
मौसम खुलेसँगै मनास्लुमा पर्यटकको चहलपहल बढ्यो
मौसम खुलेसँगै उत्तरी गोरखाको मनास्लु क्षेत्रमा पर्यटकहरुको चहलपहल बढेको छ । गत बिहीबारदेखि आइतबारसम्म लगातार परेको वर्षाका कारण मनास्लुमा पर्यटक आवगमन ठप्प बनेको थियो ।
मौसम खुलेसँगै सोमबारदेखि पर्यटकको चहलपहल केही बढेको चुमनुब्री गाउँपालिका ३ फिलिमकी होटल व्यवसायी कुमारी गुरुङले बताइन् । निरन्तर वर्षा र रसुवा बाढीका कारण यो वर्ष मनास्लुमा पर्यटकको दर केही घटेको उनले जानकारी दिइन् । ‘गत वर्ष सेप्टेम्वरमा यहाँ पर्यटकहरु खचाखच हुथ्यो । यो वर्ष त ठप्प जस्तै नै भयो । आजबाट पर्यटकहरुको चहलपहल सुरु भएको छ’, उनले भनिन् ।
मौसम खुलेसँगै चुमनुब्रीबासीहरु वर्षाले बिगारेको बाटो मर्मतमा लागेको चुमुनुब्री गाउँपालिका वडा नं २ ल्होका छिरिङ धार्के लामाले बताए । विशेषगरी मनास्लु सर्किटअन्तरगत पर्ने बाटोघाटो मर्मतको काम भैरहेको उनले जानकारी दिए । लामाका अनुसार सोमबार मनास्लु सर्किटअन्तरगत पर्ने स्याला र ल्होगाउँ बीच बाटो मर्मत गरिएको छ ।
त्यस्तै, लिही र भर्जम गाउँ बीचको बाटो र नाम्रुङस्थित काठेपुल मर्मतको काम भएको स्थानीय छिरिङ धार्केले बताएका हुन् । ‘अस्ति तीनदिन झरी पर्दा पर्यटकले यता आउने पर्मिट पनि आएका थिएनन्, त्यसैले पर्यटकको आवगमन शून्य थियो । आजबाट भने फेरि चहलपहल बढेको छ’, उनले भने । मौसम खुलेसँगै मनास्लु सर्किट पर्यटकको लागि सुरक्षित रहेको उनको भनाई छ ।
मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)ले मौसम पूर्वानुमान महाशाखाको बुलेटिन अनुसार असोज ८, ९ र १० गते ‘मनास्लु क्षेत्र प्रवेश अनुमति पत्र’ जारी गरेको थिएन । मौसममा केही सुधार आएपछि आइतबारदेखि पुनः अनुमति पत्र जारी गर्न थालेको एमक्यापले जनाएको छ । यद्यपि केही स्थानमा सुख्खा पहिरो तथा ढुङ्गा खस्ने जोखिमका कारण पदमार्ग पूर्ण रुपमा सहज नभईसकेको कार्यालयको भनाइ छ ।
एमक्पायले स्थानीय समुदाय, पर्यटक, पदयात्री, पर्यटन व्यवसायी, गाइड, पोटर तथा सरोकारवाला निकायहरुलाई आवश्याक सावधानी र सर्तकता अपनाउन अनुरोध समेत गरेको छ ।




