| शनिबार, अशोज १६, २०८३

पाठेघर मुखको क्यान्सरविरुद्ध खोपबाट कोही वञ्चित हुनु नपरोस्

पछिल्ला बर्षहरुमा पाठेघर मुखको क्यान्सरले धेरै महिलाले जीवन गुमाएका छन् । यो समस्या विश्वव्यापी भएपनि नेपालजस्तो अति कम विकसित मुलुकहरुले धेरै भोग्नु परेको छ । त्यसैले नेपाल सरकारले अन्तर्राष्ट्रसंग सहयोग लिई पाठेघर मुखको क्यान्सरविरुद्धको खोप अभियान सञ्चालन गरेको छ । यो खोप लगाएपछि यो समस्या निदान हुने विश्वास लिन सकिन्छ ।

गोरखा जिल्लाभर १७ सय ६४ किशोरीहरुलाई पाठेघर मुखको क्यान्सरबिरुद्धको एचपिभी खोप लगाइएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाका अनुसार यही असोज ५ गतेदेखि ९ गतेसम्ममा जिल्लाभर उक्त संख्यामा किशोरीहरुलाई एचपिभी खोप लगाइएको हो ।

जिल्लाभर कक्षा ६ मा अध्ययनरत किशोरीहरुलार्ई लक्षित गरी खोप अभियान संचालन गरेको हो । स्कुल नजानेहरुको हकमा भने १० बर्ष उमेर समूहका किशोरीहरुलाई मात्र खोप दिइएको थियो । कार्यालयले लक्ष्यको ९९.८९ प्रतिशत प्रगति हासिल गरेको छ । शहिदलखन गाउँपालिकाका दुईजना किशोरी बिरामी भएर बाहिर गएकाले उनीहरुलाई खोप लगाउन पाइएन । त्यो बाहेक लक्षित उमेर समूहका सबैले खोप लगाएका छन् ।

प्रदेश जनस्वास्थ्य कार्यालयले लक्षित उमेर समूहका विद्यालय जाने १७ सय ५० र विद्यालय नजाने ११ जना बालिकाहरुलाई खोप लगाइएकोे प्रदेश जनस्वास्थ्य कार्यालयको तथ्याकंमा उल्लेख छ । कार्यालयले निजी तथा सामुदायिक विद्यालयमा अध्ययनरत किशोरीलाई विद्यालयमा केन्द्र स्थापना गरी खोप लगाएको थियो । खोप अभियान संचालनका लागि जिल्लाभर एकसय ६८ वटा खोप केन्द्र निर्धारण गरिएको थियो ।

गत वर्ष ६ देखि १० कक्षामा अध्ययन गर्ने र विद्यालय बाहिरका १० वर्ष उमेर समूहका एकहजार आठसय ८५ जनालाई खोप लगाइएको थियो । २०८१ मा अभियानका रूपमा लगाइएको एचपिभी खोप गतवर्ष बाट भने नियमित लगाउन सुरु गरिएको हो ।
खोप सुरक्षित छ । त्यसैले यो खोपबाट सम्बन्धित कोही पनि वञ्चित हुनु नपरोस् ।

प्रतिक्रिया दिनुहोस्