
एसईई दिने विद्यार्थीहरुलाई खाद्यान्न र लत्ताकपडा प्रदान
धार्चे गाउँपालिका ७ लापुस्थित कालरात्री माविका एसईई दिने विद्यार्थीहरुलाई खाद्यान्न र लत्ताकपडा प्रदान गरिएको छ । लापु घर भई पर्यटन व्यवसायमा आवद्ध गणेश गुरुङले विदेशी पर्यटकहरुसंग समन्वय गरी नजिकिँदै गरेको एसईईमा सहभागी हुने विद्यार्थीहरुलाई खाद्यान्न तथा ओढ्ने, ओछ्याउने कपडा, भाँडाकुँडा सहयोग गरेका हुन् ।
गाउँको विद्यालयमा छात्रबासमा बसेर एसईई तयारी गरिरहेका आठ जना र छात्रवासमा बस्ने अरु गरी ३२ जना विद्यार्थीलाई दाल, चामल, नून, तेल, सिरक, डसना, म्याट्रेस, तन्ना, सिरानी, पर्दालगायतका सामग्री प्रदान गरिएको गुरुङले बताए ।
फ्रान्स नागरिक म्याडम ओरेली क्यूमा र मिस्टर सिरिल कोहलेको जोडीको अर्थिक सहयोगमा विद्यार्थीहरुलाई सहयोग गरिएको हो । उनीहरुले छात्रवासमा रहेका बालबालिकालाई पठनपाठनमा सहज होस् भनेर छात्रवासमा वायरिङ पनि गरेका छन् ।
साथै त्यहाँ पढ्ने अति विपन्न आठ जना बालबालिकालाई ६÷६ हजार रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरिएको थियो ।
त्यस्तै गाउँको हेल्थपोस्ट तथा प्रशुती सेवाकेन्द्रका बिरामी कुरुवाका लागि पनि सहयोग गरिएको छ । बिरामी कुरुवाहरुलाई पकाउन, खान तथा सुत्न, बस्न सहज होस् भनेर सिलिण्डर ग्याँस, ग्याँस चुल्हो, ओढ्ने, ओछ्याउने, खाना पकाउने तथा खाने भाँडाकुँडा प्रदान गरिएको गणेश गुरुङले जानकारी दिए ।
गाउँमा बाहिरबाट आएका पाहुना बस्न निर्माण गरिएको होमस्टेलाई पनि ओढ्ने, ओछ्याउने तथा भाँडाकुँडा प्रदान गरिएको उनले बताए ।
त्यस्तै गाउँका सयपत्री आमा समूहलाई पनि भाँडाकुँडा तथा वाद्यवादन सहयोग गरिएको उनले बताए ।
त्यस्तै गाउँका अति विपन्न दुईजना एकल महिलालाई पनि सहयोग सामग्री प्रदान गरिएको थियो ।




