| शुक्रबार, अशोज २९, २०८३

विकास हाइड्रोपावर कम्पनीले १० प्रतिशत बोनस शेयर बाँड्ने

गोरखाको धार्चे गाउँपालिका ४ मा ४.५५ मेगावाट क्षमताको अपर माछाखोला जलविद्युत आयोजना सञ्चालन गरेको विकास हाइड्रोपावर कम्पनीले १० प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । बिहिबार सम्पन्न कम्पनीको पाँचौं वार्षिक साधारणसभाले सो प्रस्ताव सर्वसम्मत पारित गरेको हो ।

कम्पनीका अध्यक्ष खगेन्द्र न्यौपानेको अध्यक्षतामा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०८२/०८३ को लागि १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको प्रालिले जनाएको छ । कम्पनीले आईपीओ निष्काशन गरेपछि वितरण गर्न लागेको यो पहिलो लाभांश हो ।

त्यस्तै सभाले आ.व. २०८२/०८३ को वार्षिक प्रतिवेदन, र लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०८२/०८३ को लेखा परीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु पारित गरेको छ । सभाले आ.व. २०८३/०८४ को लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक तोक्नुको साथै सञ्चालक समितिबाट भए गरेका निर्णय, काम कारबाहीहरु अनुमोदन गरेको छ । सभाले संस्थागत सुशासन सम्बन्धी प्रतिवेदन स्वीकृत गरेको छ भने सञ्चालक समितिको भत्ता, सेवा सुविधा सम्बन्धमा आवश्यक निर्णय गरेको छ ।

सभाले बोनस शेयर जारी पश्चात पुँजी वृद्धि गर्न कम्पनीको अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने प्रस्ताव पनि पारित गरेको छ । त्यस्तै कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने र प्रस्तावित संशोधन नियमनकारी निकायबाट कुनै फेरबदल वा सुझाव आएमा आवश्यक संशोधन समायोजन गर्न सञ्चालक समितिलाई सभाले अख्तियारी दिएको छ। लगानी अनुमोदन तथा अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि सभाले पारित गरेको छ ।

साधारणसभामा कम्पनीका अध्यक्ष न्यौपानेले गत वार्षिक साधारण सभामा आ.व. २०८२/०८३ मा दुई अङ्कको लाभांश वितरण गर्ने साझा सङ्कल्प र प्रतिबद्धता व्यक्त गरेको स्मरण गर्दै त्यो पूरा गरेको उल्लेख गरे । उनले आगामी दिनमा कम्पनीले दक्ष व्यवस्थापन, पारदर्शिता, संस्थागत सुशासन एवम् आधुनिक प्रविधिको उच्चतम प्रयोग गर्दै उत्पादन वृद्धि, लागत न्यूनीकरण तथा दिगो प्रतिफल सुनिश्चित गर्ने कार्यलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले यस वर्ष बाढी–पहिरोजस्ता प्राकृतिक विपद्बाट आयोजनामा कुनै क्षति नपुगेको जानकारी गराए ।

यस कम्पनीले गोरखा जिल्लाको धार्चे गाउँपालिका–४ मा अवस्थित माछाखोलामा ४.५५ मेगावाट क्षमताको माथिल्लो माछाखोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०७९ माघ १७ देखि व्यावसायिक उत्पादन प्रारम्भ गरी राष्ट्रिय प्रसारण लाइनमार्फत विद्युत् बिक्री वितरण गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्