| मङ्लबार, साउन ११, २०८३

खैँजडी थन्क्याइयो, मादल झिकियो

गुरुङ, मगरहरुको बाक्लो बस्ती रहेको सहिद लखन गाउँपालिका वडा नं. ३ नेभारे(पुरानो सिलिङ)मा लगालग दुईरात, दुई दिनसम्म कौरा लगाइयो । गोरखा, तनहूँ र चितवनका मगर, गुरुङहरुको बाक्लो बसोबास रहेका गाउँबस्तीहरुबाट विभिन्न ४९ वटा समूहले आ–आफ्ना मौलिक कौरा प्रदर्शन गरे ।

स्थानीय कालिका युवा क्लव र निभारे(पुरानो सिलिङ) महिला समूहले संयुक्त रुपमा आयोजना गरेको सो कौरा प्रदर्शन कार्यक्रममा गोरखाका नेभारे, सानो दिप्लिङ, ठूलो दिप्लिङ, बेतेनी, कुसुमपानी, करनटार, दार्सिङ, तनहूँका नारीघाट, च्यूरीबास तथा चिवतनका विभिन्न टोलहरुबाट सहभागी भएका थिए ।

आयोजकले सो अवसरमा घाँटुभोज पनि आयोजना गरेको थियो । सो कार्यक्रममा गत वैशाख पूर्णिमादेखि सुरु गरिएको यो बर्षको घाँटु नाचलाई समापन गरिएको थियो । ‘घाँटु विसर्जन गरेपछि अब खैँजडी समापन भयो । मादल सुरु भयो’, कार्यक्रमको अगुवाइ गरेका गायक कलाकार पृथ्वी गुरुङले भने, ‘बैशाख पूर्णिमादेखि सुरु भएको कौराको समापन भयो । अब मादल सुरु भयो । अथवा कौराको सिजन सकियो । अब झ्याउरे, मारुनी, ख्याली, सोरठीको सिजन सुरु भयो ।’

पुरानो परम्पराअनुसार वैशाख, जेठदेखि सुरु भएको चुट्काको समापन भएसंगै अब दशैं, तिहार तथा हिउँभरि मादल बनाएर झ्याउरे, मारुनी, सोरठी, ख्याली लगायतका नाच नाचिने उनले बताए । खैजडी समापन तथा घाँटुभोज कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष अमर विरही गुरुङ, ठाडोभाकाका महानायक वुद्धिमान(धम्बु) दुरा, कलाकारहरु कुसुम गुरुङ, सामियाँ गुरुङ, पविन गुरुङलगायत पनि सहभागी थिए ।

पुस्तौँदेखि चलिआएको परम्परागत संस्कृति, आपसी सद्भाव र सामाजिक एकतालाई थप मजबुत बनाउने उद्देश्यले घाँटुभोज कार्यक्रमको आयोजना गरिएको आयोजक संस्थाका महासचिव अमित गुरुङले जानकारी दिए ।

‘पुस्तौँदेखि चलिआएको घाँटु नाचको परम्परालाई संरक्षण गर्दै नयाँ पुस्तामा संस्कृति हस्तान्तरण गर्ने उद्देश्यले घाँटु नाच सम्पन्न भएपछि परम्पराअनुसार घाँटु भोज आयोजना गरिएको हो’ उनले भने, ‘विगत बर्षहरुमा जस्तै यो बर्ष पनि ठूलो संख्यामा नाच टोलीहरु सहभागी थिए । यसले स्थानीय मौलिक संस्कृति संरक्षणका साथै समुदाय बीचको एकता, सहकार्य र भाइचारालाई अझ सुदृढ बनाउन महत्वपूर्ण योगदान पुग्नछ ।’

प्रतिक्रिया दिनुहोस्