| शुक्रबार, अशोज २९, २०८३

हेलीले बोक्छ टनका टन राहत, वास्तविक पीडितलाई ठण्डाराम

शिव उप्रेती ।
गत आइतबार बिहान चार बजे उङ्गिलुङ खोलामा सुख्खा पहिरो झ¥यो । पहिरोले स्यारखोला थुनियो । एक्कासी खुल्दा बूढीगण्डकीमा अपूर्व बाढी चल्यो । चुमनुब्री गाउँपालिका ६ उङ्गिलुङको गोठमा बस्दै आएका भोम अजे लामा र उनका पति सोनाम लामा, सोनामकै दाजु कर्मा लामा, पेम दोर्जे र सोनाम भुटी बाढीमा बेपत्ता भए ।

उङ्गिलुङकै किनार, धाउलेमा बस्दै आएकी ७१ बर्षकी धाउले आमा र उनका दुईभाइ छोराहरु ङिमा दोर्जे र मिङ्मा छिरिङ त्यो भयानक पहिरो र बाढीको बीचमा परे । बिहान चारबजेदेखि बाढी र पहिरोको बीचमा फँसेका उनीहरुलाई १३ घण्टापछि साँझ पाँचबजेतिर हेलिकोप्टरले उद्धार गरेर फिलिम पु¥यायो । केही बेरमा फेरि चुम्लिङ लगेर राखिदिएको स्थानीय गोपाल लामा बताउँछन् ।

त्यसदिनदेखि बूढीगण्डकी उपत्यकामा फँसेका हजारौं जना स्थानीय तथा पर्यटकलाई नेपाली सेना तथा निजी हेलिकोप्टरले बुधबारसम्म उद्धार गरिरहेको छ । बाटोघाटो, पुलपुलेसा बगेपछि नाकाबन्दीमा परेका धार्चे र चुमनुब्री गाउँपालिकाका गाउँबस्तीमा सरकारले आरुघाटबाट राहत सामग्री ओसारिरहेको छ । सरकारले उपलब्ध गराएको तथा निजी तबरबाट र संस्थागत तबरबाट पनि अथाह राहत सामग्री संकलन भइरहेका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बुढीगण्डकी बाढीपछि उद्धार तथा प्रतिकार्यमा २ सय ८ हवाई उडान भएको पाइएको छ । नेपाली सेनाका हेलिकप्टर केह निजी क्षेत्रबाट समेत उडान भएका थिए । प्राधिकरणका अनुसार २५ असोजमा कुल ८८ उडान भएका छन् । २६ असोजमा ६८ उडान भएका थिए । २७ असोजमा ५२ उडान भएका छन् । प्राधिकरणले बाढीपछि नेपाली सेनाका ५ हेलिकप्टर परिचालन गरेको जनाएको छ । अहिलेसम्म ९ सय ८१ स्वदेशी र ७० विदेशी गरी एक हजार ५१ जनाको उद्धार भएको छ ।

तर न उङ्गिलुङको बाढी र पहिरोमा परी बेपत्ता भएका पाँचजनाका आफन्तको घरमा राहत सामग्री पुगेको छ, न १३ घण्टा धाउलेमा फँसेर उद्धार भएका तीनजनाको घरमा । ‘एक थोपा पनि राहत आएको छैन’, धाउलेबाट उद्धार भई नयाँ जीवन पाएका ङिमा दोर्जे भन्छन्, ‘हामी त चुम्लिङमा एउटा ओढारमा बसेका छौँ । घर पनि छैन, भर पनि छैन । गाउँलेले अलिअलि पिठो उठाएर दिएका छन्, त्यही खाएर पेट भरेका छौँ ।’ उनीहरुलाई उद्धार गरेर चुम्लिङ ल्याईपु¥याएको दिनमा सरकारले केही पाँच–पाँच पोका चाउचाउ, पाँचपाँच पोका विस्कुट र केही बोत्तल पानी दिएको थियो । ‘एकेक वटा स्लिपिङ ब्याग पनि दिएको थियो । त्यही ओढारमा ओछ्याएर सुतेका छौँ’, उनले भने ।

बाढीमा परेर बेपत्ता भएका पाँच जनाको परिवारले पनि राहत पाएका छैनन् । ‘बेपत्ता भएका पाँचै जनाको परिवारले उनीहरुको काजकिरिया गर्न थाले’, स्थानीय गोपाल लामाले भने, ‘तर उनीहरुले एकसितो पनि राहत पाएका छैनन् । यहाँ राहत बाँड्ने हेलिकोप्टर पनि आएको छैन ।’ बास्तविक पीडितले राहत पाउन नसकेकोमा उनले दुख व्यक्त गरे । ‘आरुघाटबाट राहत बोकेर हेलिकोप्टर उँडिरहेको छ भन्ने सुनेको छु । तर यहाँ आएको छैन’, उनले भने, ‘पहिरो गएको, नदी थुनिएको पनि यहीँ हो । मान्छे मरेको पनि यहीँ हो । घरबास सिनित्तै लगेर बेघर भएको पनि यहीँ हो तर राहत खै कताकता बाँड्यो होला ।’

