| बिहिबार, बैशाख १६, २०८३

धार्चे र चुमनुब्रीका सबै वडामा हेपाटाइटिसविरुद्धको खोप जरुरी

गोरखाका उच्च पहाडी भूभाग, विशेषगरी चुमनुब्री र धार्चे गाउँपालिकामा बसोबास गर्नेहरुमा हेपाटाइटिस बीको संक्रमण अत्याधिक देखिएको छ । वैदेशिक रोजगारीमा जाने क्रममा स्वास्थ्य जाँच गराउँदा त्यस भेगका धेरैमा हेपाटाइटिसको समस्या देखिएको हो । सो रोगको संक्रमणका कारण धेरै जना वैदेशिक रोजगारीमा जानबाट बञ्चितसमेत हुने गरेका छन् ।

गोरखाका दुर्गम गाउँहरुमा हेपाटाइटिस बी संक्रमणको अबस्था भुसको आगो जस्तो बनेको छ । जसरी भुसको आगो बाहिर देखिँदैन, तर भित्रभित्र खरानी बनाइसकेको हुन्छ, त्यसैगरी दुर्गम गाउँहरुमा हेपाटाइटिसले भित्रभित्र धेरैलाई संक्रमित बनाइसकेको छ, तर बाहिर सबैजना सकुशल जस्ता देखिएका छन् ।

अहिले तत्काल यसको लक्षण नदेखिन सक्छ, तर यसले मृगौला खाइसकेको हुनसक्छ । अन्तिममा अबस्था जटिल भइसकेपछि मात्र थाहा हुन सक्छ । त्यतिबेला ढिला भइसकेको हुन्छ, पछुताउनु शिवाय अरु निरुपाय हुनसक्छ । हेपाटाइटिस रोग एचआईभी भन्दा १० गुना बढि संक्रामक छ । यो पनि यौन संपर्क, वीर्य, रगत, ¥याल, पसिना, आँसु, पेटभित्रका रसहरू, रगतको माध्यम र रोगी आमाबाट जन्मेका बच्चाहरूमा सर्छ ।

समयमै पत्ता लगाएर रोकथाम गर्नुपर्ने हो, तर यहाँ शंकास्पद व्यक्तिहरु स्वयं चेकजाँच गराउन पनि जाँदैनन, बिभिन्न क्रममा परीक्षण गराउँदा पोजेटिभ देखियो भने पनि लुकाउने चलन छ, जुन घातक छ । कतिपयमा हेपाटाइटिस सी समेत देखिएको छ, जुन हेपाटाइटिस बी भन्दा पनि खतरनाक हुन्छ ।

बुबा आमामा यो समस्या भएपछि सन्तानमा पनि वंशानुगतअनुसार सरेर जाने हुँदा यो समस्या ज्यादै चर्कोगरी देखिएको छ ।
यसप्रति गम्भीर ध्यानाकर्षण गरी किमोलुङ फाउण्डेशनले केही बर्षअघि चुमनुब्री गाउँपालिकाका विभिन्न वडाहरुमा खोप शिविर सञ्चालन गरेको छ । यसलाई धार्चेका सबै वडाअन्तर्गतका गाउँबस्तीहरुमा पनि हेपाटाइटिस बी विरुद्धको खोप अभियान सञ्चालन गर्नु जरुरी देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्