| आइतवार, कार्तिक २९, २०८३

दुर्गममा खाद्य डिपो माग

सडक सञ्जालले नजोडिएको चुमनुब्री गाउँपालिका ४ नाम्रुङमा खाद्य डिपो स्थापना गर्न जिल्ला खाद्य व्यबस्था समितिले माग
गरेको छ । सम्भव भएसम्म डिपो थप गर्नुपर्ने, नसके माछाखोलामा रहेको डिपोलाई नाम्रुङमा सार्न नेपाल खाद्य संस्थानसंग माग गरिएको समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईले बताए ।
नेपाल खाद्य संस्थानले २०३९ सालमा माछाखोलामा र २०४६ सालमा सिर्दिबासको फिलिममा डिपो स्थापना गरेको थियो । स्थापना भएदेखि माछाखोला डिपोबाट तीनहजार क्वीण्टल र फिलिम डिपोबाट दुईहजार क्वीण्टल चामल विक्री बितरण हुदै आएको छ ।
तत्कालीन अबस्थामा राखिएको फिलिम डिपो ५२ कोश टाढा पर्ने तिब्बतको सीमानामा रहेका गाउँबाट पायक नपर्ने भएकाले नाम्रुङमा स्थापना गर्न सिफारिस गरिएको प्रजिअको भनाइ छ । ‘सामागाउँ, ल्हो, प्रोकबाट फिलिम डिपोसम्म चामल लिन आउन दुई दिन पैदल हिड्नु पर्छ’, प्रजिअ भट्टराईले भने, ‘नाम्रुङमा डिपो
राखियो भने सुदूर उत्तरका बासिन्दाका लागि थोरै भएपनि
राहत हुनेछ भन्ने निश्कर्षमा पुगेर संस्थानमा माग गरी पठाएका छौं ।’ तीनवटा डिपो राख्न नसक्ने हो भने माछाखोलाको डिपो नाम्रुङमा सार्न मौखिक सिफारिस गरिएको उनले बताए ।
नेपाली सेनाले निर्माण गरिरहेको बेनिघाट, आरुघाट लार्के सडक माछाखोलासम्म पुगेकाले सो ठाउँको डिपोको बारेमा बिकल्प सोच्न सकिने उनले बताए ।
माछाखोला डिपोमा पुगेको तीनहजार क्वीण्टल चालम केरौंजा, काशिगाउँ, उहिया, खोर्ला, गुम्दा, लापुबेशीका बासिन्दाले ढुवानी सहुलियतको चामल पाइरहेका छन् । फिलिम डिपोमा पुग्ने दुईहजार क्वीण्टल चामल साबिक सिर्दिबास, चुम्चेत, छेकम्पार, बिही, प्रोक, ल्हो र सामागाउँ गाविसका बासिन्दाले ढुवानी सहुलियतको चामल पाउने गरेका खाद्य संस्थान गोरखाका प्रमुख मोहन बजगाईँले जानकारी दिए ।
५२ कोश टाढा रहेको सामागाउँ, ल्हो, प्रोकका बासिन्दा सो चामल लिन नआउने स्थानीयबासी बताउँछन् । फिलिमसम्म पुग्न सामागाउँ, ल्होे, प्रोकबाट दुई दिनसम्म लाग्ने गर्छ । कोटाको थोरै चामल लिन लामो बाटो हिडेर गाउँलेहरु नजाने सामागाउँका वडा सदस्य मिङ्मार लामा बताउँछन् । ‘एकजनाको भागमा १५ किलो, २० किलो पर्छ । त्यति चामल लिन दुई दिनको बाटो हिडेर कोही पनि जाँदैनन्’ उनले भने, ‘नाम्रुङसम्म हो भने गाउँलेहरु जानसक्छन् ।’
साबिक चार गाविसको बीचमा पर्ने हुँदा नाम्रुङमा डिपो राख्न पहिलेदेखि नै पहल गरेको तर सरकारले सुनुवाई नगरेको वडा नं. २ ल्होका वडाअध्यक्ष पेम्बारेता लामा बताउँछन् ।
‘धेरै पहिलेदेखि नै नाम्रुङमा एउटा डिपो राखिदिनु भनेर जिल्लामा भनिरहेका थियौं, अहिलेसम्म सुनुवाई भएको छैन ।’
माछाखोला डिपोबाट केरौंजा, काशिगाउँ, उहिया, खोर्ला जस्ता बिकट ठाउँका बासिन्दा लाभान्वित भएको भन्दै सो ठाउँको डिपो सार्न नहुने स्थानीय धनकुमार गुरुङको भनाइ छ ।
नाम्रुङमा डिपो थप गर्न अतिआबश्यक रहेको तर माछाखोलाको डिपो हटाउन नहुने उनको राय छ । खाद्य संस्थानले माछाखोलाबाट साबिकका काशिगाउँ, केरौंजा, गुम्दा, उहिया, लाप्राक क्षेत्रका उपभोक्तालाई प्रतिकिलो ४५ रुपियाँका दरले चामल विक्री वितरण गरिरहेको छ । फिलिम डिपोबाट प्रतिकिलो ४८ रुपियाँका दरले चामल उपलब्ध हुदै आएको छ । सो डिपोबाट साबिक सिर्दिबास, चुम्चेत, छेकम्पार, बिही, प्रोक, ल्हो र सामागाउँ गाविसका बासिन्दालाई चामल उपलब्ध गराउँदै आएको खाद्य संस्थान प्रमुख चापागाईंले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्