
बूढीगण्डकी बाढीमा फसेका ६ सय बढीको उद्धार
बूढीगण्डकी बाढीमा फसेका ६ सयभन्दा बढी नागरिकको उद्धार भएको छ । आइतवारदेखि हालसम्म कुल ६ सय ४८ जनाको उद्धार भएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए ।
‘बिदेशी पर्यटक ४९ जना छन्,’ उनले भने, ‘बाँकी नेपाली हुन् ।’ बाढीले उत्तरी गोरखा जाने पदमार्ग र पुलहरुमा क्षति पु¥याएसँगै सो क्षेत्रमा रहेका नागरिकहरु फसेका थिए । नेपाली सेनाको हेलिकप्टरबाट उनीहरुलाई उद्धार गरिएको उनले जानकारी दिए ।
उनका अनुसार पहिलो दिन आइतवार ९६ जनाको उद्धार भएको थियो । सोमवार ३ सय २१ र मंगलवार १ सय ८६ जनाको उद्धार भएको हो । बुधवार हालसम्म ४५ जनाको उद्धार भइसकेको सहायक प्रजिअ शर्माले बताए । उद्धार कार्यसँगै राहत वितरणको काम पनि भइरहेको उनको भनाइ छ ।
‘यताबाट उद्धार गर्न जाने हेलिले राहतका सामाग्री लाने र उताबाट आउँदा मान्छेलाई उद्धार गरेर ल्याउने गरेको छ,’ उनले भने, ‘राहतका सामाग्री स्थानीय सरकार र सँघसंस्थासँगको समन्वयमा वितरण भइरहेको छ ।’ खाद्यान्न, टेन्ट, म्याट, सिरानी, सिरक, त्रिपाल, सोलार, जेनेरेटर लगायतका राहत सामग्री वितरण भइरहेको शर्माले बताए ।
आरुघाट बजारस्थित कवर्डहलमा राहत सामाग्री संकलन गरेर हेलिमार्फत प्रभावित क्षेत्रमा पु¥याइएको छ । बाढीले सडक सञ्जालसँगै पदमार्ग कटान गरेपछि उद्धार र राहतमा हेलि प्रयोग बाध्यता बनेको छ ।




