
धार्चेमा स्वास्थ्य बिमा सम्बन्धी अभिमुखिकरण, पालिकाका सबै नागरिकहरुलाई बिमा कार्यक्रममा आवद्ध गराइने
पालिकाभर जम्मा २० प्रतिशत नागरिकहरुमात्र स्वास्थ्य बिमा कार्यक्रममा आवद्ध रहेको धार्चे गाउँपालिकामा बिमा सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको सबै नागरिकहरुलाई सरकारको स्वास्थ्य बिमा कार्यक्रममा आवद्ध गराउने उद्देश्यसहित अभिमुखीकरण कार्यक्रम गरेको पालिकाको स्वास्थ्य शाखा प्रमुख अमृतबहादुर घलेले बताए ।
धार्चे गाउँपालिकाको आयोजना, प्रदेश जना स्वास्थ्य कार्यालय गोरखाको समन्वय तथा स्वास्थ्य बिमा बोर्ड जिल्ला कार्यालय गोरखाको प्राविधिक सहयोगमा कार्यक्रम भएको उनले जानकारी दिए । बिमा बोर्डका अनुसार कुल १४ हजार २६३ जनसङख्या रहेको धार्चे गाउँपालिकामा जम्मा २० प्रतिशत अर्थात दुईहजार ९५६ जना मात्र सरकारको स्वास्थ्य बिमा कार्यक्रममा आवद्ध छन् । तीमध्ये एकहजार ७२१ महिला र बाह्रसय ३४ जना पुरुष रहेका छन् ।
पालिकाका बिमा दर्ता सहयोगीहरु निश्क्रिय रहेका कारण अधिकांश नागरिकहरु स्वास्थ्य बिमा कार्यक्रममा आवद्ध हुन नसकेको स्वास्थ्य शाखाका अमृत घलेले बताएका छन् । उनका अनुसार पालिकाको वडा नं २ केरौँजा, वडा नं ५ गुम्दा र वडा नं ७ लापूवेशीमा मात्र दर्ता सहयोगीहरु छन् । गाउँपालिकाले सबै वडामा दर्ता सहयोगी नियुक्त गरेर स्वास्थ्य बिमा कार्यक्रममा सबै नागरिकहरुलाई आवद्ध गराउने लक्ष्य लिएको उनको भनाई छ ।
‘गाउँपालिका अन्तरगत सबै वडाका वडाअध्यक्षहरु, दर्ता सहयोगी एवं पालिकाका स्वास्थ्यकर्मीहरुलाई अभिमुखीकरण दिएका छौँ’, घलेले भने, ‘पालिकाबासीलाई आधारभुत तथा अत्यावश्यक स्वास्थ्य सेवा पािलकाभित्रै उपलब्ध गराउने विषयमा पनि कार्यक्रममा छलफल भएको थियो ।’ धार्चे आधारभुत अस्पताललाई स्वास्थ्य बिमाको सेवा बिन्दु बनाउने प्रयत्न समेत भैरहेको घलेले बताएका छन् ।
धार्चे गाउँपालिकाको अध्यक्ष लक्ष्मण गुरुङको अध्यक्षतामा भएको अभिमुखीकरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सुनिला गुरुङ, प्रमुख प्रशासकिय अधिकृत बुद्धिराम बस्नेत, स्वास्थ्य बिमा बोर्ड जिल्ला कार्यालय गोरखाका प्रमुख रमेश घिमिरे लगायतको उपस्थिति रहेको थियो ।




