| बिहिबार, कार्तिक २६, २०८३

कवितालाई पढ्नै सकस

प्रतिक्षा आले ।
यतिबेला देशभरका स्कुले बालबालिका माथिल्लो कक्षामा पढ्ने उमंगका साथ नतिजाको पर्खाइमा छन् । शिक्षक आन्दोलनले ढिलाइ भए पनि छिट्टै नतिजा आउला र नयाँ पाठ्यपुस्तक बोकेर माथिल्लो कक्षामा पढ्न जाऔँला भन्ने उत्साह बोकेर गाउँघरतिरै खेलिरहेका छन् ।

गण्डकी गाउँपालिका–६ बनटारकी कविता चेपाङ पनि समय मिलाएर तिनै साथीहरुसंग हाँसखेल गरिरहेकी छिन्, तर उनमा न नतिजाको पर्खाइ छ, न उपल्लो कक्षामा पढ्न जाने जोश । विदा मनाइरहेका साथीसंगीसंग खेल्न पाउँदा मुहारमा घाम उदाएपनि विद्यालय, पठनपाठन सम्झेपछि उनको मुहारमा अँध्यारो बादल छाउँछ ।

१३ वर्षीय कविता प्राय घरधन्दामा व्यस्त हुन्छिन् । उनलाई घरको काम र भाइबहिनीको स्याहारसुसारकै लछारोपछारो छ । चेपाङ बालबालिकाहरुमात्र पढ्ने तोमनडाँडा मावि पुग्न उनको घरबाट बढिमा १० मिनेट लाग्छ, तर उनको जीवनबाट विद्यालय धेरै टाढा पुगिसकेको छ । कक्षा ५ मा पढ्दा पढ्दै गत कात्तिकमा उनले पढाइ छाडेकी हुन् । घरको आर्थिक अवस्था कमजोर भएकै कारण आफूले पढाइ छोड्नु परेको उनको दुखेसो छ ।

‘पढ्न मन त लाग्छ नि । पढाइमा पनि राम्रै गरिरहेको थिएँ, तर के गर्नु, घरबाट सघाउ भएन । त्यसैले छोड्नु प¥यो’, उनले भनिन्, ‘पढिरहेको भए अहिले म पनि ६ कक्षामा जान्थेँ होला ।’ कविताको अन्य चार दिदीबहिनी र तीनजना दाजुभाईहरु छन् । कवितापछिको १० वर्षीय अनुका चेपाङ र अनुकापछिको ६ वर्षका भाइ आयुष भने तोमनडाँडा माविमा अध्ययनरत्त छन् । आयुषमुनिको कान्छो भाइ आकाश चेपाङ डेढ वर्षको छ ।

‘म माथिको दाई सुरज केही वर्षअघि चार कक्षा पढ्दा पढ्दै घरको अवस्था देखेर पढ्न छाड्यो । अहिले चितवनतिर होटलमा काम गर्छ । कहिलेकाहीँ चाडपर्वको बेलामा मात्र घर आउँछ’, कविताले भनिन्, ‘दाइ माथिको दिदी बबिताले यसबर्ष एसईई दिइन् । बबिता माथिको दुईजना दिदीहरु अस्मिता र सुस्मिताको चाँहि बिहे भइसक्यो’, कविताले भनिन् । घरमा सबैभन्दा धेरै पढेकी बबिता हुन् । १८ वर्षीय बबितालाई भने ‘मिस मंगोल नेपाल’ नामक संस्थाले तोमनडाँडा माविमा कक्षा १० सम्म आवासीय सुविधा सहित पढाइदिएको हो ।

‘जेठी दिदी अस्मिताले त ६–७ वर्ष भयो बिहे गरेको पनि । बबिता भन्दा चार वर्ष जेठी छ अस्मिता । अस्मिताभन्दा एक वर्ष कान्छि सुस्मिताले पनि बिहे गरेको ४–५ वर्ष भयो’, कविता भन्छिन्, ‘धेरै पढेको बबिताले मात्र हो । दिदीहरु त पढ्नै गएनन् । दाई र मैलै चाँही छोडेको । मलाई घरमा बाबाममीले दिनरात पढ्न नजा भनी कराउनु हुन्थ्यो त्यसैले छोडिदिए तर दाईलाई चाँही पढ् भन्थ्यो, उसले आफै छोडेको हो’, उनले भनिन्, ‘जाँडरक्सीको तालमा कहिलेकाँही बाउआमाले पढ्न जा भन्नुहुन्छ । फेरि सोच्छु, सँधै एकदिन जा भन्ने, अर्कोदिन नजा भन्ने गर्छन् । त्यै भएर पढ्न जान मन लाग्दैन् ।’

कविताको बाआमा नियमितजसो मदिरा सेवन गर्छन् । घरमा बिरलै भेटिने उनीहरु कहिले कुल्ली काम गर्न जान्छन् त कहिले छोरीहरुको घर । साना भाइबहिनीहरुको हेरबिचारको जिम्मा साइली बबिता र काइली कविताको हो । ‘अब त कसरी पढ्नी होला र खै केही उपाय छैन । काम पाए त गथ्र्यो । अलिअलि पैसा कमाउन पाए घरको खर्च टथ्र्यो’, १३ वर्षिय कविता भन्छिन् ।
कविता मात्र होइन उनकी दिदी बबितालाई पनि घरको जिम्मेवारीले पिरोलेको छ ।

१८ वर्षीय बबितालाई पनि बाँकी पढाइ कसरी गर्ने र घरको खर्च कसरी टार्ने भन्ने चिन्ता छ । उनी भन्छिन्, ‘११–१२ पनि पढ्न मन छ तर कसरी खर्च जुटाउने थाहा छैन् । अब त घरमा पनि हेर्नु पर्छ । बहिनीले पनि पढोस् जस्तो लाग्छ तर पैसा छैन जान्न मात्र भन्छे ।’ कविता मात्र होइनन्, बनटार स्थित चेपाङ बस्तीका अधिकांश बालबालिकाहरुले बिचैमा पढाइ छाडेका छन् । बनटारमा ४–५ कक्षा पढेर छाड्नु सामान्य हो ।

‘यता प्राय सबैजनाले बिचैमा पढ्न छाडेका छन् । म र एकदुई जना दिदीहरुले मात्र हो एसईईसम्म पढेको’, कविताकी साईली दिदी बबिता चेपाङले भनिन्, ‘संस्थाले नहेरेको भए सायद म पनि पढ्न पाउँदिन थिए होला ।’बहिनीले पारिवारिक समस्याकै कारण पढाई छाडेको उनको भनाइ छ । ‘पढ्न गएर मात्र भएन घरबाट कापी कलम हेर्दिनन्’, बबिता भन्छिन्, ‘बाबाले कहिले काँही कुल्ली काम गर्नुहुन्छ । त्यसैले घरमा सरसामान ल्याउने हो, फेरी बाउआमाले रक्सी पनि खानु प¥यो गर्दा ठिक्क हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्