| आइतवार, अशोज १०, २०८३

चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री

प्रतीक्षा आले
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड गोरखा शाखाले नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरी सहुलियत दरमा चामल बिक्री गर्न सुरु गरेको छ । दशैं–तिहारलाई लक्षित गरी शाखाले चामलमा साविकभन्दा ५ रुपैँया मूल्य घटाएर सहुलियत मूल्यको चामल बिक्री गर्न थालेको खाद्य व्यवस्था कार्यालयकी प्रमुख रञ्जना केसीले बताइन् । कार्यालयको वार्षिकउत्सवको अवसर पारेर साउन २८ गतेबाट नै सहुलियतको चामल बिक्री सुरु गरेको उनले जानकारी दिइन् ।

उनका अनुसार कार्यालयबाट स्टिम जिरा मसिना र अरुवा सोना मन्सुली चामल छुट मूल्यमा बिक्री हुँदै आएको छ । यस वर्षका लागि कार्यालयको सदरमुकामस्थित डिपोमा ३८० क्वीन्टल, सिर्दिबास डिपोका लागि १९० क्वीन्टल तथा बिक्री केन्द्र नामरुङ र चुमलिङका लागि पनि १९०, १९० क्वीन्टल चामल छुट मूल्यमा बिक्री गर्न कोटा निर्धारण भएको थियो ।

जसअन्तरगत सदरमुकामस्थित डिपोबाट अरुवा सोना मन्सुली चामल प्रतिकेजी ६२ बाट घटेर ५७ रुपैँयामा बिक्री भैरहेको छ । यस्तै, स्टिम जिरा मसिनो चामल प्रतिकेजी रु ९२ बाट घटेर ८७ का दरले बिक्री गरिरहेको कार्यालय प्रमुख केसीले बताएकी छिन् ।

खाद्यको सिर्दिबास डिपो तथा बिक्री केन्द्र नामरुङ र चुमलिङबाट भने अरुवा सोना मन्सुली चामल प्रतिकेजी ६५ बाट घटेर ६० र स्टिम जिरा मसिनो चामल प्रतिकेजी रु ९५ बाट घटेर ९० का दरले बिक्री गरिरहेको कार्यालय प्रमुख केसीको भनाइ छ । केसीका अनुसार छुट कोटाको मौज्दात नसकिएसम्म बिक्री केन्द्रहरुबाट सहुलियतको चामल उपलब्ध हुन्छ । छुट कोटाको मौज्दात सकिएपछि भने पुरानै दरमा चामल खरिद बिक्री हुने उल्लेख छ ।

‘छुट कोटामा २५ केजी बोराको अरुवा सोना मन्सुली चामल गोरखामा प्रतिबोरा रु १४ सय २५ र सिर्दिबासमा प्रतिबोरा रु १५०० तथा स्टिम जिरा मसिनो चामल गोरखामा प्रतिबोरा रु २१ सय ७५ र सिर्दिबासमा प्रतिबोरा रु २२ सय ५० मा बिक्री गरिरहेका छौँ’, उनले भनिन्, ‘छुट कोटा सकिएपछि प्रतिकेजी ५ रुपैँया बढि तिरेर बजार मूल्यभन्दा सस्तोमा नै चामल बिक्री वितरण हुन्छ ।’

दशैँ, तिहारलाई लक्षित गरेर कार्यालयले चिनी, दाल, तेल र गेडागुडी समेत बिक्री गर्न लागेको कार्यालय प्रमुख रन्जना केसीले जानकारी दिइन् । ‘केही दिनभित्र चिनी लगायत अन्य खाद्यन्न बिक्री गर्न सुरु गर्छौँ । चिनी प्रतिकेजी ११० रुपैँयामा उपलब्ध हुन्छ’, उनले भनिन् ।

चालु आर्थिक वर्ष २०८३/०८४ का लागि खाद्यको सिर्दिबास डिपो, नाम्रुङ बिक्री केन्द्र तथा चुम्लिङ बिक्री केन्द्रका लागि एक, एक हजार क्वीन्टल चामलको कोटा निर्धारण भएको छ । शाखा कार्यालय गोरखाको लागि भने आवश्यकता अनुसार चामल ढुवानी हुने बताइएको छ ।

कार्यालयको सिर्दिवास डिपोमा हाल सातसय क्वीन्टल चामल मौज्दात रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड गोरखा शाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्