| सोमवार, अशोज १९, २०८२

छोप्राकका बरामको कतारमा मृत्यु, शव नेपाल ल्याइदिन अनुरोध

गोरखाको सिरानचोक गाउँपालिका–५ छोप्राक कटहरबारीका मनोज बरामको कतारमा मृत्यु भएको छ । वैदेशिक रोजगारीका लागि विगत १२ वर्षदेखि कतारमा रहेका बराम गत शनिबार राती सुतिरहेको अवस्थामा मृत फेला परेका वडासदस्य गोलबहादुर बरामले बताए ।
४२ वर्षका बरामले केही वर्षदेखि उच्चरक्तचापको औषधी सेवन गर्दै आएका उनले जानकारी दिए । ‘त्यहाँ शनिबार बिदा हुने रहेछ । त्यो दिन साथी भाईहरुसँग खानपिन गरेर सुतेको थियो, बिहान उठ्दै उठेन’, वडाअध्यक्ष बरामले भने, ‘रातको दुईबजेसम्म श्रीमती पबित्रा बरामसँग कुराकानी भएको थियो रे । त्यसपछि बिहान उठ्दै, नउठेपछि साथीभाइहरुले हेर्दा ओछ्यानमा मृत अवस्थामा फेला पारेछन् ।’ बरामको एक छोरा र एक छोरी रहेको उनले बताए ।

उनको आर्थिक अवस्था समेत कमजोर रहेकाले मृतकको शव नेपाल ल्याउन हालसम्म कुनै पहल नभएको वडासदस्य बराम बताउँछन् । ‘उनको आर्थिक अवस्था निकै कमजोर छ । घरमा बुबा र भाइ पनि अपाङ्ग हुनुहुन्छ त्यसैले शव नेपाल ल्याउन हालसम्म कुनै पहल भएको छैन’, उनले भने । मृतकको शव छिटोभन्दा छिटो नेपाल ल्याउनुपर्ने माग परिवारको रहेको वडासदस्य गोलबहादुर बरामको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्