
आँबुखैरेनी गाउँपालिकाद्वारा चेपाङ समुदायका बालबालिकालाई निःशुल्क शिक्षा
तनहुँको आँबुखैरेनी गाउँपालिकाले पालिकाभित्रका चेपाङ समुदायका बालबालिकाहरुलाई निःशुल्क शिक्षा प्रदान गर्दै आएको छ । चेपाङ समुदायका विद्यार्थीहरुलाई गाउँपालिकाले खाना र बस्नका लागि मासिक रु पाँच हजार सहयोग गर्दै आएको पालिकाकी शिक्षा शाखा प्रमुख निर्मला कुवँरले बताइन् ।
गाउँपालिकाभित्रका २४ सामुदायिक विद्यालयमध्ये २२ मा पूर्ण तहमा निःशुल्क शिक्षा उपलब्ध छ । रामशाह र मित्रता माविमा कक्षा पाँचसम्म पूर्ण निःशुल्क छ भने कक्षा छदेखि माथि नेपाली माध्यम निःशुल्क भए पनि अङ्ग्रेजी माध्यममा शुल्क लिइन्छ ।
पालिकाको वडा नम्बर ५ खोला गाउँका अमृत प्रजाले गाउँपालिकाको छात्रवृत्तिमा कक्षा १२ पास गरेका छन् ।
उनलाई २०८१ सालमा आँबुखैरेनीको रामशाह माध्यमिक विद्यालयमा कक्षा १२ सम्म पढ्नका लागि गाउँपालिकाले आर्थिक सहयोग गरेको थियो । अमृत प्रजा लगायत दर्जनौँ चेपाङ विद्यार्थीहरुलाई पालिकाले छात्रवृत्तिमा पढाउँदै आएको आबुँखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमान बताउँछन् ।
पालिकाले चेपाङ, भुजेललगायत सीमान्तकृत समुदायमा शिक्षाको पहुँच विस्तार गर्ने नीति लिएको उनले जानकारी दिए । यस्तै, छात्रवृत्ति प्रणालीलाई प्रभावकारी बनाउने र विकास प्रक्रियामा सीमान्तकृत समुदायको समावेशिता सुनिश्चित गर्ने योजना पालिकाको रहेको उनको भनाई छ ।




