| सोमवार, साउन १०, २०८३

‘सिलो हराएको बोटे’ जस्ता हाम्रा सिउरेनीटारका माझीहरू

– लेविन्द्र गुरूङ
यो गालीगलौज र कसैलाई होंच्याउने शव्दावली होईन, कामको मेलोमेसो नभएर अलमलिएका अथवा अफ्नो हैसियत र परिचय गुमाएका व्यक्तिलाई प्रयोग हुने शव्दावली रहेछ । माझीहरूले चिउरा राख्ने भाँडोलाई सिलो भन्छन् । यीनिहरूको शुभकार्य वा पित्री कार्यहरूमा नभई नहुने वस्तुहरू चिउरा, माछा र केरा रहेछन् तर चिउरा राख्ने भाँडो नै हराएपछि कामकाज ठप्पै हुने हुँदा व्याँग्यात्मक ढंगवाट त्यसो भनिएको रहेछ ।

गोरखाको गण्डकी गाउँपालिका वडा नं. ८ घ्याल्चोक, पहिला वेनिघाट−माझीगाउँको नाम हराएर आजकल सिउरेनीटारको नामले चिनिन्छ । वि.स.२०२१ सालसम्म २४ घरपरिवार माझीहरूको मात्र वसोवास रहेको यी उर्वर टारमा घाट र जग्गाको कुत उठाउने जिम्मेवरी लिएर आएका घाटपारी (धादिङ वेनिघाट)का केशरदाश श्रेष्ठले घाटपारी विश्रुवालटार कै ठूले विशुराल र केही वर्षपछि जनगाउँका धनवहादुर रेग्मी परिवारलाई आफ्नो जिम्मेवारी दिएर उनी घाटपारी धादिङ तर्फ नै फिर्ता गए ।

राष्ट्रिय जनगणनाको तथ्याँकमा फरकफरक भए पनि माझी, वोटे, थारू, दनुवार सबै एउटै जातिका रहेछन् । समाजशास्त्री डोरबहादुर विष्टले ‘सबै जातका फूलबारी पुस्तकमा’ थारू, बोटे, माझी, दनुवार र दरै आदिमा एक जातले अर्को जातसँग बिहे गर्न हुने तर छोरी जन्मे अमाको र छोरो जन्मे वावुको थर हुने भनेका रहेछन् । पहाडमा माझी भनिने जातिलाई भित्री मधेशमा बोटे र तराईमा थारू, दनुवार आदि भनी बुझ्ने गरेका छन् ।

डा.मेदिनी शर्माको पुस्तक ‘थारूजाति एक अध्ययनमा’ थरी (ग्रामप्रमुख) वाट थारू भएको भन्ने छ, यहाँ सिउरेनीटारमा पनि माझी समुदायमा थरी खलक छन् जसले पहिला घाटको कर उठाउने गर्दथे । माझीहरूको विवाहमा जन्ति गएर केटीको घरआंगनमा भाला गाड्ने गरिन्छ भने थारू जातिको दुल्लाहले तरवार वोकेर जाने गर्दछन् । थारूजातिको विवाह गर्दा पूरूषको भन्दा महिलाको उमेर कम्तीमा ५ वर्ष जेठो हुनु पर्दछ, किनकि दुलही भत्र्याउने भनेकै घरको काम गर्न र गराउन ल्याउने हो भन्ने बुझाई थियो । तर केटाको उमेर वयस्क हुँदासम्म केटी धेरै नै वुढी भैसक्ने भएकोले अर्को पनि विबाह हुने गर्दथे तर आजकल यो प्रणालीमा समस्या भएको छ ।

यी विविध विषयमा अध्ययन हुँदा, उनीहरू एउटै समुहका रहेछन् भन्ने वुझिन्छ । माझीहरू निषाद वंश (ब्राह्मण र शूद्रकन्याबाट जन्माईएको वर्णसङ्कर)का भनिएको छ । परासर ऋषि र मत्स्यागन्धको संसर्गवाट जन्मिएको वच्चा नै माझी भएको वयान सुनिन्छ तर मत्स्यगन्धा को हुन त ? वास्तवमा महाभारतका रचनाकार वेदव्यासका अनुसार उनको माता सत्यवती तथा मत्स्यगन्धा माझीकै छोरी हुन । हिन्दू धर्म शास्त्रले उचनीच जातिको विभाजनको कारण माझीको छोरी भन्न संकोच मानेर माछाको गर्भबाट जन्मिएकी भनिन्छ ।

सृष्टीको शुरुवातदेखि नै यिनीहरूको “नदी”सँग आत्मीय र विशेष सम्बन्ध रहेको छ । यिनीहरूको प्रमुख परम्परागत व्यवसाय आफैलें काठको डुङ्गा बनाई मानिसहरूलाई नदी वारपार गराउनु र प्राकृतिक जलाशयहरूमा रहेका माछा मार्नु खेती किसानी र पशुपालन हो । माछा मारेर नै जीविकोपार्जन गर्ने हुँदा माझीहरूलाई जलजीवी पनि भनिन्छ । यिनीहरूका देवता वाहिर वनदेवी र घरभित्रको कुलदेवता हुन र आफ्ना इष्टदेवता कोशीलाई नै मान्छन् । वर्षको एकपल्ट तीन दिनसम्म धूमधामसित कोशीको पूजा हुन्छ ।

