
बौद्ध समाजमा बोँन सांस्कृतिक परम्पराको प्रभाव
लेविन्द्र गुरुङ । म जन्मँदै बौद्ध र उनी जन्मनासाथ इसाई भएको होइन । हामी जन्मेपछि हाम्रा परिवारहरूले आ–आफ्नो सांस्कृतिक परम्पराअनुसार कर्म गराइएपछि अनायासै धर्म धारण गरिएको हो । नेपालका ब्राह्मण–क्षेत्रीहरू हिन्दू र तामाङहरू स्वतः बौद्ध भएको देखिन्छन् ।
आजभोलि मानिसहरू आफू परिस्कृत भइरहेका छन् भन्ने सन्देश दिन धर्म परिवर्तन गर्ने गरेको पनि पाइन्छ; अन्यथा परिवारले मानेको धर्म अङ्गीकार गर्नुको विकल्प थिएन। बौद्ध धर्मले चार आर्यसत्य र दुःख निवारणको उपायका रुपमा अष्टाङ्गिक मार्ग प्रतिपादन गरी निम्न मूलभूत सिद्धान्तहरूलाई आधार मान्दछ ।
पहिलो, आत्मालाई नित्य नमान्नु । बौद्ध दृष्टिकोणअनुसार मन र आत्मा अलग होइनन्; मन परिवर्तनशील हुन्छ र बाह्य तथा आन्तरिक कारणहरूले प्रभावित हुन्छ, मृत्यु पश्चात् कुनै स्थायी आत्मा बाँकी रहँदैनभन्ने मान्यता राखिन्छ । दोस्रो, ईश्वरको अस्तित्वलाई स्वीकार नगर्नु । बौद्ध धर्ममा मानिस आफैं आफ्नो मालिक हो, अर्थात् आफ्नो कर्मको जिम्मेवार स्वयं हुन्छ । तेस्रो, कुनै पनि ग्रन्थलाई स्वतः प्रमाण नमान्नु, सबैले आ–आफ्ना धर्मग्रन्थलाई स्वतः प्रमाण मान्ने गर्छन्—जस्तै हिन्दुहरुले वेदलाई, मुस्लिमहरूले कुरानलाई र इसाईहरूले बाइबललाई तर बौद्धले कुनै पनि लिखतलाई स्वतः स्वीकार गर्दैनन्, तर्क र अनुभवको प्रमाण खोजिन्छ ।
चौथो, जीवन प्रवाहलाई यसै शरीरसम्म सीमित मान्नु । यो शरीर, चेतना र विभिन्न अवस्थाहरूको संयोजन मात्र हो, शरीर समाप्त भएपछि त्यो विशेष जीवनको अनुभव र प्रवाह पनि अन्त्य हुन्छ भन्ने मान्यता छ । आधारभूत सिध्दान्तसंग कसैमा दुविधा छैन, त्यसोभए किन र कसरी विकास भयो बौद्ध धर्म दर्शनका अनेकौं सम्प्रदायहरु ? यसरी अनेकौं सम्प्रदायमा विभाजन हुनाका कारणहरु बुद्धको महापरिनिर्वाणपछि उनका उपदेशहरूलाई बुझ्ने र व्याख्या गर्ने क्रममा भिक्षुहरूमा देखिएका मतभेद नै हुन, जसले गर्दा मूलतः ७३३९;स्थवीर७३३९; (परम्परावादी) र ७३३९;महासांघिक७३३९; (परिवर्तनकारी) गरी दुईधारमा छुट्टियो ।
पहिलो थेरवाद (हिनयान)ः बुद्धको मूल शिक्षामा आधारित, भिक्षु जीवन र व्यक्तिगत मुक्तिमा विश्वास, जुन श्रीलंका, म्यानमार, थाईल्याण्डमा लोकप्रिय छ । दोश्रो महायानः सबै प्राणीको मुक्तिका लागि बोधिसत्व मार्ग अपनाउने, बुद्धलाई भगवानको रूपमा लिने र सरल मार्ग अपनाउने, जो चीन, जापान र कोरियामा प्रचलित छ । त्यसपछि महायानको अर्को विकसित रूप, वज्रयान र तन्त्रयान जसमा तन्त्र–मन्त्र र साधनालाई विशेष जोड दिइन्छ, यो नेपाल र तिब्बतमा लोकप्रिय छ । जव चीनमा बौद्ध धर्मभित्र जेन र जापनमा सिन्टो विकसित भए त्यसैगरी नेपालका त झन, हरेक समुदायमा फरकफरक तरिकाले बौद्ध धर्म दर्शनलाई अपनाउन थाले ।
