| बिहिबार, बैशाख १६, २०८३

चुल्हो बाल्न परनिर्भरता त्यागौँ

खाडी मुलुकहरूमा चर्किएको युद्ध र त्यसका कारण खल्बलिएको आपूर्ति शृङ्खलाले यतिबेला विश्वव्यापी ऊर्जा संकट निम्त्याएको छ । नेपाल जस्तो पूर्णतः आयातित इन्धनमा निर्भर मुलुकका लागि यो संकट थप कष्टकर बनेको छ । अहिले ग्याँस डिपोहरूमा रित्ता सिलिण्डर बोकेर उपभोक्ताहरू घण्टौँ लाइनमा बस्न विवश छन् । सरकारले ‘आधा सिलिण्डर’ ग्याँस वितरण गरेर तत्कालको समस्या टार्न खोजे पनि यो दीर्घकालीन समाधान भने पक्कै होइन ।

विदेशी भूमिमा युद्ध हुँदा नेपालीको भान्छा प्रभावित हुने यो विडम्बनापूर्ण अवस्थाले हामीलाई एउटै पाठ सिकाएको छ– भान्छामा परनिर्भरताको अन्त्य अब अनिवार्य छ । नेपाल जलविद्युतमा आत्मनिर्भरतातर्फ उन्मुख भइरहेको अवस्थामा ग्याँसको अभाव झेल्नु आफैँमा विरोधाभासपूर्ण छ । आयातित ग्याँसको साटो स्वदेशी विद्युतको प्रयोग बढाउनु अहिलेको आवश्यकता मात्र नभई बाध्यता पनि हो ।

ग्याँसको तुलनामा विद्युतीय चुल्हो पाउन सजिलो मात्र नभै सस्तो, सुरक्षित र वातावरणमैत्री पनि छ । सरकारले विद्युत महसुलमा सहुलियत दिने र घरघरमा भोल्टेजको सुधार गर्ने हो भने यसको प्रयोग व्यापक बन्न सक्छ । घाम लाग्ने ठाउँहरूमा ‘सोलार कुकर’ जस्ता प्रविधिको प्रयोग गरेर दिउँसोको खाना पकाउन सकिन्छ, जसले ग्याँसको खपत उल्लेख्य घटाउँछ । ग्रामीण र अर्ध–शहरी क्षेत्रमा पशुपालन र जैविक फोहोरबाट निकालिने बायोग्याँसलाई पुनः प्राथमिकतामा राख्नुपर्छ ।

ग्याँसको लाइनमा जनतालाई राखेर आधा सिलिण्डर बाँड्नु सरकारको सफलता होइन । सरकारले अब ‘प्रत्येक घर, विद्युतीय चुल्हो’को अभियानलाई युद्धस्तरमा अगाडि बढाउनुपर्छ । विद्युतीय उपकरण आयातमा कर छुट दिने, विद्युतको गुणस्तर सुधार्ने र नागरिकलाई सचेत गराउने कार्यमा ढिलाइ गर्नु हुँदैन ।

उपभोक्ताले पनि ‘ग्याँस नै चाहिन्छ’ भन्ने मानसिकता त्यागेर उपलब्ध वैकल्पिक उपायहरू अपनाउन ढिला गर्नु हुँदैन । विदेशी ग्याँसमा डलर खर्चिएर पराईको युद्धसँग डराउनुभन्दा स्वदेशी विजुली बालेर स्वाभिमानी बन्नु नै आजको बुद्धिमानी हो ।

प्रतिक्रिया दिनुहोस्