएको थियो । सो राहत प्याकेजमा चामल, नुन, तेल, चिनी, टेण्ट, त्रिपाल, पाल, म्याट्रेस, लुगा कपडालगायतका सामग्री छन् ।
गत असोज २५ गते सेराङ्गी हिमाल र चामर हिमालको बीचमा अवस्थित धुम्वाखाप्के (होजाङ)बाट झरेको हिमपहिरोपछि आएको बाढीमा परी चुमनुब्री गाउँपालिका-६ उङ्गिलुङको गोठमा बस्दै आएका भोम अजे लामा र उनका पति सोनाम लामा, सोनामकै दाजु कर्मा लामा, पेम दोर्जे र सोनाम भुटी बेपत्ता भएका थिए।
उङ्गिलुङकै किनार, धाउलेमा बाढी पहिरोमा फँसेका ७१ बर्षकी धाउले आमा र उनका दुई भाइ छोराहरू ङिमा दोर्जे र मिङ्मा छिरिङलाई १२ घण्टापछि हेलीकोप्टरमार्फत उद्धार गरि बचाइएको थियो ।उनीहरुका लागि सरकारले पाँचदिन अघि पठाएको राहत सामग्री सोमबार वितरण गरिएको हो ।




