
तीन महिनामा दुर्गमका सात गर्भवती सुत्केरीको हेलीबाट उद्धार
यो आर्थिक बर्षको तीन महिना नबित्दै दुर्गम भेगबाट सातजना गर्भवती तथा सुत्केरीको हेलिकोप्टरबाट उद्धार गरिएको छ । सडक सञ्जालले नछोएका चुमनुब्री गाउँपालिकाका विभिन्न गाउँबस्तीबाट साउन, भदौ र असोजको दुईसाताभित्र सातजना सुत्केरी तथा गर्भवती महिलाको उद्धार गरिएको प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।
जटिल र जोखिम प्रकृतिका गर्भवती तथा सुत्केरी महिला एवं शिशुको जीवन रक्षाका लागि राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत हेलिकोप्टरबाट निशुल्क उद्धार गरी सुविधासम्पन्न अस्पताल पु¥याउने गरिन्छ । गत आर्थिकबर्ष २०८२/०८३ मा चुमनुब्रीबाट चारजनाको मात्र र धार्चे गाउँपालिकाबाट एक महिलाको मात्र उद्धार गरिएको थियो । चालु आर्थिक बर्षको तीन महिना पनि नपुग्दै सातजनाको उद्धार गरिएको कार्यालयका जनस्वास्थ्य अधिकृत वीरबहादुर श्रेष्ठले जानकारी दिए ।
सो कार्यक्रम सञ्चालन कार्यविधि २०७७ अनुसार साउन ८ गते चुमनुब्री ४ प्रोकबाट छिरिङ खान्डो लामालाई हेलिकोप्टरबाट उद्धार गरी सुरक्षित सुत्केरी गराउन थापाथली प्रसुतीगृहमा पु¥याइएको थियो । त्यस्तै भदौ महिनामा चुमनुब्री ६ बाट एलिसा लामालाई उद्धार गरी सोही अस्पताल लगिएको कार्यालयका जनस्वास्थ्य अधिकृत वीरबहादुर श्रेष्ठले जानकारी दिए ।
त्यस्तै भदौ महिनामै अरु तीनजना गर्भवती तथा सुत्केरी महिलाको पनि उद्धार गरिएको छ । चुमनुब्री ३ का रमिता गुरुङ, सोही ठाउँकै पसनी गुरुङ, सुजता गुरुङलाई पनि हेलिकोप्टरबाट उद्धार गरी थापाथली अस्पताल लगिएको थियो । असोज महिनामा चुमनुब्री २ की लाक्पा डोल्मा र चुमनुब्री ३ की पवित्रा गुरुङलाई उद्धार गरी थापाथली अस्पताल लगिएको कार्यालयले जनाएको छ ।
राष्ट्रपति महिला उत्थान कार्यक्रम सञ्चालन कार्यविधि २०७७ अनुसार ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको सरकारले निशुल्क रुपमा हेलिकोप्टरबाट उद्धार गर्ने गरिन्छ । लगातार लामो प्रश्रव बेथा लागी बच्चा जन्मन कठिनाई भएको, बच्चाको हात खुट्टा वा शरीर पहिला निस्किएर बच्चा जन्मन कठिन भएको, शिशु जन्मेको ३० मिनेटसम्म पनि सालनाल ननिस्केको तथा गर्भमा नै बच्चाको मृत्यु भएको अवस्थाको महिलालाई हेलीबाट यथासीघ्र उद्धार गरी सुविधासम्पन्न अस्पताल पु¥याउने गरिन्छ ।
त्यस्तै गर्भवती महिलाको हात, खुट्टा र शरीर अधिक सुन्निएको, गर्भवती अवस्थामा तथा प्रसूति पछिको अवस्थामा अधिक रक्तश्राव भएमा, सुत्केरी हुने क्रममा उच्च रक्तचाप तथा एक्लम्प्सिया भएमा, पाठेघर फुटेको लक्षण देखिएमा, पाठेघर भन्दा बाहिर बच्चा बसेको शङ्का भएमा, बच्चा जन्मेको २४ घण्टाभित्र बच्चा अत्याधिक निसास्सिएर सास फेर्न गाह्रो भएमा र रक्तअल्पता भएको गर्भवती तथा सुत्केरी महिलालाई निशुल्क हेलिकोप्टरबाट उद्धार गर्ने प्रावधान छ ।
उत्तरी गोरखाको चुमनुब्री सडक सञ्जालले नजोडिएको गाउँपालिका हो । ‘जहाँ एम्बुलेन्सबाट सेवा दिन सकिँदैन, त्यस्तो ठाउँमाचाहिँ हेलिकोप्टरबाट सेवा दिने गरिन्छ’, जनस्वास्थ्य अधिकृत श्रेष्ठले भने, ‘विशेषगरी चुमनुब्री गाउँपालिकाका जोखिम अवस्थाका गर्भवती तथा सुत्केरी यो सेवाबाट लाभान्वित हुने गर्दछन्’, उनले भने, ‘धार्चे गाउँपालिकाको पनि एम्बुलेन्स वा कुनै पनि सवारी साधनबाट सेवा दिन नसक्ने ठाउँमा यो सेवा सञ्चालन गरिन्छ ।’ अघिल्लो बर्ष धार्चेकी एकजना सुत्केरी महिलाको उद्धार गरिएको थियो ।




