| आइतवार, कार्तिक २९, २०८३

एकै ठेकेदारलाई २० वटा विद्यालयको ठेक्का : म्याद गुज्रेको बर्षदिन बितिसक्दा भवन अलपत्र

भूकम्पले भत्किएका विद्यालय भवन पुनर्निर्माणको म्याद एकबर्षअघि नै गुज्रिए पनि अहिलेसम्म धेरै विद्यालय भवन निर्माणको काम अलपत्र छन् । एउटै ठेकेदारलाई धेरै विद्यालय भवन पुनर्निर्माणको जिम्मा दिँदा अधिकांश विद्यालय भवन अलपत्र भएका हुन् ।
श्यामसुन्दर निर्माण कम्पनीलाई मात्र गोरखाका २० वटा विद्यालयको पुनर्निर्माण जिम्मा दिइएको छ । १५ कोठेदेखि १८ कोठेसम्मका विद्यालय एउटै निर्माण कम्पनीलाई पुनर्निर्माणको जिम्मा दिइएको हो । तीमध्य तीन विद्यालय भवन मात्र पुनर्निर्माण सम्पन्न भएका छन् । गत पुस महिनामा निर्माण सम्पन्न भइसक्नु पर्ने १७ वटा विद्यालय भवनहरु सो कम्पनीले नौ महिना म्याद गुज्रिदासम्म सम्पन्न नगरेको हो ।
श्यामसुन्दर निर्माण सेवा जस्ता धेरै विद्यालय भवन पुनर्निर्माणको जिम्मा लिएर समय गुज्रिएको एक बर्षसम्म सम्पन्न नगर्ने ठेकेदारहरुको संख्या धेरै छन् । जिल्ला आयोजना कार्यान्वयन इकाइले जिल्ला प्रशासन कार्यालयमा पेश गरेको प्रगति प्रतिवेदनमा एमबी गौरीपार्वती जेभीले ठेक्का लिएका आठ वटामध्य पाँच विद्यालयको भवन पनि गत पुसमै निर्माण सम्पन्न भइसक्नु पर्ने थियो तर म्याद सकिएको नौ महिनासम्म विद्यालय भवन ४५ देखि ७० प्रतिशतसम्म निर्माण सम्पन्न भएका छन् । डाँफे आशिष जेभीले पनि गोरखाका छ वटा विद्यालय गत पुस महिनाभित्र पुनर्निर्माण गर्ने दुईबर्षअघि जिम्मा लिएको थियो । अहिलेसम्म कुनै पनि विद्यालय भवन निर्माण सम्पन्न नभएको जिल्ला आयोजना कार्यान्वयन इकाइले जनाएको छ । रविना श्यामसुन्दर जेभीले जिम्मा लिएका पाँच विद्यालयको पुनर्निर्माणको अबस्था पनि उस्तै छ । २०७४ सालको पुसमा निर्माण सम्पन्न गर्ने गरी रामगोपाल श्रेष्ठले २०७३ सालको साउन महिनामा ठेक्का सम्झौता गरेका थिए तर समय गुज्रिएको नौ महिना बितिसक्दा पनि कामको प्रगति सन्तोषजनक नरहेको आयोजना कार्यान्वयन इकाइले जनाएको छ ।
‘म्याद गुज्रिएका सबै ठेकेदारलाई आउँदो कात्तिक महिनासम्मका लागि म्याद थपिएको छ’, आयोजना प्रमुख रामप्रसाद आचार्य भन्छन्, ‘थपिएको मितिमा पनि काम सकेनन् भने प्रतिदिन कूल बजेटको एक प्रतिशत हर्जना तिराएर काम गराउँछौं ।’ केन्द्रीय आयोजना कार्यान्वयन इकाइले ‘क’ श्रेणीका ठेकेदारलाई मात्र ठेक्का दिने नीति लिएका कारण एउटै ठेकेदारले धेरै कामको जिम्मा पाएका उनले बताए । शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख खेमराज पौडेलका अनुसार भूकम्पले भत्काएका गोरखाका ४३४ वटा विद्यालयमध्य २५८ विद्यालय भवन निर्माण सम्पन्न भइसकेका छन् । अझै १७६ वटा विद्यालय भवन बन्न नसकेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्