माझी एक सरल तथा आफ्नै पसिनामा बाँचेको एक साह्रै मेहनती नेपालका आदिवासी जनजाती हो भन्ने प्रष्ट देखिन्छ ।
वेनिघाटको वाँदरेमा २०३६ सालमा झोलुङ्गे पुल बनेपछि घाटतार्ने घट्टुवारे पेशामा धक्का लाग्यो । संगैसंगै चराउँदीको चाईनाघाट, वढरे र ज्यामिरेघाटमा पनि डुङ्गाको सट्टा तुईन बन्न पुग्यो । घटुवारे पाथी वन्द भईदियो, माछामार्ने छुट जो कोहीले पाउने भएपछि सिप उनीहरूको मात्र रहेन ।

अव कहाँ जाने के खाने ? के पेशा गर्ने ? साँच्चै नै यिनीहरू सिलो हराएको वोटे नै वने । समस्या भएपछि जग्गाजमिनहरू वेच्न थाले, त्यसपछि विस्तारै ज्याला मजदुरी गर्दागर्दै बेइलमी हुन थाले । नेपालको संविधानमा किटान गरिएको अदिवासी जनजातिहरूको हक अधिकार सम्वन्धी कानुनले यहाँ छोएन । पहिचान र संस्कृति संरक्षणको अधिकार भित्र आफ्नै परम्परा, भाषा, धर्म र संस्कृतिमा बाँच्न, अभ्यास गर्ने, र त्यसलाई प्रवर्द्धन गर्ने अधिकार पर्दछ ।

त्यसैगरी भूमि र प्राकृतिक स्रोतमा अधिकार सम्वन्धमा आदिवासी समुदायहरू प्रायः जंगल, नदी, पहाड, र प्राकृतिक स्रोतसँग गहिरो सम्बन्ध राख्छन्, उनीहरूलाई तिनै भूमि र स्रोतमा पहुँच, प्रयोग, स्वामित्व, र संरक्षणको अधिकार हुन्छ भनिएको छ ।
माझीहरू पानीभन्दा एक दिन जेठो ठान्छन् तर दूषित पानीका कारण सवैभन्दा धेरै विरामी पर्नेहरू यिनै माझीहरू हुन । हक अधिकार प्राप्ती र समावेशीतालाई हेर्दा विगत ३२ वर्षको अवधिमा यहाँ ४ जना माझीहरू वडासदस्य हुने मौका पाए ।

उनीहरूले समुदायको लागि केही गर्ने अवसर पाए वा राजनीतिक पार्टीहरूलाई साक्षी वसेर सहयोग गरे त्यसको मूल्याङ्कन हुँदै गर्ला । हालसम्म उच्च शिक्षा अध्ययन गर्नेको संख्या दुई तीनजना मात्र भए, नेपाली सेनामा जागिरे एकजना र विद्यालयमा शिक्षिका वन्ने २ जनाले अवसर पाएका छन् । नेपाल यसोसिएसन अफ राफ्टिङ एजेन्सीका अनुसार त्रिशुली नदी आसपास धादिङ, गोरखा र चितवनाका सयौं युवाहरू रिभर राफ्टिङमा रोजगार छन् उनीहरू संसारका कुनाकुनामा राफ्टिङ गाईड भएर नाम र दाम कमाएका छन् भने परंपरादेखि नै डुङ्गा खियाउने पेशा पाएकाहरूले भने अहिले आएर जम्मा चारजनाले मात्र काम पाएका देखिंन्छ ।

सरकारी वा गैह्रसरकारी संघ संस्थाहरूको लगानीमा सिपमुलक तालिम, नेतृत्व विकास तालिम, खेति किसानी र पशुपालन तालिमले सधैं व्यस्त माझी समाजको परिणाम भने ६० वर्ष अगाडि माझीवाहेक २ परिवार अन्य भएकामा त्यो बढेर १४८ परिवार ९ ब्राह्मण क्षेत्री ४२, गुरूङ मगर ३४, नेवार ३४, मुसलमान ३२, दलित ६० अन्य र माझीहरू ३४ परिवार भएका छन् । यहाँ ९० प्रतिशत माझीहरूको रैकर जग्गा जमिन अन्य समुदायको नाममा परिणत भएको छ । माझीगाउँ अहिले ठूलाठूला भवनसहितको सानो सहर वनेको छ ।

यी साना सहरमा कुनै पनि माझी परिवारको व्यापार, व्यवसाय तथा उद्योगधन्दा छैन अथवा भनौ १४८ परिवारले देखेको अवसर उनीहरूले भ्यउ पउनै सकेन । प्रसिद्ध लोकगायीका विष्णु माझीको चर्चित गित ‘सालको पात टपरी हुने नहुने सल्लैको’ । सल्लाको टपरी वनाउन सकिंदैन भन्ने थाहा हुँदाहुँदै त्यो जग्गा जमिनै नभएका माझीहरूलाई कृषि तालिमको औचित्य के होला ? पर्याप्त पिउने पानीको व्यवस्था नै गर्न नसकेको गाउँमा सिंचाई गर्ने ट्याँकी र पाईप उपलव्ध गराउनुको अर्थ के होला ?

नदीमा, विदेशवाट अयत भएका महाजाल विछ्याउन पाईने, विद्युतीय प्रवाहवाट माछामार्न पाईने भएपछि जाल वुन्ने तालिमको महत्व के होला ? भौतिक उपस्थिती र सामाजिक योगदानका अधारमा पहिलो स्थानमा रहेको माझीहरू हरेक सूचाङ्कमा पछाडि छन् । सामाजिक साँस्कृतिक परंपराहरू विर्सीसकेका छन् । अव धेरै परिवार सुकुमबासी वन्नेवाला देखिन्छन् । त्यसैले स्थानीय सरकार, आदिवासी जनजाति महासंघ र नेपालमाझी उत्थान संघसम्म यी सवालहरू पुग्न जरूरी भएको छ ।

प्रतिक्रिया दिनुहोस्