
पहिरो खोतल्नुभन्दा वैकल्पिक मार्ग खोल्नु वुद्धिमानी
राजधानी काठमाडौको लाइफलाइन मानिने पृथ्वीराजमार्गको कृष्णभीर पहिरोले समस्याग्रस्त भएपछि सो खण्डको विकल्प हुने गरी गोरखाको क्षेत्रबाट सडक निर्माण भइरहेको छ । पृथ्वीराजमार्गको बेनिघाट, सिउरेनीटार, हिक्लुङघाट, ज्यामिरघाट हुँदै पुनः पृथ्वीराजमार्गको फिस्लिङ जोड्ने गरी गोरखातर्फबाट नयाँ ट्रयाक निर्माण तथा बनिसकेको सडक स्तरोन्नतिको काम भइरहेको हो ।
सँधै पहिरिरहने कृष्णभीरलाई अब धेरै खोतल्नुभन्दा त्रिशुलीपारिको बाटो वैकल्पिक मार्ग खोल्नु नै दीगो र वुद्धिमानी हुनेछ ।
फिस्लिङभन्दा पारिपट्टि गोरखातर्फको पल्लोटारदेखि सिउरेनटारहुँदै फेरि बेनिघाट निस्कने छोटो दुरीको सडकलाई यो समस्याको वैकल्पिक निराकरण मानिन्छ । कुल १९ किलोमिटर दुरीको उक्त सडकको १.२ किलोमिटर नयाँ ट्रयाक खोलेर सडक स्तरोन्नती गर्न लागिएको हो । दुवै योजनाको ठेक्का लागेर काम सुरु भइसकेको छ । दुई वटा प्याकेजमा ठेक्का खुलाएर काम अघि बढाइएको छ ।
अबको एक महिनामा काम सम्पन्न गर्ने गरी काम सुरु भएको छ । दुई लेनको करिव सात मिटर चौडा सडकको ट्रयाक खन्ने काम भइरहेको छ । त्यस्तै करिव ६.५ किमि सडक स्तरोन्नतीका काम पनि कात्तिक ५ गतेभित्र सम्पन्न गर्ने गरी सुरु भइरहेको छ । अहिलेको सडकलाई चौडा बनाएर डवल लेनमा स्तरोन्नती गर्ने लागिएको हो । यो वैकल्पिक सडक बनेपछि कृष्णभीरको समस्या समाधान हुने विश्वास लिन सकिन्छ । यस्तै अन्यत्र पनि क्रोनिक बनेको पहिरोमा खोतलेर झन समस्या थप्नुभन्दा वैकल्पिक मार्ग खोल्नु वुद्धिमानी हुनेछ ।
मुग्लिन–नारायणगढ सडकमा पनि यस्ता समस्याग्रस्त पहिरो धेरै छन् । हिउँदका बेला जतिबेला पहिरोको त्रास हुन्न, त्यतिबेला सोही बाटो हुँदै गाडी गुडे पनि समस्या हुन्न, तर जब बर्खा लाग्छ, तब पहिरो खोतल्दै जोखिम थप्नुभन्दा वैकल्पिक मार्ग अपनाउनु पर्छ ।