तिब्बतमा बौद्ध धर्म प्रवेश गर्नुभन्दा अगाडि प्रकृतिपूजा र जीववादमा आधारित बोँन धर्म प्रचलनमा थियो । यो दर्शनमा प्रकृति, आत्मा, ऊर्जा र ब्रह्माण्डबीचको शक्तिमा विश्वास गरिन्छ। यिनीहरू पूर्वजन्म र पुनर्जन्मको धारणा अनुसार मन्त्र र बलिद्वारा पूजा गर्दछन्। बौद्धहरुले शाक्यमुनि वुद्धलाई जस्तै तिव्वत शङशुङ प्रान्तका बोँन्पोहरूले तोन्प शेनरबलाई मान्नुका साथै बल्सेलाई देवता पुकार्छन् ।
आठौँ शताब्दीमा श्रङचङगोम्पोको नाति ठिसों देत्सेनले बौद्ध धर्मलाई जनताको बीचमा पु¥याउनका लागि कश्मिरबाट अनन्त र ज्ञानेन्द्रलाई निम्त्याए तर बोँनहरूको विरोध सहन सकेनन् । त्यसपछि अर्का विद्वान शान्तारक्षितको प्रयास पनि ठूला–ठूला अनिष्ट र प्राकृतिक प्रकोपका कारण असफल भयो । अन्ततः नालन्दा महाविहार तथा भारतको उड्डियानका महान तान्त्रिक आचार्य वज्रगुरु पद्मसम्भवले सबैले मान्दै आएको प्राकृतिक बोँन धर्मका मान्यताहरूलाई आत्मसात गर्दै त्यसैमा समिश्रण गरी वज्रयानी बौद्ध धर्मको सूत्रपात गराए।
बौद्ध धर्मलाई राजकीय धर्म बनाउने सिलसिलामा तिब्बतमा पहिलोपटक सम्ये गुम्बा बनाउन थालियो । उक्त गुम्बा बनाउँदा विभिन्न विघ्न–बाधाहरू आइपरेकाले स्थिति शान्त पार्न पद्मसम्भवले मुस्ताङको चराङदेखि पश्चिमपट्टि मराङ गाउँमा लो–गेकर गुम्बा निर्माण गरेपछि भोटको सम्ये गुम्बा सन् ७५१ मा बनाउन सफल भएको मानिन्छ (हेर्नुहोस्ः गण्डकी प्रस्रवण क्षेत्रको सांस्कृतिक सम्पदा, प्राज्ञ डा. जगमान गुरुङ)।
नेपालकै मुस्ताङ जिल्लामा लामा बौद्धका निङम, काग्यु, गेलुग्पा र बोँन्पोहरुको पनि ऐतिहासिक गुम्बाहरु भएकाले यिनीहरू फरकफरक र अन्तरसम्वन्धित देखिन्छन् । जस्तै लामा बौद्धहरु दक्षिणावर्त गरेर घुम्ने र बोँन्पोहरु वायाँवर्त गरेर घुम्ने गर्दछन् त्यसैगरी आफ्नो ग्रन्थहरू पढदै जाँदा लामाहरु ग्रन्थका ठेलीहरु पढिसकेको पन्ना पछाडि राख्दछन भने बोँन्पोहरु पढेको पन्ना आफैँपट्टि राख्दछन् । लामाहरु ७त्रगयत;ऊँ मणिपद्मे हूँ७त्रगयत; र बोँन्पोहरु ७त्रगयत;ऊँ मत्रिमुये सलेदू७त्रगयत; भनी मन्त्र वाचन गर्छन र बौद्धहरुले वोधिसत्व जस्तै उनीहरु स्वस्तिकसत्वलाई मान्दछ (उही, प्राज्ञ डा.जगमान गुरुङ) ।
तिब्बतका काग्यु र गेलुग्पाहरु ध्यान, साधना, सन्यास (भिक्षु) र गुम्बा पद्दतीलाई पूर्णता माने तापनि निङमहरु गृहस्त जीवनमा सक्रिय रहन्छन् । जोमसोङबाट उत्तरतर्फ कालीगण्डकी किनारमा लुव्राग गाउँको शिरमा लुव्राग बोँन्पो गुम्वा छ । बाह्रौ शताव्दीमा बनेको यो गुम्वा थकालीको पुरोहित ट्होम, गुरुङको पुरोहितहरु क्लेवृ र पच्युका लागि प्रसिद्ध छ र उनीहरु कालोबोँन परम्पराका पुरोहितहरु भएकाले लुव्रागलाई आफ्नो गुरुघर र तिर्थस्थलको रुपमा मान्दछन् । जीवनमा एकपटक गुरु मान्न लुव्राग जानुपर्ने र गुरु मानेपछि लुव्रागलाई टुप्पी काटेर चढाउनु पर्ने परम्परा छ ।
यसरी टुप्पी काटेर चढाएपछि भिक्षुव्रत लिईरहनु नपर्ने धारणा छ । यी कारणहरुले गर्दा पुरोहितहरु गृहस्त जीवनमा आएका रहेछन भन्ने वुझिन्छ । अर्को उपल्लो मुस्ताङको ठिनी गुम्वा हो । अहिले लामा बौद्ध धर्मका निङम सम्प्रदायमा परिणत भए
