
दुर्गम गाउपालिकाकै केन्द्रमा छैन हेलिप्याड
चुमनुब्री गाउँपालिकाको केन्द्र फिलिममा हेलिकोप्टर अवतरण गर्ने ठाउँको अभाव भएको छ । सडक सञ्जालले नछोएको गाउँपालिकाको केन्द्रमा व्यबस्थित हेलिप्याडको समेत अभाव भएको हो ।
‘गाउँमा हेलिप्याड छैन’ स्थानीय वुद्ध गुरुङ भन्छन्, ‘व्यबस्थित हेलिप्याड नहुँदा अकस्मात हेलि कोप्टर सेवा लिन पनि समस्या भएको छ ।’ गाउँमा प्रचलनमा रहेको एउटा हेलिप्याड नीजि जग्गामा रहेको र बेलाबेला बिबाद भइरहने उनले बताए ।
‘केही दिनअघि सेनाको हेलिकोप्टर आएको थियो, व्यक्तिगत जग्गामा ल्याण्ड गरेको भन्दै जग्गाधनीले प्रतिव्यक्ति शुल्क उठाउन थाले’, उनले भने, ‘यो बिषयमा विवाद भयो । पाइलट रिसाएर अबदेखि कहिल्यै नआउने भनेर गए । अब सेनाको हेलिकोप्टर कहिल्यै नआउने भयो भनेर गाउँले चिन्तित भएका छन् ।’
व्यबस्थित हेलिप्याड नहुँदा स्थानीय बासीले तीन जनाको गरी एक रोपनी जग्गामा हेलिकोप्टर ल्याण्ड गर्ने ब्यबस्था मिलाएका छन् । सो हेलिप्याड प्रयोग गरी सेवा लिने यात्रुले जग्गाधनीलाई प्रतिव्यक्ति पाँचसय रुपियाँ भाडा तिर्नुपर्ने नियम बनाइएको छ । ‘प्रतिव्यक्ति पाँचसय रुपियाँ भाडा नतिरी हेलिकोप्टर चढ्न पाइँदैन’, गुरुङले भने, ‘त्यस्तो महंगो हेलिकोप्टर भाडा तिरेपछि जग्गालाई पनि पैसा तिर्नुपर्दा यात्रु लाई मर्का परिरहेको छ ।’ बिगत पाँचबर्षदेखि स्थानीयबासीले हेलिकोप्टर ल्याण्ड गरेको भाडा तिर्न थालेका हुन् । हेलिप्याडको सहज ब्यबस्था मिलाउन गाउँपालिकाले पहल गर्नुपर्ने उनको भनाइ छ ।
२०७२ सालको भूकम्पपछि राहत तथा उद्धारका लागि साबिकका हरेक दुर्गम गाविसमा हेलिप्याड बनाउन तत्कालीन जिल्ला दैवी प्रकोप उद्धार समितिले अनिबार्य गरेको थियो ।
संविधानसभा चुनाबपछि गाउँमा हेलिकोप्टर नियमित जस्तै हुन थालेपछि जग्गाधनीले हेलिप्याडको पैसा उठाउन थालेका गाउँपालिका का प्रमुख धनबहादुर गुरुङले बताए । ‘२०७० को संविधानसभा चुनाब मा अल्लि बाक्लै हेलिकोप्टर उँडन् थाल्यो । त्यही भएर जग्गाधनीले भाडा उठाउन थालेका हुन्’, गुरुङले भने, ‘अर्को बिकल्प नभएकाले यसो गरिएको हो ।’ हेलिप्याडका लागि उपयुुक्त जग्गा खोज्न गाउँपालिका की उपप्रमुख कुमारी गुरुङ र वडा अध्यक्ष रामकुमार गुरुङलाई आग्रह गरेको तर नपाइएको उनले बताए । ‘त्यतिबेला भेटिएको उपयुक्त ठाउँ त्यही हो’, उनले भने, ‘गाउँपालिकाले खरिद गर्नका लागि खोजे जस्तो जग्गा नपाएर हो । गाउँभन्दा टाढाको जग्गा लिएर अर्थ भएन । नजिक को जग्गा छोइसक्नु छैन । धेरै महंगो छ ।’ हेलिप्याडका लागि उपयुक्त जग्गा खोजीको क्रममा रहेको उनले बताए । दुर्गम गाउँपालिकाका लागि हेलिप्याड अनुबार्य भएको प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईले बताए । ‘जतिबेला पनि बिपद पर्न सक्छ त्यसैले तत्काल उद्धार तथा राहतका लागि दुर्गमका हरेक वडाले हेलिप्याड बनाउनु पर्छ’ प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए ।




