| शुक्रबार, बैशाख १७, २०८३

अश्राङको वनभरि श्रीलंकाको श्रीखण्ड

प्रतीक्षा आले।
भीमसेनथापा गाउँपालिका वडा नं ६ अश्राङका वन जङ्गल श्रीखण्डका रुखले भरिएका छन् । ५० बर्षअघि लाहुरेले श्रीलंकाबाट ल्याएको श्रीखण्डको बिउले अहिले थाकलडाँडा सामुदायिक वन सजाएको थाकलडाँडा उपभोक्ता समूहका अध्यक्ष विकास लामिछानेले बताए ।

लामिछानेका अनुसार गाउँमा पहिलो पटक २०३२ सालमा स्थानीय राम पाण्डेले श्रीलंकाबाट श्रीखण्डको बिउ भित्र्याएका थिए । ‘उहाँ शान्तिसेनामा श्रीलंका जानुभएको थियो, उता थुप्रै श्रीखण्डका बोटहरु देखेपछि आफ्नो घरगाउँमा पनि हुन्छ कि भन्ने सोचेर बिउ ल्याउनुभएछ’, उनले भने, ‘गाउँको राम पाण्डेका काका श्याम पाण्डेले ती बिउहरु जमाएर दुई, तीन बोट श्रीखण्ड हुर्काउनु भएको थियो ।’ श्याम पाण्डेले हुर्काएको श्रीखण्डको बोटहरुमा फल लाग्न थालेको केही वर्षपछि गाउँका जङ्गलहरुमा त्यही श्रीखण्ड जस्तै देखिने बिरुवाहरु देखा पर्न थालेको लामिछानेले बताए ।

श्रीखण्ड भन्ने नचिनेर ‘सुरु सुरुमा त हामीले नयाँघाँस उम्रेछ भन्दै गाईबस्तुलाई खुवायौँ । केही बोटहरु हुर्किएर काठ पनि बनेका थिए तर हामीले नचिनेर घरको धुरी हाल्न पनि प्रयोग ग¥यौँ । पछि श्याम काकाको बारीको श्रीखण्ड र जङ्गलमा हुर्किएको नयाँ रुखहरु एउटै एउटै हो कि भन्ने लागेर जाँच गरायौँ । नभन्दै, हामीले गाईबस्तुलाई खुवाएको घाँस श्रीखण्डको पो रहेछ ।’ जङ्गलमा हुर्किएका नयाँ रुखहरु श्याम पाण्डेको घरमा भएको श्रीखण्ड जस्तै भएकाले श्रीखण्ड नै हो भन्ने प्रमाणित भएपछि सामुदायिक वन समूह श्रीखण्डको संरक्षणमा लागेको उनले जानकारी दिए ।

थाकलडाँडा वन उपभोक्ता समूह विगत १० वर्षदेखि श्रीखण्डको संरक्षणमा लागेको छ । हाल वनको बुलबुले पाखा, सादखोला र जलजला पाखाको ३.९४ हेक्टर क्षेत्रफलमा झन्डै आठसय बोट श्रीखण्ड रहेको वनका अध्यक्ष विकास लामिछानेको भनाइ छ ।
वन बिउ प्रयोगशाला हात्तिसार काठमाडौँका वन अधिकृत लालबाबु झाले श्रीखण्ड (सेमी प्यारासाइटिस प्लान्ट) अर्थात खानाका लागि अरुमा निर्भर हुने प्रजाति रहेको बताए । ‘श्रीखण्डले आफू नहुर्कदासम्म कुनै अर्को बिरुवालाई ‘होस्ट प्लान्ट’ बनाएर उक्त बिरुवाबाट खाना लिन्छ । श्रीखण्ड हुर्किएपछि भने अरु बिरुवाको सहयोग बिना नै बाँच सक्छ’, उनले भने । श्रीखण्ड चिसो हावापानीमा भन्दा तातो हावापानीमा छिटो हुर्कने उनले जानकारी दिए ।

अश्राङमा पहिला रोपेका श्रीखण्डको फल चराहरुले खाएर वनमा दिसा गर्दा नयाँ श्रीखण्डको बिरुवाहरु वन क्षेत्रमा फैलदै गएको हुनसक्ने डिभिजन वन कार्यालय गोरखाका प्रमुख मदन मोहन शाण्डिल्यले बताए । ‘श्रीखण्डले ४ देखि ५ वर्षबाट फुल्न र फल दिन थाल्छ । अश्राङको हकमा पहिला श्रीलंकाबाट ल्याएका बोटहरुले फल दिन थालेपछि त्यसलाई विभिन्न चराहरुले खानाको रुपमा प्रयोग ग¥यो । चराहरुले फल खाएर वन क्षेत्रमा दिसा गर्दा दिसाको माध्यमबाट त्यस क्षेत्रमा श्रीखण्डको बिरुवा फैलिन गएको हुनसक्छ’, उनले भने । अश्राङको श्रीखण्डले चिलाउने, आँप र ससाना पात, पतिङ्गरहरुलाई होस्ट बनाएर हुर्किएको उनले जानकारी दिए । डिभिजन वन कार्यालयले स्थानीय वन उपभोक्ता समितिसँग समन्वय गरेर श्रीखण्ड भएको क्षेत्रका लागि छुट्टै कार्ययोजना बनाएर श्रीखण्डको संरक्षण तथा व्यवस्थापन गर्दै आएको उनको भनाइ छ ।

श्रीखण्डको विश्व बजारमा माग बढि रहेको छ । यो औषधीय गुणको भएको हुँदा विभिन्न औषधी तथा कस्मेटिक सामग्री उत्पादनमा यसको प्रयोग गरिएको पाइन्छ । साथै मूर्ति मालाहरु समेत बनाइन्छ । यसको खासगरी महंगा पर्फुम, पाउडर लगायतका कस्मेटिक समाग्री, औषधिहरु निर्माणमा यसको प्रयोग हुन्छ । हिन्दू परम्परा अनुसार यसको प्रयोग शुद्ध वस्तुको रूपमा चन्दनको प्रयोग गरिन्छ ।

एउटा श्रीखण्डबाट रोपेको १५ वर्षमा उत्पादन लिन सकिन्छ । यसले रोपेको४ देखि ५ वर्षबाट फुल्न र फल दिने गर्दछ । यसबाट विरूवा प्रसार गर्न र विउ विक्री गर्न सकिन्छ । यसको १५ वर्षपछि उत्पादन लिँदा यसको चुरो पसेको काठ करिव १५ किलो देखि २५ किलोसम्म उत्पादन दिन्छ तर ढिलो गरी बाली काट्ने हो भने यसको उत्पादन बढ्दछ ।

प्रतिक्रिया दिनुहोस्