| सोमवार, कार्तिक ९, २०८३

मुख्य निर्वाचन अधिकृतको कार्यालयद्वारा निर्वाचनका कार्यक्रमहरु सार्वजनिक

जिल्लामा हालै स्थापना भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले यही फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनसम्बन्धी विभिन्न कार्यक्रमहरु सार्वजनिक गरेको छ । आइतबार बसेको सरोकारवाला निकायहरुको बैठकमा कार्यालयलले निर्वाचन सम्बन्धी कार्यक्रम सार्वजनिक गरेको हो ।

जसअन्तरगत यही मंगलबार (माघ ६ गते) जिल्लाको दुवै निर्वाचन क्षेत्रका उम्मेद्वारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम रहेको छ । मंगलबार बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उम्मेद्वारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम रहेको जिल्ला निर्वाचन कार्यालय गोरखाले जनाएको छ । सोही दिन बेलुका ५ बजेदेखि ७ बजेसम्म मनोनयनपत्र दर्ता भएका उम्मेद्वारको सूची प्रकाशन गर्ने कार्यक्रम रहेको जिल्लाको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायधिस विष्णुप्रसाद गौतमले बताए ।

माघ ७ गते बुधबार दिउँसो १० बजेदेखि ३ बजेसम्म उम्मेद्वारको बिरोधमा केही उजुरी भए सो उजुरी दिने कार्यक्रम रहेको गौतमले जानकारी दिए । ‘बुधबार दिउँसो ३ बजेदेखि ५ बजेसम्म उम्मेद्वार बिरुद्ध परेका उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने कार्यक्रम छ’, उनले भने, ‘बिहिबार (माघ ८ गते) दिउँसो पनि उम्मेद्वारहरु बिरुद्धको उजुरीबारे निर्णय गरेर सोही दिन ५ बजेदेखि ७ बजेसम्ममा उम्मेद्वारको नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ ।’

माघ ९ गते शुक्रबारको दिन बिहान १० बजेदेखि १ बजेसम्ममा उम्मेद्वारको नाम फिर्ता लिने, दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेद्वारको अन्तिम नामावली प्रकाहन गर्ने र दिउँसो ४ बजेदेखि बेलुका ७ बजेसम्ममा उम्मेद्वारहरुलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको जिल्लाका मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायधिस विष्णुप्रसाद गौतमको भनाइ छ ।

निर्वाचन सम्बन्धी कार्यक्रम बारे जानकारी दिन आइतबार बसेको सरोकारवाला निकायहरुको बैठकले विभिन्न ७ बुँदे निर्णय समेत गरेको छ । बैठकले प्रत्यक्ष निर्वाचनतर्फ हुने उम्मेदवारी दर्तालाई व्यवस्थित गर्न सबै सरोकारवाला निकायहरुले आवश्यक समन्वय तथा सहकार्य गर्ने निर्णय गरेको छ । उम्मेदवारी मनोनयनका क्रममा आवश्यक पर्ने सुरक्षा व्यवस्थापन मिलाउन सबै सुरक्षा निकायहरुलाई समन्वयात्मक रुपमा परिचालन गर्ने निर्णय बैठकले गरेको छ ।

यस्तै, निर्वाचनका क्रियाकलापलाई व्यवस्थित गर्न सबै सम्बन्धित निकायहरुले सूचना समन्वय कार्यलाई प्रभावकारी रुपमा अगाडि बढाउने तथा माघ ६ गते हुने उम्मेदवारको मनोनयनका लागि जिल्लामा राजनैतिक दलहरु र स्वतन्त्रबाट आपसी समन्वयमा पालैपालो मनोनयनका लागि सम्बन्धित निर्वाचन क्षेत्रको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जाने निर्णय भएको छ ।

बैठकले निर्वाचनलाई असर गर्ने कुनै खालको गतिविधि भएको जानकारी भएमा एवं सूचना प्राप्त भएमा मुख्य निर्वाचन अधिकृत/निर्वाचन अधिकृतको कार्यालय÷जिल्ला निर्वाचन अधिकारीलाई प्रमाणसहित यथाशीघ्र जानकारी दिने निर्णय गरेको छ । यस्तै, निर्वाचनलाई स्वच्छ, निष्पक्ष एवं मित्रवत प्रतिष्पर्धात्मक बनाउन सम्बन्धित एवं सरोकारवालाले आ–आफ्नो क्षेत्रबाट आवश्यक सहयोग, सहकार्य, समन्वय र सद्धाव कायम गर्ने निर्णय भएको छ ।

यसैगरी, प्रतिनिधि सभा सदस्य निर्वाचनमा लागू हुने/भएका विभिन्न ऐन, नियम, निर्देशिका, आचार संहिता, परिपत्र र निर्देशनहरु सम्पूर्ण राजनीतिक दल, पत्रकार, सुरक्षा निकाय, निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन अधिकृतको कार्यालय, नागरिक समाज तथा सम्बन्धित कार्यालयका कर्मचारीहरुले अक्षरश पालना गर्ने निर्णय बैठकले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्