| सोमवार, अशोज ११, २०८३

महिला शिक्षक सुत्केरी हुँदा सट्टा शिक्षकको व्यवस्था

गोरखाका विभिन्न पालिकाहरुले महिला शिक्षक सुत्केरी हुँदा सट्टा शिक्षक राख्ने व्यवस्था गरेको छ । पालुङटार नगरपालिका र आरुघाट गाउँपालिकाले सुत्केरी बिदामा शिक्षकहरुको सट्टामा थप शिक्षक राख्ने गरेको हो । शिक्षक सुत्केरी बिदामा बस्दा पठनपाठन प्रभावित हुन नदिन सट्टा शिक्षक राख्ने गरिएको पालिकाहरुले जनाएका छन् ।

आरुघाट गाउँपालिकाले विगत तीन बर्षदेखि उक्त कार्यक्रम लागू गर्दै आएको जनाएको छ । ‘कुनै सामुदायिक बिद्यालयको महिला शिक्षक सुत्केरी बिदामा बस्नुअघि सम्बन्धित बिद्यालयले हामीलाई जानकारी गराउँछ,’ शिक्षा शाखा प्रमुख करुणा पनेरुले भनिन्, ‘तीन महिनाका लागि बिद्यालय आफैले शिक्षक माग गर्छ अनि योग्यताको आधारमा छनोट गरेर राख्छ ।’ हाजिरीको आधारमा बिद्यालयलाई रकम उपलब्ध गराइने उनले जानकारी दिइन् ।

तहगत रुपमा पालिकाले रकम समेत निर्धारण गरेको छ । कार्यालय सहयोगीको हकमा मासिक ५ हजार, बालबिकास शिक्षकको हकमा १० हजार, प्राथमिक तहको हकमा १२ हजार ५ सय, निम्न माध्यमिक तहको हकमा १५ हजार र माध्यमिक तहको हकमा १७ हजार ५ सय रुपैया उपलब्ध गराइने शिक्षा शाखा प्रमुख पनेरुले बताइन् । ‘बिद्यालयभित्रैको जनशक्तिले कक्षाहरु व्यवस्थापन गरेपनि हामी रकम उपलब्ध गराउँछौ,’ उनले भनिन् । पालिकाले गत आर्थिक बर्ष सट्टा शिक्षकका लागि ८९ हजार २४० रुपैया निकासा गरेको थियो । यो आवको हालसम्म १ लाख ९ हजार ६७ रुपैया निकासा भइसकेको पनेरुले जानकारी दिइन् । सुत्केरी बिदामा बसेका महिला शिक्षकको सट्टामा शिक्षक व्यवस्थापन अनुदान कार्यक्रमका लागि यो बर्ष ५ लाख रकम छुट्याइएको उनले बताइन् ।

यता पालुङटार नगरपालिकाले पनि सुत्केरी बिदामा बस्ने शिक्षकहरुको सट्टामा सहयोगी शिक्षकको व्यवस्था गरेको छ । तीन जना शिक्षक नियुक्त गरी सुत्केरी बिदामा खटाउने गरिएको नगरपालिकाले जनाएको छ ।

‘सुत्केरी बिदा लिनु अघि शिक्षकले बिद्यालयलाई जानकारी गराउनुहुन्छ,’ शिक्षा शाखा प्रमुख मनोज नेपाली सिर्मलले भने, ‘बिद्यालयले हामीलाई जानकारी गराउँछ र बिदा अवधिभर घुम्ति शिक्षक खटाएर पठनपाठन नियमित गछौ ।’ सहयोगी शिक्षक राख्न नगरपालिकाले नगर अनुदानमा सहयोगी शिक्षक व्यवस्थापन कार्यविधि २०८१ पनि बनाएको छ । हाल अर्चना घिमिरे, बिना दुवाडी र सरिता देवकोटालाई नगरपालिकाको अनुदानमा सहयोगी शिक्षकको रुपमा करारमा नियुक्त गरी नगर क्षेत्रका सामुदायिक विद्यालयमा आवश्यकता अनुसार खटाइने गरेको सिर्मलले बताए ।

प्रतिक्रिया दिनुहोस्