
दाहसंस्कारको मौलिक परम्परा : लास काटेर खोलामा फाल्ने
दरौदी समाचारदाता ः बिभिन्न समुदायमा दाहसंस्कार गर्ने मौलिक परम्पराहरु छन् । गोरखा को हिमालपारि रहेको चुमनुब्री गाउँपालिका ५ बिही र वडा नं. ६ चुम्चेतमा पनि प्राचीन अनौठो चलन कायम छ ।
मृतकको शव काटेर पानीमा फालेर दाहसंस्कार गर्ने अनौठो चलन कायम रहेको वडा अध्यक्ष लोप्साङ फुञ्जो लामा बताउँछन् । ‘लामा गुरुको सुझाव अनुसार दाहसंस्कार गर्छौं’, उनी भन्छन्, ‘लामाले साइत हेरेर माटोमा चढाउनू भनेमा त्यस्तो लासलाई माटोमा गाड्नुपर्छ । कसैलाई आगोमा चढाउनू भन्छन् । त्यस्तो भने यदि भने जलाउनु पर्छ । यदि कसैलाई पानीमा चढाउनू भनेमा काटेर पानीमा फाल्नुपर्छ ।’ पानी ठूलो भएको बेला सग्लो शवलाई पानीमा फाल्ने र खोलामा पानी सानो भएको बेला काटेर सानो सानो टुक्रा बनाएर फाल्ने उनले बताए ।
काट्नु परेमा लास काट्ने काम लामा पुरेतले गर्ने गर्छन् ।
साबिक चुम्चेत गाविसमा चुम्चेत, चुम्लिङ, सिप्चेत, लोक्पा, यार्चु, सिम्जे, प्राङ्गा, खांग्रिङ, खार र ताजु गाउँहरु छन् । साबिक बिही गाविसमा बिही, क्र्याक, ड्याङ, राना गाउँहरु छन् । सबै गाउँमा दाहसंस्कारको प्राचीन परम्परा कायम रहेको स्थानीयबासी बताउँछन् ।
गाउँको ढम्चा खोलामा शव फाल्ने गरेको चुम्लिङका स्थानीय गोपाल लामा बताउँछन् । ‘लामाले पानीमा चढाउने साइत जुरायो भने खोलाको पानीमा चढाउनु पर्छ’, पूर्व गाविस अध्यक्ष समेत रहेका उनी भन्छन्, ‘एकछिन लास खोलाको छेउमा राखेर लामाले पूजा गर्छ अनि पानी सानो छ भने लामाले काट्दै सानोसानो चोक्टा बनाउँदै पानीमा फाल्छ । पानी ठूलो छ भने सिङ्गै फाल्छ ।’
चुम्लिङको ढम्चा खोलामा पोखराको सेती नदीमा जस्तै खोच छ । उनी भन्छन्, ‘ढम्चा खोलामा फालेपछि लास कता पुग्छ, कता पुग्छ । पत्तो हुदैन ।’
धेरैबर्ष पहिले शव काटेर गिद्धलाई खुवाउने चलन थियो । तर गिद्ध बोलाउन सक्ने शक्तिशाली लामाको अभावमा शव फाल्न थालिएको स्थानीयबासीको भनाइ छ । ‘पहिले(पहिले गाउँमा जतिवटा गिद्धले लास खाइसक्थ्यो, त्यति वटा गिद्ध बोलाउन सक्ने लामा थिए तर अहिले गिद्ध बोलाउन सक्ने लामा नै छैनन्’, भूछिमा लामा भन्छन्, ‘त्यसैले चरालाई खुवाउने चलनचाहिँ हरायो । पानीमा फाल्ने चलनचाहिँ हाम्रो गाउँमा अहिले पनि चलिरहेको छ ।’
चुमनुब्री ५ बिहीमा भने लामाका अनुसार नभै मृतकका आफन्तको इच्छा अनुसार दाहसंस्कार गर्ने परम्परा छ भन्छन् वडा अध्यक्ष सोनाम ग्याल्जेन गुरुङ । ‘कसैले आगोमा चढाउन चाहन्छन्, कसैले माटोमा चढाउन चाहन्छन्, कसैले पानीमा चढाउन चाहन्छन्’, उनले भने, ‘जसले जे गरे पनि आफन्तको इच्छामा भर पर्छ । कसैले कर लगाउने होइन ।’




