
मनास्लु क्षेत्रमा एक महिनापछि खच्चडबाट ढुवानी सेवा सुरु
बिगत एक महिनादेखि मनास्लु क्षेत्रमा बन्द रहेको खच्चडबाट सामान ढुवानी सेवा शुक्रबारदेखि पुन सुरु भएको छ । बाटो मर्मतसम्भार गरेपछि शुक्रबारदेखि खच्चडबाट सामान ढुवानी गर्न थालिएको खच्चड व्यवसायी बिसबहादुर गुरुङले जानकारी दिए ।
गत भदौ २१ गते थेराङ खोला र बूढीगण्डकीको बाढीले नाम्रुङ र सुक्समको पुल लगेपछि मनास्लु क्षेत्रमा खच्चड हिडाउन रोक लगाइएको थियो । बाटो जोखिम र पुलसमेत नभएको भन्दै जिल्लास्तरीय विपद् व्यस्थापन समिति, चुमनुब्री गाउँपालिका तथा मनास्लु संरक्षण क्षेत्र आयोजना(एमक्याप)ले सूचना जारी गरी अर्को सूचना नभएसम्मका लागि पदयात्रा गर्न तथा खच्चड हिडाउन रोक लगाएका थिए ।
पदयात्रा गत भदौ २६ गतेदेखि नै सुचारु भए पनि जोखिमका कारण खच्चडलाई भने रोक लगाइएको थियो । ‘रोक लगाएपछि एक महिनादेखि सामागाउँमा रोकिएका खच्चड लिएर हामी आज बिहान पहिरो पटक पाङसिङ आइपुग्यौँ’, गुरुङले भने, ‘हामी आएपछि पछिपछि अरु धेरै टोली खच्चड पनि आएका छन् । अब त्यसभेगमा खाद्यान्नलगायत दैनिक उपभोग्य सामानको अभाव हुने डर पनि हट्यो ।’
चुमनुब्री गाउँपालिका वडा नं. ६ र ७ चुम क्षेत्रमा भने बर्खाका बेला पनि खच्चड सेवा बन्द नरहेको अर्का कुलमान गुरुङले बताए । सडक सञ्जालले नछोएका चुमनुब्री गाउँपालिकाको वडा नं. १, २, ४, ५, ६ र ७ का दर्जनौँ गाउँबस्तीका बासिन्दाका लागि खाद्यान्न लगायतका दैनिक उपभोग्य बस्तु ढुवानीको एक मात्र माध्यम खच्चड हो । खच्चड हिड्न थालेपछि दैनिक उपभोग्य बस्तुको अभाव हुने डर टरेको उनले जानकारी दिए ।
उत्तरी गोरखाका चुम र नुब्री क्षेत्रमा एकहजार भन्दा धेरै खच्चडबाट खाद्यान्न तथा अन्य विभिन्न उपभोग्य सामान ढुवानी गर्ने गरिन्छ ।




