| मङ्लबार, बैशाख १४, २०८३

भूकम्पको ११ वर्ष बितिसक्दा पनि दलितको मुद्दा छिनोफानो भएन, बारपाकका दलित समुदायको अझै पनि टहरामै बास

प्रतीक्षा आले ।
आजभन्दा ११ वर्षअघि जिल्लाको बारपाक केन्द्रबिन्दु बनाएर ७.८ म्याग्निच्युटको भूकम्प गएको थियो । भूकम्पमा परी देशभर आठ हजार ९६२ जनाको मृत्यु भयो । यस्तै, २१ हजार ९५२ जना घाइते भएको तथ्याङ्कले देखाउँछ । गोरखा भूकम्पका रुपमा समेत चिनिने २०७२ बैशाख १२ गतेको भूकम्पको केन्द्रबिन्दु जिल्लाको बारपाक सुलिकोट गाउँपालिका १ र २ को बारपाक गाउँ अहिले सुविधासम्पन्न भएको छ ।

बारपाकीले पहिलाको मौलिक ढुङ्गाको छाना, माटोको गारो भएका घरहरुलाई विस्थापित गरेर आधुनिक डिजाइनको आरसिसी घरहरु निर्माण गरेका छन् । हाल बारपाकमा मौलिक घरहरु देख्न पाइन्न । गाउँको गल्लीहरु हिँड्दा पोखरा शहरको कुनै टोलमा हिडिरहेको अनुभुति हुन्छ । एकैठाउँमा झुरुप्प परेका घरहरु भएको बस्तीभन्दा केही तल छ बारपाकको गैरीगाउँ अर्थात दलित बस्ती । बारपाकको सौन्दर्यमा मन्त्रमुग्ध हुने जो कोहीले त्यही मुनि खोल्साको छेउको दलित बस्तीमा भने नजर लाउन छुटाइरहेका हुन्छन् ।

करिब २१ घरधुरी रहेको उक्त दलित बस्तीले भूकम्प गए यताको ११ वर्ष टहरोमा बिताउँदै आएको हो । ‘कति त्रिपाल फाटे, कति छानो फेरियो तर हाम्रो अवस्था कहिल्यै फेरिने भएन’, स्थानीय ५८ वर्षकी मैती सुनारले भनिन् । मैतीका श्रीमान कान्छा कामीको गत वर्ष ७० वर्षको उमेरमा अस्थाई टहरामै मृत्यु भयो । मैतीलाई अब आफ्नो बस्तीको मुद्दाछिनोफानो लाग्ला कि भन्ने आशा पनि छैन । ‘यत्रो वर्ष भैसक्यो, कति नेता आए, गए तर हाम्रो समस्या बुझ्ने कोही भएन । अब त के नै होला र जस्तो लाग्छ’, मैतीले भनिन्, ‘भुईचालो आउनु अघि गाउँमा हामीले भर्खर भर्खर आँगन छापेको घर बनाएका थियौँ । आफ्नै शौचालय थियो । त्यो सबै भत्कियो, गाउँ पनि पुरै भासिन्छ भनेर यहाँ भुपडीमा बस्न आको यहीँको यहीँ भैयो । बुढा पनि बिते, म पनि अब यहीँ बित्छु होला ।’

दलित बस्तीका युवा मंगलबहादुर सुनारले आफूहरु एउटै सानो झुपडीमा ९–१० जना बस्न बाध्य रहेको गुनसो गरे ।
यहाँको दलित बस्तीमा आवासको मात्र नभएर खानेपानी तथा शौचालयको पनि समस्या छ । २१ घरधुरीका ५० बढी बासिन्दा एउटा साझा शैचालय प्रयोग गर्न बाध्य छन् । यसले विशेषगरी महिला तथा बालिकाहरु प्रभावित बनेका छन् । स्थानीय अमृता विक, आयुषा विक र दिपासा विक बस्तीमा साझा शौचालय प्रयोग गर्नुपर्दा निकै समस्या भोग्नु परेको बताउँछन् । ‘हामी महिलाहरुलाई त धेरै समस्या छ । शौचालय निकै फोहोर हुन्छ । झनै महिनावारी भएको समयमा त एकदमै गाह्रो हुन्छ हामीलाई’, १९ वर्षकी अमृता विकले भनिन् ।

२०७२ सालको भूकम्पले बारपाकका एघारसय घरधुरी क्षणभरमै ढले । गाउँका ७२ जनाको मृत्यू भयो । बाँचेकाहरु पनि महिना दिनसम्म चहुरमा, बारीका गरामा बास बसे । डाँडागाउँ, गैरीगाउँ, कोटडाँडा टोलका ४१ घरधुरी बिक समुदाय कृषि र पशु कार्यालयको नाउँमा रहेको जग्गामा आएर अस्थायी टहरो बनाएर बसे । १४ घरधुरी फेरि आ–आफ्नै थातथलोमा फर्किए ।
डाँडागाउँ, गैरीगाउँ टोलका २७ घरधुरीको पुरानो थलो पहिरिएर राङरुङखोलासम्म पुग्यो । फर्किन सक्ने अबस्था नभएपछि उनीहरुले आफ्नो घरघडेरीको लालपूर्जा सरकारलाई बुझाए र सट्टापट्टा गरी सोही सरकारी जग्गा आफ्नो नाउँमा ल्याउन पहल थाले । पहल गरेको ११ बर्ष बितिसक्दा पनि अझै सफल हुन सकेको छैनन् ।

राज्यको हरेक निकायमा दलित, भूमिहीन समुदायलाई प्राथमिकतामा राखेर सेवा सुविधा दिइन्छ, तर भूकम्पको केन्द्रविन्दू बारपाककै दलित समुदायको भने भूकम्प गएको पहिलो दिनदेखि ११ बर्ष बितिसक्दासम्म टहरोकै बास छ । यहाँको दलित समुदायका अगुवा सुकबहादुर बिक दलित समुदायलाई बास माग्दै १०० पटक भन्दा बढी सिँहदरबार धाएका छन् । उनी भन्छन्, ‘१० बर्षमा त जनयुद्ध पनि वारपार भएको थियो तर, यो दलित बस्तीलाई पुनस्थापना गर्ने लडाइ १० बर्षसम्म भइसक्यो, प्रगति छैन । एउटा पार्टी सरकारमा आउँदा जिल्लासम्म पत्राचार गर्छ । फेरि अर्को पार्टीको सरकार आउँछ, अनि सबै फाइल गायब बनाइदिन्छन् ।’

हाल सरकारी निकायले आफूहरुलाई छिट्टै मुद्धाको छिनोफानो हुने आश्वसन दिएको उनले जानकारी दिए । ११ वर्ष यता सरकारी आश्वसन बाहेक केही नपाएको उनले गुनासो गरेका छन् । ‘गत वर्ष सिडियो कार्यालयले २४ थान त्रिपाल उपलब्ध गराएको थियो, त्यसैले जसोतसो वर्खा कटायौँ । अस्तिको हावाहुरीले गर्दा एक रात सुत्न सकेनौँ । त्यस्ता अनिन्द्र रातहरु कति भए, भए ।’ अदालतको निर्णय आफूहरुको हकमा आउनेमा उनी थोरै आशावादी छन् ।

प्रतिक्रिया दिनुहोस्