
चिनियाँ सरकारद्वारा अर्ब लगानीमा सिँजाली माविको भवन बन्दै
चिनियाँ सरकारद्वारा एक अर्बभन्दा धेरैको लगानीमा सिँजाली माविको अत्याधुनिक सुविधा सम्पन्न भवन निर्माणको काम धमाधम अघि बढिरहेको छ । एक बर्षअघिबाट निर्माण कार्य सुरु गरिएको सो भवनको अहिलेसम्म करिब ६० प्रतिशत काम सम्पन्न भइसकेको प्रधानाध्यापक बलनारायण श्रेष्ठले जानकारी दिए ।
‘स्ट्रक्चरजति बनिसकेको छ’, प्रअ श्रेष्ठले भने, ‘अब फिनिसिङको काम बाँकी छ । यसरी भन्नुपर्दा अहिलेसम्म करिब ६० प्रतिशत काम सम्पन्न भएको छ ।’ अर्को बर्षको मंसीर ४ गते भवन हस्तान्तरण गर्ने सम्झौताअनुसार काम अघि बढिरहेको उनले बताए । ‘आज मंसीर ४ गते भयो, अब अर्को बर्षको मंसीर ४ गते भवन हस्तान्तरण गर्ने सम्झौतापत्रमा उल्लेख छ’, उनले भने ।
चिनियाँ प्राविधिक र चिनियाँ कामदारले निर्माण गरिहेको एउटा भवन चारतले, अर्को तीनतले रहेको उनले बताए । ‘दुबैमा गरेर २४ वटा कोठा रहेका छन्’, उनले भने, ‘स्थानीय कामदार पनि छन्, अरु जिल्लाबाट आएका कामदार पनि छन् । विशेषगरी चिनियाँ प्राविधिक र चिनियाँ कामदारले नै काम गरिरहेका छन् ।’
एकअर्ब भन्दा धेरैको लागतमा विद्यालय भवन निर्माण हुने भनी १२ बर्षअघि नेपाल सरकारसंग सम्झौता भएको थियो । ‘अनुमानित १ अर्ब लाग्छ भन्ने सुनेको मात्र हो, तर कति रुपैयाँ लाग्छ भन्ने कुरा हामीलाई उनीहरुले भनेका छैनन्’, प्रअ श्रेष्ठले भने, ‘भवनको प्रत्येक तल्लामा सुविधासम्पन्न सेमिनार हल, कम्प्युटर प्रयोगशाला, विज्ञान प्रयोगशाला, पुस्तकालय हुने भनिएको छ । अहिले त ठूलाठूला हलजत्रा कोठाहरुमात्र बनेका छन् ।’ विद्यालयमा दुईवटा गेट, कक्षाकोठा, प्रयोगशाला, खेलमैदान, छात्रबास बन्नेछन् ।
सन् २०१३ मा चिनियाँ विदेशमन्त्री नेपाल भ्रमणमा आएका बेला गोरखालगायत १० जिल्लामा अत्याधुनिक सुविधासम्पन्न विद्यालय भवन निर्माण गर्ने सम्झौता भएको थियो । सोही सम्झौताअनुसार गोरखाको सिँजाली मावि छनौट भएको हो । सम्झौता भएको ढिला गरी सन् २०२४ देखि भवन निर्माणको काम सुरु भएको हो । सो विद्यालयमा २२० भन्दा धेरै विद्यार्थी र २० जना शिक्षक कर्मचारी कार्यरत रहेका छन् ।