क्याण्टिलिभर पुल बगाएर मान्छे हिँड्न पनि नसक्ने, खच्चड हिँडाउन पनि नसकिने पीडामा रहेको चुम्चेतमा खाद्यान्नको अभाव हुने सम्भावना रहेको अर्का स्थानीय दिपेश लामा बताउँछन् । ‘जिल्लाको सिडिओलाई पनि फोन गरेको थिएँ, तर यहाँका बासिन्दाले राहत पाएका छैनन्’, उनले भने ।

बास्तविक पीडितले राहत नपाएको अर्का पीडित चुमनुब्री ३ सल्लेरीका दिलबहादुर गुरुङ बताउँछन् । ‘सल्लेरीको चार घर र पैयुँका सात घर बाढीले सिनित्तै बगायो । उनीहरु अहिले हामीहरुको घरमा आएर बसेका छन्’, उनले भने, ‘आफन्तले कति दिन भरथेग गर्ने ? सल्लेरीमै २०–२२ घर छन् । बाढी गएकै दिनमा गाउँपालिकाले तीन बोरा चामल दिएको थियो । पछि १० बोरा चामल आयो । कम्तीमा एकेक पाथी चामल पाए पनि चाडबाड मान्न पाउँथ्यौँ ।’

१३ घण्टा फँसेर यसरी नयाँ जीवन पायौँ : पीडित
बूढीगण्डकी बाढीको उद्गमस्थल उङ्गिलुङ खोलाको धाउलेमा १३ घण्टा फँसेपछि उद्धार भएका ङिमा दोर्जे अहिले ७१ बर्षकी धाउले आमा र भाइ मिङ्मा छिरिङसंग चुम्लिङको ओढारमा आश्रय लिई बसेका छन् । बिहान चारबजेदेखि अपरान्ह पाँचबजेसम्म बाढी पहिरोमा फँसेका उनलाई त्यो क्षण सम्झँदा अहिले पनि जिउमा काँडा उम्रिन्छ ।

‘बिहान सुतिरहेका थियौँ । धेरै ठूलो आवाज आयो । भुइँचालो पनि गयो । अनि खोलामा हेरेको पानी स्वाट्टै सुक्यो । त्यसपछि हामी दाजुभाइ भागेर आमा सुत्ने ओढारमा गयौँ । आमा डराएर रोइरहनु भएको रहेछ’, उनले भने, ‘हामी पनि डराएर रुन थाल्यौँ । यस्तो अचम्म अहिलेसम्म कहिल्यै भएको पनि थिएन । सुनेका पनि थिएनौँ ।

एक घण्टाजति थुनिएर खोला फुट्यो । ठूलो बाढी आएको देखेर हामी डरायौँ । फेरि पहरो खस्यो । फेरि खोलो थुनियो । फेरि त्यसरी नै खुल्यो । हामी रुँदैरुँदै बस्यौँ । फिरिरि उज्यालो भएपछि आकासमा हेलिकोप्टर घुम्यो । दुईफेर हेलिकोप्टर आयो । हामी बेस्सरी करायौँ । तर सुनेन । देख्दा पनि देखेन । दिनभरि रुँदैरुँदै बस्यौँ । बेलुकातिर फेरि हेलिकोप्टर आकासमा घुम्यो ।

हामीले आगो फुकेर धुवाँ उँडायौँ । हात हल्लायौँ । अनि हामीमाथि हेलिकोप्टरले कुन्नि के हो, हामी भएको ठाउँसम्मै आइपुग्नेगरी जालीजस्तो खसाल्यो । तर हावाले हल्लाएर समात्न सकेनौँ । पछि फेरि मान्छे पनि झुण्डिएर आए । अनि हामीलाई समातेर जालीभित्र राखे । उनीचाहिँ जालीभन्दा बाहिरै झुण्डिए । हामीलाई भगवान लिन आएजस्तो लाग्यो ।

हामीलाई झुण्ड्याउँदै लग्यो र फिलिममा ओह्राल्यो । त्यहाँ पु¥याएर विस्कुट, चाउचाउ र पानी खान दिए । एकछिनपछि फेरि पछि चुम्लिङमा ल्याएर छोडे । हामीले नयाँ जीवन पाएझैँ लागेको छ । धन्यवाद छ उनीहरु सबैलाई ।’

प्रतिक्रिया दिनुहोस्