
ओल्ड क्यापिटल माविलाई पोखरामा दोहोरो उपाधि
गोरखा नगरपालिका वडा नं ८ रानीवन स्थित दि वल्ड क्यापिटल माविले पोखरामा दोहोरा उपाधि जितेको छ । शनिबार पोखराको प्रतिभा मावि, नदीपुरले आयोजना गरेको विज्ञान हाजिरीजवाफ तथा वक्तृत्वकला प्रतियोगितामा ओल्ड क्यापिटल माविका विद्यार्थीहरु प्रथम भएका हुन् ।
दुवै प्रतियोगितामा ओल्ड क्यापिटलको टिम प्रथम भएको विद्यालयका प्रध्यानध्यापक जनक केसीले बताए । विज्ञान हाजिरीजवाफतर्फ प्रसिद्धिका अर्याल, विशेष मरहठ्ठा र रिचा मरहठ्ठाको टिम पोखराका सर्वश्रेष्ठ स्कुलहरुलाई पनि पछि पार्दै प्रथम भएको उनले जानकारी दिए । केसीका अनुसार हाजिरीजवाफ प्रतियोगितामा विभिन्न विद्यालयका ५० टिमले सहभागिता जनाएका थिए ।
यस्तै, ‘प्रतिभा पलायन र यसले पारेको प्रभाव’ शीर्षकमा शनिबार नै भएको वक्तृत्वकलामा ओल्ड क्यापिटलकी प्रसिद्धिका अर्यालले प्रथम भएको विद्यालयका प्रअ जनक केसीले बताए । विद्यालयले हाजिरीजवाफतर्फ २० हजार र वक्तृत्वकलातर्फ ७ हजार रुपैयाँ नगद पुरस्कारको साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेको उनको भनाई छ ।




