| शनिबार, अशोज १६, २०८३

चुमनुब्रीमा स्याउ टिप्ने सिजन सुरु : एकलाख किलो उत्पादन हुने अनुमान, ढुवानीको समस्या उस्तै

प्रतीक्षा आले ।
जिल्लाको हिमाली भेगका बगैँचामा धमाधम स्याउ टिप्ने सिजन सुरु भएको छ । चुमनुब्री गाउँपालिका ४ नाम्रुङको २६५० मिटर उचाइमा अवस्थित इन गोरखा प्रोडक्ट प्रालिको स्याउ फर्ममा गाला र गोल्डेन डेलिसियस जातको स्याउ टिप्न सुरु गरेको फर्मका सञ्चालक लाक्पा डुण्डुप लामाले जानकारी दिए ।

उनका बगैँचामा गाला, गोल्डेन डिलिसियस र फुजी गरी तीन जातका स्याउ छन् । ‘गाला र गोल्डेन डिलिसियस स्याउ टिप्न सुरु भैसकेको छ । फुजी अहिले पाकेको छैन’, लामाले भने । यसपटक करिब एकलाख किलो स्याउ उत्पादन हुने अनुमान लामाको छ । ‘दुईचार दिन भयो स्याउ टिप्न थालेको, उत्पादन त राम्रो छ तर ढुवानीको समस्या छ’, उनले भने, ‘यहाँ मोटर बाटो छैन, बर्खाले काठेपुल समेत बगाएकोले खच्चडसमेत हिडाउन सकिएको छैन । हेलीमा स्याउ ढुवानी गर्दा हामीलाई फाइदा छैन् । केही दिनमा जसोतसो खच्चड हिँड्ला । खच्चडमा ढुवानी गर्दा २०–२५ प्रतिशत स्याउ खेर जान्छ ।’ किसानलाई सँधै मर्का रहेको उनको भनाइ छ ।

छ बर्षअघि लगाएको उनको बगैँचाका १२ हजार पाँचसय बोटमा स्याउ फलेका छन् । उनले आफ्नो उत्पादनलाई ‘चुमनुब्री स्याउ’ र ‘गोरखा स्याउ’ नामले ब्राण्डिङ गरेका छन् । स्याउको उत्पादन बर्सेनि बढ्दै गए पनि ढुवानीमा समस्या हुने गरेको उनी बताउँछन् । उनी भन्छन्, ‘बजारमा भारत र चीनको स्याउ आइसक्यो तर हाम्रो नेपाली उत्पादन बजारसम्म पुग्न सकेको छैन ।’

२७ सय मिटर उचाइमा रहेको विशाल मनास्लु फर्म तथा लर्निङ सेन्टरका सञ्चालक छिरिङ धार्के लामाले आफ्नो बगैँचामा स्याउ टिप्ने बेला भएको बताएका छन् । चुमनुब्री गाउँपालिका २ ल्होमा रहेको सो बगैँचामा ५ हजार बोट स्याउ लटरम्म फलेका छन् ।
उनको बगैँचामा गाला, फुजी, गोल्डन डेलिसियस लगायत जातका स्याउ छन् । सबै प्रजातिका स्याउ टिप्न सुरु भएको उनले जानकारी दिए ।

उनको सो बगैँचामा बिगत चार बर्षदेखि स्याउ उत्पादन हुन सुरु गरेको हो । उनले आफ्नो बगैँचाको स्याउलाई ‘मनास्लु स्याउ’ नाम दिएर ब्राण्डिङ गरेका छन् । उनले गतबर्ष ६ हजार किलोग्राम स्याउ उत्पादन गरेका थिए । पहिलो बर्ष भने उनको बगैँचामा सातसय किलोग्राम मात्र उत्पादन भएको थियो । उत्पादन वर्षेनी बढ्दै गएको लामाले बताएका छन् ।

‘यसबर्ष ६–७ हजार किलोग्राम उत्पादन हुने अनुमान छ’, लामाले भने, ‘२८ सय मिटर उचाइमा फलेको स्याउ भएकाले यो स्याउ हेर्दा सानो भएपनि निक्कै रातो, स्वादिलो र हेर्दा पनि निकै आकर्षक हुन्छ ।’ ल्होका अन्य स्थानीयहरुले पनि घरायसी प्रयोगका लागि थोरैथोरै स्याउ उत्पादन गर्ने गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्