तापनि गुम्वाको गर्भगृहमा स्थापित वोँन धर्मका बल्से देवताको मूर्ती राखिएको छ । तिब्बतीहरु र नेपालका हिमाली समुदयाका शेर्पा, भोटे, मनाङ्गे र तामाङहरुको धार्मिक सांस्कृतिक विधिहरु एउटै छ भने थकाली र गुरुङहरुको सांस्कृतिक परम्परा प्रकृतिवादी र धर्म बौद्धसंग जोडिएको छ ।
गुरुङको क्लेपृ र पच्यु, थकालीको ट्होमको विधिविधान बोँन परम्पराको छ भने तामाङ लामा र गुरुङ लामाको विधिहरु
लामा बौद्ध परम्परासंग सम्बन्धित छ । अन्य जनजातिहरुमा डोल्पो, वालुङ, लोपा र लेप्चासम्मलाई यस्तै परम्परासंग जोडेर हेरिन्छ । लिच्छवीकालमा अंशुवर्मापछि नरेन्द्रदेवको पालमा चीनिया पदयात्री वाङ युयानचेले युपग्राम (ललितपुर) भएर भारतका सम्राट हर्षवद्धनलाई कासया वस्त्र चढाउन जाँदा नेपाल मण्डलमा दुईहजार जना बौद्ध भिक्षुहरु भएको तथ्य इतिहासमा पाईन्छ ।
नेपालकी छोरी भृकुटीको विबाह श्रङचङगोम्पोसंग हुँदा बुद्धको मुर्ति लिएर गएको र त्यस मुर्तिलाई पोतला दरवारको अगाडि मन्दिर बनाएर राखिएको, उक्त मन्दिर अहिले पनि जोखाङ नामले प्रसिद्ध छ (हेर्नुस; चीन, तिव्वत र नेपाल, बाबुराम आचार्य) ।
तिब्बतीहरुले गुरु रिन्पोछेको आगमनपछि मात्र बौद्ध धर्म अंगालेका थिए भने नेपालमा चन्द्रगुप्त मौर्यको नाती सम्राट अशोकले आफ्नो उतार्धकालमा सम्पूर्ण सामथ्र्य बौद्ध धर्म प्रचारमा लगाएका थिए र छोरी चारुमतिको विवाह नेपालकै राजकुमार देवपालसंग गराई चारै दिशामा चार चैत्य बनाई फर्केका थिए भन्ने विश्वास गरिन्छ (हेर्नुस; भिक्षु व्यापार र विद्रोह, सुधीर शर्मा) । नेपाल खाल्डोका नेवारहरुले बौद्ध विहारवाट ज्ञान विद्या हासिल गर्ने परम्परा हो ।
आदिवासी जनजातिहरूमा, विशेषतः नेवारी समाजमा, धर्मभन्दा संस्कृति बलियो रहेको देखिन्छ । उनीहरूको धर्म मठमन्दिरमा सीमित नभई घर समाजमै गडेकोले उनीहरुको पूजारी पनि भिक्षु नभएर गृहस्त शाक्य, बज्रचार्यहरु छन् । नेपाल मण्डलबाट भोटमा व्यापारिक कोठी खोलेर वसेदेखि नेवारहरुका ठूलो जमात तिब्बती बौद्धसंग पनि जोडिन पुग्यो । आज पनि काठमाण्डौका हरेक मठ मन्दिरहरुमा बौद्ध विधि र परम्परा अनुसार नै पूजा गर्ने गरेकाले हिन्दु भित्र बौद्ध परम्परा भन्न सकिन्छ ।
चौथो शताव्दीमा स्थापना भएको स्वयम्भु महाचैत्यसंगै किराती राजाको मुर्ती र यक्षणी अथवा अजिमालाई सबैले विभिन्न अवतारको रुपमा पूजा गरिनुले काठमाडौंका नेवार भित्रै पनि किरातहरु रहेछन् भन्ने देखिन्छ । यहाँ सबैभन्दा बलियो र मिल्ने पक्ष धूप–दीप बाल्ने, अबिर–केशरी घस्ने, प्रसाद चढाउने, घण्टी बजाउने र पीठलाई परिक्रमा (कोरा घुम्ने) गर्ने परम्पराले बोँन, बौद्ध, हिन्दू वा किरातहरूको धार्मिक सहअस्तित्व कायम रहेकोले छुट्टै नेपाली पहिचान भेटिन्छ ।
यसरी सांस्कृतिक परम्पराको बन्धनले धर्मलाई जोडिराख्ने सवालमा अलमल नभई बौद्धहरू अगाडि नै रहनेछन्, २५७० औँ बुद्ध जयन्तीको शुभकामना ।




