
मानव सेवामा समर्पित नेपाल रेडक्रस : स्थापनादेखि मानवीय सेवाको यात्रासम्म
राजेन्द्र अर्याल ।
मानवीय पीडा, विपद् र संकटका बेला जात, धर्म, भाषा, लिङ्ग, वर्ग वा राजनीतिक आस्थाभन्दा माथि उठेर पीडितको सेवामा जुट्ने स्वयंसेवी संस्था हो—नेपाल रेडक्रस सोसाइटी। नेपालको मानवीय सेवाको इतिहासमा यसको योगदान उल्लेखनीय छ। हरेक वर्ष भाद्र १९ गते मनाइने स्थापना दिवसले रेडक्रसका सात मानवीय सिद्धान्त र स्वयंसेवी भावनालाई थप स्मरण गराउने अवसर प्रदान गर्दछ।
नेपाल रेडक्रस सोसाइटीको स्थापना ४ सेप्टेम्बर १९६३ अर्थात् वि.सं. २०२० भदौ १९ गते भएको हो। नेपाल सरकार जेनेभा महासन्धिमा आबद्ध भएपछि मानवीय सेवाका लागि राष्ट्रिय रेडक्रस संस्था आवश्यक ठानी नेपाल रेडक्रसको स्थापना गरिएको हो। स्थापना भएको अर्को वर्ष सन् १९६४ मा नेपाल रेडक्रस सोसाइटी अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट महासंघ ९क्ष्ँच्ऋ० को सदस्य बनेको थियो।
रेडक्रसको मूल उद्देश्य मानवीय पीडा कम गर्नु, जीवनको रक्षा गर्नु र संकटमा परेका मानिसलाई भेदभावरहित रूपमा सहयोग गर्नु हो। विपद् तथा संकटमा तत्काल उद्धार तथा राहत, स्वास्थ्य सेवा, प्राथमिक उपचार, रक्तसञ्चार, एम्बुलेन्स सेवा, खानेपानी तथा सरसफाइ, समुदायको क्षमता विकास र मानवीय मूल्यको प्रवर्द्धन यसका प्रमुख कार्यक्षेत्र हुन्।
नेपालजस्तो प्राकृतिक विपद्को उच्च जोखिममा रहेको देशमा रेडक्रसको भूमिका अझ महत्वपूर्ण छ। बाढी, पहिरो, भूकम्प, आगलागी, महामारीलगायतका विपद्का समयमा रेडक्रसका कर्मचारी तथा स्वयंसेवकहरू प्रभावित समुदायमा पुगेर प्राथमिक उपचार, उद्धार, राहत वितरण, अस्थायी आश्रय, खानेपानी तथा अन्य आवश्यक सहयोग उपलब्ध गराउँदै आएका छन्। २०७२ सालको विनाशकारी भूकम्पमा हजारौँ रेडक्रस स्वयंसेवक तथा कर्मचारी तत्काल परिचालित भई प्राथमिक उपचार र राहत सेवामा जुटेका थिए।
स्वास्थ्य सेवातर्फ पनि नेपाल रेडक्रसको योगदान महत्वपूर्ण छ। रक्तसञ्चार सेवा रेडक्रसको पहिचान बनेको छ। रक्तदान अभियान सञ्चालन, रक्त संकलन तथा वितरण, प्राथमिक उपचार र एम्बुलेन्स सेवामार्फत संस्थाले जीवन बचाउने महत्वपूर्ण काम गर्दै आएको छ। आँखा उपचार, स्वास्थ्य शिक्षा, समुदायमा आधारित प्राथमिक उपचार, खानेपानी तथा सरसफाइ र विभिन्न स्वास्थ्य सचेतना कार्यक्रम पनि यसका महत्वपूर्ण गतिविधि हुन्।
रेडक्रसको अर्को महत्वपूर्ण शक्ति भनेको यसको स्वयंसेवक सञ्जाल हो। विद्यालय तथा समुदायमा रहेका जुनियर तथा युवा रेडक्रस सर्कलदेखि जिल्ला शाखा, उपशाखा र स्थानीय तहसम्म फैलिएको स्वयंसेवी संरचनाले विपद्को समयमा तत्काल परिचालन हुन सक्ने आधार तयार गरेको छ। पछिल्लो तथ्याङ्कअनुसार नेपाल रेडक्रससँग देशभर ७७ जिल्ला शाखा, हजारौँ स्थानीय इकाइ र ठूलो स्वयंसेवक सञ्जाल रहेको छ।
आज जलवायु परिवर्तनका कारण बाढी, पहिरो, डुबान, खडेरी तथा अन्य विपद्को जोखिम बढिरहेको छ। यस्तो अवस्थामा विपद् आएपछि मात्र राहत पुर्याउनेभन्दा विपद् पूर्वतयारी, जोखिम न्यूनीकरण, समुदायको क्षमता विकास र पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउनु आवश्यक छ। यस दिशामा रेडक्रसले समुदायसँग सहकार्य गर्दै अघि बढ्नुपर्ने आवश्यकता अझ बढेको छ।
नेपाल रेडक्रसको स्थापना दिवस केवल एउटा संस्थाको जन्मदिन मात्र होइनस यो मानवता, स्वयंसेवा र परोपकारको भावना पुनःस्मरण गर्ने दिन पनि हो। रेडक्रसको शक्ति यसको भवन, साधन वा संरचनामा मात्र होइन, संकटमा परेका मानिसको साथमा निस्वार्थ रूपमा उभिने स्वयंसेवकको सेवाभावमा निहित छ।
६ दशकभन्दा लामो यात्रामा नेपाल रेडक्रसले नेपाली समाजमा मानवीय सेवाको बलियो आधार निर्माण गरेको छ। आगामी दिनमा यसको सेवा अझ पारदर्शी, विश्वसनीय, प्रभावकारी र समुदायकेन्द्रित बन्दै जाओस्। मानवताको सेवामा समर्पित रेडक्रसको यात्रा अझ सशक्त बनोस्—स्थापना दिवसको यही शुभकामना।
(लेखक नेपाल रेडक्रस सोसाइटी सिरानचोक साखाका संयोजक तथा उपसाखा गाँखुका सभापती हुनुहुन्छ ।)




