
यातायातको सिण्डिकेट : दिउसै बजारमा कुटिए व्यवसायी
गोरखकाली यातायात प्रालिका अध्यक्ष ताराबहादुर खड्का(जीवन) जिल्ला सदरमुकाममै कुटिएका छन् । विभिन्न तीनवटा यातायात व्यवसायीहरुले आइतबार दिउसो दुईबजेतिर हरमटारीमा आफूमाथि कुटपिट गरेको पीडित खड्काले जानकारी दिए ।
‘म निवासतिर जाँदै थिएँ । मोटरसाइकलमा फलो गर्दै आएर ३०–४० जनाको समूहले ममाथि आक्रमण गरे’, खड्काले भने, ‘हेर्दा उनीहरु गोरखा मनकामना यातायात प्रालि, गोरखा दरौंदी यातायात प्रालि र पृथ्वी राजमार्ग बस सञ्चालक प्रालिका व्यवसायी र मजदुहरु थिए ।’
अटो र म्याजिक भ्यान नचलाउन चेतावनी दिँदै बजारबासीकै सामु कुटपिट र लछारपछार गरेको उनको भनाइ छ । ‘कसैको मुखबाट तैले किन अटो र म्याजिक भ्यान चलाउन पाउँ भनेर अदालतमा मुद्दा दिएको भन्ने सुनेँ । कसैले किन तैले हामीमाथि मुद्दा दिएको भन्ने सुनेँ । मोटरसाइकलमा हिँडिरहेका बेला ममाथि अपशव्द प्रयोग गर्दै कसैले हेलमेटले हाने कसैले लडाएर घिसारे’, उनले भने, ‘अहिले म जिल्ला प्रहरी कार्यालयमा शरण लिन आइपुगेको छु ।’ सिण्डिकेटको पक्षधरबाट बजारभित्रै दिनदहाडै यसरी आक्रमणमा हुँदा आफू ठूलो अन्यायमा परेको उनको गुनासो छ ।
सोही समूहले गोरखकाली यातायात प्रालिका अर्का सदस्य राजन ढुंगानामाथि पनि आक्रमणको प्रयास गरेका थिए । ‘बिहान नौ बजेतिर म पसलमा बसिरहेका बेला गोरखा मनकामना यातायात व्यवसायी प्रालिका मान्छेहरु मेरो पसल अगाडी आएर आक्रमणको तयारी गरिरहेको थाहा पाएँ । अनि म जिल्ला प्रहरी कार्यालयमा फोन गरेर प्रहरी बोलाएँ अनि पसल थुनेर उनीहरुको सुरक्षा लिएर घरमा गएर लुक्न सफल भएँ’, उनले भने ।
गोरखा मनकामना यातायात व्यवसायी प्रालिका अध्यक्ष सुरेन लामिछानेले व्यक्तिगत रिसिवी र लेनदेनको कारण कुटिएको हुनसक्ने तर्क गरे । ‘हाम्रो कसैमाथि कुटपिट गर्ने नीति छैन । हाम्रा व्यवसायीले होइन होला’, उनले भने, ‘आपसी लेनदेनको कुरा नमिलेर हो कि अथवा अरु नै व्यक्तिगत कारणले कुटेका होलान् ।’ आफ्ना व्यवसायीले कुटेको भए पहिचान भएपछि कारबाही गर्ने उनले बताए ।
गोरखकाली यातायात प्रालिले गोरखा सदरमुकाम लगायत आरुघाट तथा अन्य विभिन्न क्षेत्रमा अटो र म्याजिक सञ्चालनको प्रक्रिया अघि बढाएको थियो । सोही प्रक्रिया रोक्न बस, माइक्रो तथा ट्याक्सी सञ्चालन गर्ने तीन व्यवसायी कम्पनीहरुले आफूहरुमाथि आक्रमण गरेका पिडितहरुको गुनासो छ ।




