
धार्चेको नौलीखोला मोटरेबल पुल उद्धघाटन
उत्तरी गोरखाको लाइफलाइन मानिने बेनिघाट–आरुघाट–लार्के सडकखण्डअन्तर्गत धार्चे गाउँपालिका–७ स्थित नौली खोला मोटरेबल पुल उद्धघाटन भएको छ । आइतबार गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले एक कार्यक्रमका बीच पुलको उद्धघाटन गरेका हुन् ।

गण्डकी प्रदेश भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत विनियोजित बजेटबाट पूर्वाधार विकास कार्यालय गोरखामार्फत निर्माण सम्पन्न भएको उक्त पुल उत्तरी गोरखा जोड्ने मुख्य संरचना हो । पुल निर्माण सम्पन्न भएसँगै उत्तरी गोरखा पुग्ने स्थानीय तथा आन्तरिक एवं बाह्य पर्यटकलाई वर्षभर सवारी आवागमनमा सहज हुने धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले बताएका छन् ।

पुल संचालनमा आएसँगै उत्तरी क्षेत्रमा वर्षभर सवारी आवागमन सहज हुनुका साथै दूरी छोटिने र उत्तरी गोरखाबासीले चर्को भाडा तिरेर खाद्यान्नलगायत सामग्री ढुवानी गर्नुपर्ने अवस्था अन्त्य हुने अध्यक्ष गुरुङको भनाई छ ।

Photo : Raj Gorkhali
नौली खोला पुल निर्माणका लागि २०७९ साउन २३ गते सूर्यदय कन्स्ट्रक्सन कम्पनी प्रालिसँग चार करोड ३४ लाख ७५ हजार ३५९ रुपियाँ लागतमा ठेक्का सम्झौता भएको पूर्वाधार विकास कार्यालय गोरखाले जनाएको छ । २०८१ साउन २२ गते पुल निर्माण सम्पन्न गर्नुपर्ने सम्झैँता भए पनि २०८३ साउन २२ गतेसम्मका लागि पुनः म्याद थप गरिएको थियो ।
३५ मिटर लम्बाई र ८.४० मिटर चौडाइको उक्त पुल प्रिस्ट्रेस प्रविधिमा निर्माण भएको छ । निर्माण कम्पनीले केही दिनअघि मात्र पुल निर्माणको काम सम्पन्न गरेको कार्यालयको भनाई छ ।




